काठमाण्डौ । नेपाल एसबिआई बैंकको ३१ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बैंकको उक्त सभा पुस २१ गते त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाण्डौमा सम्पन्न भएको हो ।
उक्त सभाले गत आवको मुनाफाबाट सेयरधनीहरुलाई प्रस्तावित कुल १०.६५ प्रतिशत लाभांशको प्रस्ताव पारित गरेको छ । कुल लाभांशमा ६.८५ प्रतिशत नगद र ३.८० प्रतिशत बोनस सेयर रहेको छ ।
यस्तै, संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम सञ्चालन गर्न गरिएको खर्च ८८ लाख ८७ हजार १५३ रुपैयाँ कम्पनी ऐनले निर्धारण गरेको सीमाभन्दा बढी भएको हुँदा सो खर्च अनुमोदन गर्ने ,सञ्चालकहरूलाई दिइने बैठक भत्ता तथा स्थानीय सञ्चालकहरुलाई प्रदान गरिने पत्रपत्रिका तथा समाचार सामग्री वापतको मासिक खर्च वृद्धि गर्न बैंकको नियमावलीको संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने र बैंकले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने÷गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्न आवश्यक सहमति र सम्झौता गर्ने लगायत सम्बन्धमा सम्पूर्ण आवश्यक कार्यहरु गर्ने/गराउने अख्तियारी सञ्चालक समितिलाई प्रत्यायोजन गर्ने विशेष प्रस्ताव पारित भएको छ ।
सभामा आव २०८०/८१ का लागि सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहितको आव २०८०/८१ को वार्षिक आर्थिक विवरण र सोही अवधिको नगदप्रवाह विवरणलगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गर्ने, बैंकको सहायक कम्पनी ‘नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गको आव २०८०/८१ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण छलफल गरी स्वीकृत गर्ने र बैंकको लेखापरीक्षण समितिले सिफारिस गरे अनुसार आव २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिएको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                