काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले तरकारी खेती बीमालेख जारी गरेको छ । किसानहरुको समस्यालाई पहिचान गरी प्राधिकरणले तरकारी खेतीमा हुने क्षति विरुद्ध बीमा गर्नको लागि यो बीमालेख जारी गरेको हो ।
अब कृषकहरुले निर्धक्कसँग विभिन्न खेती गर्न सक्नेछन् । आफुले लगाएको तरकारीको विभिन्न कारणले क्षति भएमा बीमाले कभर गर्नेछ । त्यसका लागि किसानहरुले केही बीमाशुल्क बीमा कम्पनीमा बुझाउनुपर्नेछ ।
प्राधिकरणले कन्दमूल समूहतर्फ पिडालु, तरुल, सिमल तरुल, सखरखण्ड, ओल, फूलतरुल, लहरे समूहतर्फ काँक्रो, घिरौंला, फर्सी, करेला, लौका, स्क्वास, परबल, इस्कुस, चिचिन्डा, पाटे घिरौंला, कुभिन्डो, बरेला, ककडी र कुन्द्रु, काउली समूहतर्फ काउली, बन्दा, ब्रोकाउली, शलगम र ग्याँठ गोभी, जरे बाली समूहतर्फ मुला, गाजर, सलगम, चुकुन्दर, फल बाली समूहतर्फ गोडभेडा÷टमाटर, भान्टा, भेडे खुर्सानी, पिरो खुर्सानी, अकबरे खुर्सानी र भिंडी, सागपात समूहतर्फ रायो, चम्सुर पालुंगो, मेथी, स्विसचार्ड, जिरीको साग, गानो बाली समूहतर्फ याज, लसुन, श्यालोट र छ्यापी, कोशे बाली समूहतर्फ केराउ, घिउ सिमि, झाँगे सिमि, भटमास र बकुल्ला र अन्य तरकारी बाली अन्तर्गत कुरिलोको बीमा हुने जनाएको छ ।
यस बीमालेखअन्तर्गत रक्षावरण गरिएको तरकारी खेतीमा बीमा अवधिभित्र विभिन्न कारणबाट क्षति भएमा बीमकले बीमितलाई क्षतिपूर्ति प्रदान गर्नुपर्नेछ ।
फसलको आगलागी वा अग्निको कारणले क्षति भए, हावाजन्य क्षति भए, जल उत्पन्न तथा मौसमजन्य क्षति भए, भूमिजन्य क्षति भए, चट्याङको कारणले क्षति भए, रोग तथा किराको कारणले क्षति भए, आकस्मिक वा दुर्घटनाजन्य बाह्य कारणबाट क्षति भए, जंगली जनावरको आक्रमणबाट भएको क्षतिबाट बीमितले क्षतिपूर्ति पाउने प्राधिकरणले जनाएको छ ।
यस बीमालेखअन्तर्गत दुर्घटना बीमाको पनि सुविधा रहेको छ । त्यसका लागि बीमितले २ लाख रुपैयाँको दुर्घटना बीमा गर्नुपर्नेछ । बीमा गर्दा दुई सय रुपैयाँ बीमाशुल्क लाग्नेछ र त्यस्तो बीमाशुल्कमा अनुदान उपलब्ध नहुने प्राधिकरणले जनाएको छ ।
बीमाङ्क तथा बीमाशुल्क
तरकारी खेतीमा माथि उल्लिखित तरकारीहरुको मात्रै बीमा हुनेछ । यस बीमालेखअन्तर्गत तरकारी खेतीको बीमाङ्क रकम उब्जनी हुने जग्गा र उत्पादकत्वको आधारमा हुनेछ ।
बीमाङ्क रकम बराबर उत्पादकत्व र कृषक थलो मूल्य गुणा हुनेछ । उत्पादकत्वअन्तर्गत १ हेक्टरमा उब्जनी हुने परिणाम र मेट्रिक टनमा आधारित हुनेछ ।
त्यस्तै, कृषक थलो अन्तर्गत प्रति टनको वास्तविक मूल्य ९बीमा हुने स्थानको कृषि हेर्ने सरकारी निकायले सिफारिस गरेको कृषक थलो मूल्यलाई जनाउँछ०मा आधारित हुनेछ ।
बीमालेख जारी भइसकेपछि बीमाङ्क रकम परिवर्तन गर्न पाइनेछैन र बीमा अवधिभित्र बीमा गर्नुपर्ने तरकारी खेती थप गर्नुपरेमा त्यसरी थप गरिने तरकारी खेतीको लागि छुट्टै बीमालेख जारी गर्नुपर्ने प्राधिकरणले जनाएको छ ।
बीमालेख बमोजिम जारी हुने तरकारी खेतीको बीमाशुल्क ७ प्रतिशतका दरले लाग्नेछ ।
साथै तरकारी खेतीको बीमा सामूहिक रुपमा पनि गर्न सकिनेछ । सामूहिक बीमालेख जारी गर्दा बीमालेख धारक संस्थाले प्रत्येक बीमितको छुट्टाछुट्टै प्रस्ताव फाराम भर्नुपर्नेछ । सामूहिक बीमालेख जारी गरेपछि बीमालेख धारक संस्थाले प्रत्येक बीमितको छुट्टाछुट्टै तरकारी खेतीको अभिलेख कायम गर्नुपर्नेछ ।
दाबी भुक्तानी प्रक्रिया
तरकारी खेती बीमालेखले रक्षावरण गरेको तरकारी खेतीको क्षति भएको ३ दिनभित्र बीमितले बीमा कम्पनीलाई जानकारी गराउनुपर्नेछ । त्यस्तो जानकारी प्राप्त भएपछि क्षति मूल्याङ्कनकर्ताले निरीक्षण गर्न सक्ने हुँदा सो अवधिसम्म क्षति भएको स्थानलाई सुरक्षित गरी राख्नुपर्नेछ ।
बीमा कम्पनीले कृषकको बाली टिपाई अवधि ९महिना०, टिपाई प्रतिशतको आधारमा रक्षावरण के कति हुन्छ त्यसकै आधारमा भुक्तानी दिन्छ । टिपाई प्रतिशतअन्तर्गत प्लाष्टिक घर, खुला जमिनको आधारमा टिपाई प्रतिशत मानिने प्राधिकरणले जनाएको छ ।
दाबी सम्बन्धी प्रक्रियाका लागि बीमितले पूर्ण रुपले भरिएको दाबी फाराम, पूर्ण क्षतिको हकमा सक्कल बीमालेखको प्रति र आंशिक क्षतिको हकमा बीमालेखको छायाँप्रति, सर्जमिन मुचुल्का, स्थानीय तहको कृषि सम्बन्धी सेवा दिने प्राविधिक वा शाखा वा त्यस्तो सेवा दिने प्राविधिक वा शाखा नभएको अवस्थामा वडा कार्यालयले क्षति भएको भनि गरेको सिफारिस जस्ता कागजातहरु बीमा कम्पनीमा उपलब्ध गराउनुपर्नेछ ।
दाबी परेपछि बीमा कम्पनीले तत्काल तरकारी खेती क्षतिको बीमा दाबी भुक्तानी प्रक्रिया प्रारम्भ गर्नुपर्नेछ ।