काठमाण्डौ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष मदन दाहालले बैंकहरुको मुद्दती निक्षेपको ब्याजदर घटेपछि बीमा कम्पनीहरु आत्तिएको बताएका छन् । काठमाण्डौमा बिहिबार आयोजित सेकेन्ड इन्स्योरेन्स डिस्कोर्स–२०२५ मा विशिष्ट अतिथिका रुपमा उपस्थित अध्यक्ष दाहालले बीमा कम्पनीहरुले मुद्दतीमा मात्रै लगानीको दायरा सीमित नराख्न निर्देशन दिएका छन् ।
बीमा क्षेत्रमा जम्मा भएको पुँजी उत्पादनमूलक क्षेत्रमा लगानी गरे राम्रो हुने अध्यक्ष दाहालले बताए । ‘केही महिनाअघि बैंकहरुको एफडीको ब्याजदर १२–१३ प्रतिशत थियो, बीमा कम्पनीहरुले आरामले ब्याज खाएर बसिराखेका थिए तर अहिले ब्याजदर घटेपछि बीमा कम्पनी आत्तिएका छन्’ उनले भने, ‘एफडीको ब्याजदर ३–४ प्रतिशतमा झरेपछि सीइओ र अध्यक्षज्युहरु आत्तिनुभएको छ ।’
बीमा कम्पनीले समयसापेक्ष लगानीको अवस्था परिवर्तन गर्न उनले सुझाव दिए । ‘फाइनान्सको ऐन आउँदैछ, अर्थमन्त्रीको प्रतिनिधिको हिसाबले पनि हामीले त्यसमा बीमा कम्पनीको लगानीलाई व्यवस्थित बनाउने भन्ने प्रस्ताव राखेका छौं’ उनले भने, ‘इक्विटी वा बोण्डको रुपमा त्यो प्रस्ताव बीमा कम्पनीको फण्डलाई उत्पादनमूलक तथा पूर्वाधार क्षेत्रमा नै लगानी गर्न सकिन्छ भन्ने कुरालाई प्रस्ताव गरिएको छ । यसको लागि बीमा प्राधिकरण र अर्थमन्त्रालय सहकार्य गर्न तयार छ ।’
जबसम्म बीमा कम्पनीको पूँजी परिचालन राम्रो हुँदैन तबसम्म बीमा कम्पनीको दायित्व तिर्ने बेला कोल्याप्स हुने अध्यक्ष दाहालले बताए । ‘बीमा कम्पनीको लगानीको विषयमा बीमकहरु सेन्सेटिभ हुनैपर्छ, लगानी विस्तार नभई पूँजी परिचालन हुन सकेन भने भोलि दायित्व तिर्न नसक्ने अवस्था पनि आउन सक्छ’ उनले भने, ‘लगानीको पाटोमा प्राधिकरणले केही कुरामा क्याप लगाएको छ त्यसमा बीमकहरु रिस्क फ्रि हो भनेर आउनुहुन्छ भने प्राधिकरणले केही प्रतिशत क्याप पनि हटाउनेछ ।’
साथै, बीमा क्षेत्रमा सरेण्डर र दाबी भुक्तानीमा ढिलाई जस्ता समस्याहरु रहेको बताउँदै यस्तो समस्या तत्कालै समाधान गर्नतर्फ लाग्नुपर्नेमा उनले जोड दिए ।
‘बीमा क्षेत्रमा समस्या छ, विशेषगरी अहिले बीमा क्षेत्रको मुख्य समस्या भनको दाबी भुक्तानीमा ढिलाई हो’ उनले भने, ‘बीमा कम्पनीहरुले बीमा दाबीको जाँचबुझ गरी सक्दो चाँडो दाबी भुक्तानी गर्नुपर्छ यसको लागि प्राधिकरणले केही अघि अब दाबी रकम बीमितको खातामा नै भुक्तानी हुने प्रावधान समेत मिलाएको छ ।’
यसका साथै जीवन बीमा क्षेत्रमा सरेण्डरदर बढ्दै जानु पनि पछिल्लो समय बीमा क्षेत्रको लागि मुख्य समस्या रहेको उनले बताए । ‘जीवन बीमा क्षेत्रमा बीमालेख सरेण्डर गर्नेको संख्या तीव्र रुपले बढ्दै गएको छ, यसले सिँगो बीमा क्षेत्रलाई नै नकारात्मक प्रभाव पार्ने देखिन्छ’ उनले भने ‘सरेण्डदरकोे समस्या समाधान बीमा क्षेत्रबाटै हुनुपर्छ, बाहिरको मान्छे आएर समस्या समाधानको उपाय निकाल्दैन । यसको लागि बीमकहरुले अवयरनेसका कार्यक्रम नियमित गर्नुपर्छ यो कुरालाई सहयोग गर्न बीमा प्राधिकरण तत्पर छ ।’

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                