काठमाण्डौ । नेपाल राष्ट्रबैंक नेपाल सरकारलाई आर्थिक, वित्तीय तथा मौद्रिक नीतिको विषयमा सल्लाह दिने निकाय हो । केन्द्रीय बैंकलाई प्रमुख कार्यकारीको रुपमा हाँक्ने व्यक्तिलाई नेपालमा गभर्नरको रुपमा चिनिन्छ । यसकारण नेपाल राष्ट्रबैंकको गभर्नर निकै महत्वपूर्ण पद हो । यही पदमा बहाल रहेका महाप्रसाद अधिकारीको कार्यकाल सकिन ३ महिना पनि बाँकी नहुँदै सम्भावितहरुले आफ्नो दौडधूप थालेका छन् ।
सबल र स्वायत्त केन्द्रीय बैंकले देशको अर्थतन्त्र पनि स्वस्थ र बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्छ। उसले तय गर्ने ब्याजदर÷मौद्रिक परिचालन नीतिले अर्थतन्त्रको गति निर्धारण गरिरहेको हुन्छ । तसर्थ केन्द्रीय बैंकको नेतृत्वमा रहनेको क्षमताले समग्र वित्तीय प्रणालीकै गति निर्धारण गर्न सघाउ पुर्याउँछ । यसकारण समेत गभर्नर पदको महत्व बढी रहेको हो ।
नेपाल राष्ट्रबैंकले लिने नीतिले संघीय सरकारले बनाउने नीति तथा कार्यक्रमको सफल कार्यान्वयनमा महत्वपूर्ण योगदान दिने गर्छ । मुद्रास्फितिलाई बाञ्छित सीमाभित्र राख्न तथा संघीय सरकारले बजेट, नीति तथा कार्यक्रममार्फत राखेको आर्थिक वृद्धिदरको लक्ष्य पूरा गर्नका लागि वित्त र मौद्रिक नीतिको महत्वपूर्ण भूमिका हुन्छ । यहीकारण समेत पछिल्लो समय नेपाल राष्ट्रबैंक र यसका प्रमुखको रुपमा रहने गभर्नरको भूमिका महत्वपूर्ण बन्दै आएको छ ।
राष्ट्रबैंकका गभर्नरले लिने नीति तथा अडानका कारण आर्थिक वृद्धिदरको लक्ष्य नै प्रभावित हुने तथा अर्थतन्त्रमा तलमाथि हुने भएकोले पछिल्लो समय यो निकायको क्षमताभन्दा बढी नै अपेक्षा समेत राख्न थालिएको छ ।
पछिल्लोपटक गभर्नरको रुपमा रहेका महाप्रसाद अधिकारीले कुनै दल विशेषको कार्यकर्ताको रुपमा प्रस्तुत भई पक्षपातपूर्ण नीति लिँदा र दल विशेषको मात्र पछि लागेर नीति बनाउँदा अर्थतन्त्र संकटको डिलमा छ । नेपालीहरुले पठाएका रेमिटान्सका कारण बाह्य क्षेत्रमा सुधार देखिएको र त्यसको जश गभर्नर अधिकारीले आफूले लिने गरे पनि त्यो उति तर्कपूर्ण चाहिँ देखिन्न ।
कस्तो रह्यो अधिकारीको कार्यकाल ?
समग्रमा हेर्दा कार्यकालको उतराद्र्धमा रहेका महाप्रसाद अधिकारी विवादै–विवादमा तानिए । अधिकारीले नेपालको अर्थतन्त्रको मनिटरी पक्षमा खासै प्रभावकारी काम गर्न सकेनन्, जसका कारण अन्तराष्ट्रिय एजेन्सीहरुले समेत उनलाई ‘विश्वकै कमजोर गभर्नर’को रुपमा प्रस्तुत गरे ।
स्वदेशकै लगानीकर्ता समेत उनले लिएको मनिटरी पोलिसीबाट खुशी देखिएनन् । अर्थतन्त्रमा सुधार हुनुपर्छ भन्ने पक्षका विज्ञ÷विश्लेषकहरु समेत गभर्नर अधिकारीको कार्यकाललाई ‘कालो युग’को संज्ञा दिन्छन् । अधिकारीको नेतृत्वकाललाई उनीहरु ‘कालोयुगका कुटिल नायक’को रुपमा सम्झन्छन् ।
तर, अधिकारी आफंै चाहिँ आफूले पर्याप्त काम गरेको भन्दै केपी ओलीले झै आफ्नो प्रशंसा आफैं नै गरिरहेका हुन्छन् । उनका पछिल्ला समयका सार्वजनिक अभिव्यक्तिहरुमा मपाईत्व झल्किनु त्यसको उदाहरण हो । बाह्य क्षेत्र आफूले लिएको नीतिकै कारण सुधार भएको दाबी गरे पनि अन्तर्य भने उनले भनेजस्तो थिएन÷छैन ।
गभर्नर अधिकारीले लिने पक्षपातपूर्ण नीतिका कारण सबैभन्दा बढी सेयर बजारका लगानीकर्ता प्रताडित भए । तत्काल लिनैपर्ने बाध्यता नभएको नीतिमा समेत अग्रसरता देखाएर उनले माओवादी नेतृत्वको सरकारलाई असहयोग गर्ने र असफल बनाउने खेलको गोटी बन्दै लाखौं लगानीकर्ताको अरबौं लगानीमाथि खेलवाड हुने गरी मौद्रिक नीति लिएका आरोप लाग्ने गरेको छ ।
एमाले नेतृत्वको सरकार वा अर्थमन्त्री हुँदा मात्र उनी नरम हुने, तर अन्य दल नेतृत्वको सरकार तथा अर्थमन्त्री हुँदा एमाले कार्यकर्ताको रुपमा गभर्नरले असहयोगको नीति लिने गरेका कारण त्यसको नकारात्मक प्रभाव सेयर बजारका लगानीकर्ताले भोगे(भोगिरहेका छन्)। गभर्नर अधिकारीको एम. अधिकारीको चरित्र उदाङ्गिएकै कारण ६० लाख बढी सेयर लगानीकर्ताको नजरमा उनी निश्पक्ष भएर काम गर्ने राष्ट्रसेवकभन्दा एमालेप्रति इमानदार कार्यकर्ता तथा समग्र अर्थतन्त्रका लागि एक भिलेनको रुपमा चित्रित छन् ।
यस्तै, देशका सर्वसाधारण नागरिकमा राष्ट्रबैंकको गभर्नर कम र एमाले कार्यकर्ता एम. अधिकारीको रुपमा बढी परिचित छन् ।
अधिकारी पनि प्रतिस्पर्धामा छन् ?
केही व्यक्तिले चैतदेखि अधिकारीको कार्यकाल सकिने र दोश्रो कार्यकालका लागि समेत उनी इच्छुक रहेको दाबी गर्ने गर्छन् । तर आफ्नै कार्यशैलीका कारण विवादै विवादको भूमरिमा परेका अधिकारी गभर्नरको रुपमा दोहोरिने सम्भावना छैन । ‘उहाँले ४ वर्षे कार्यकाल जसरी विवादै विवादमा बिताउनुभयो, अब त्यही पदमा बसिरहन नैतिकताले दिंदैन र उहाँमा त्यो इच्छा पनि छैन ।’ अधिकारी निकट स्रोतले भन्यो–‘नेपालको केन्द्रीय बैंकको गभर्नरमा ४ वर्षे कार्यकाल विवादै विवादमा बीच बल्लतल्ल पूरा गर्नु नै उहाँका लागि ठूलो उपलब्धि हो । सायद बर्खास्तीबिनाको उहाँको एक्जिट नै ठूलो उपलब्धि भएका कारण उहाँमा दोहोरिने इच्छा देखिन्न । उहाँ यो तनावपूर्ण पदका सारा भारीहरु कहिले बिसाउने भन्नेमा प्रतिक्षारत हुनुहुन्छ भन्ने हामीले बुझेका छौं ।’
गभर्नर अधिकारीले सार्वजनिक समारोहहरुमा व्यक्त गर्ने गरेका पछिल्ला अभिव्यक्तिले समेत उनी दोहोरिने चाहनामा छैनन् भन्ने देखिन्छ । दोहोरिनै चाहना राख्दा पनि उनका लागि पहिलाजस्तो सहज अवस्था छैन ।
आफैैंले लिएका अपरिपक्व नीतिहरुका कारण, पक्षपातपूर्ण व्यवहार तथा दलीय चरित्र प्रदर्शनसहित काम गर्ने गलत शैलीका कारण उनको पहिलाको जस्तो शक्ति छैन अहिले । उनलाई गभर्नर बनाउने प्रमुख भूमिका खेलेका प्रधानमन्त्री केपी ओलीको विकास सल्लाहकार तथा पूर्व अर्थमन्त्री डा. युवराज खतिवडासँग नै उनको पछिल्लो समय राम्रो सम्बन्ध छैन । अधिकारीले गभर्नरको रुपमा लिएका कतिपय नीतिको केही महिनाअघि डा. खतिवडाले खुलेरै आलोचना गरेका थिए । त्यसपछि उनको खतिवडासँग बोलचाल पनि राम्रोसँग हुँदैन । आफ्नै गुरु डा. खतिवडाले समेत आलोचना गर्नुपर्ने र बोलचाल नै बन्द हुने गरी गलत नीति नीति अधिकारीले लिएका थिए भन्ने कुरा यहाँबाट समेत प्रष्टिन्छ । यसकारण अधिकारीले फेरि गभर्नर बन्ने चाहना राखेमा उनलाई विगतमा जस्तो डा. खतिवडाले काँध थाप्ने छैनन् ।
उसो भए को छन् त प्रतिस्पर्धामा ?
भावी गभर्नरको रुपमा इच्छा व्यक्त गरेर बेलैदेखि दौडधूप गर्नेहरुको लामो लाइन नै लागेको देखिन्छ । यो लाइनमा स्वभाविक रुपमा अहिलेका डेपुटी गभर्नर निलम ढुंगाना र बमबहादुर मिश्र रहेका छन् । उनीहरु दुवै एमालेनिकटका व्यक्ति हुन् । नयाँ गभर्नर छनौटको प्रक्रियासम्म एमाले नेतृत्वकै सरकार रह्यो, अर्थमन्त्री पनि एमालेकै भागमा रहिरह्यो र भागबण्डामा गभर्नर एमालेकै भागमा पर्यो भने उनीहरुको पनि सम्भावना देखिन्छ । यी दुईमध्ये एकलाई गभर्नर बनाउने अवस्था भयो भने पहिलो महिला गभर्नरको रुपमा ढुंगानाको चमात्कारिक उदय समेत हुनसक्ने सम्भावना देखिन्छ । तर, एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भने मिश्रको बढी निकटता छ ।
यीबाहेक राष्ट्रबैंकका पूर्व डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको समेत गभर्नरमा नियुक्तिको सम्भावना छ । तर, उनी अघिल्लोपटक पनि गभर्नरका प्रतिस्पर्धी थिए । गभर्नर पद नपाएकै कारण उनले एमाले छाडेका थिए । अरु दलसँग निकट भएका कारण उनलाई राष्ट्रबैंकको सञ्चालक बनाइएको थियो । अहिले आएर एमाले नेतृत्वकै सरकार र अर्थमन्त्री रहिरहेको अवस्थामा अरुलाई छाडेर शिवाकोटीलाई गभर्नरमा नियुक्त गरिने सम्भावना कम देखिन्छ । तर, पदकै लागि फेरि शिवाकोटी एमाले बने र केपी ओलीसँगको पुरानो सम्बन्धलाई अगाडि बढाएर अन्य शक्तिकेन्द्र समेत प्रयोग गरे पनि गभर्नरको रुपमा उनी अगाडि आउनसक्छन् ।
गभर्नरकै रुपमा चर्चामा आएका अर्का पात्र हुन् राष्ट्रबैंकका कार्यकारी निर्देशकहरु देवकुमार ढकाल, डा. प्रकाश श्रेष्ठ, डा. गुणाकर भट्ट ।
यीमध्ये ढकाल र श्रेष्ठ एमालेनिकट हुन् । श्रेष्ठ अर्थमन्त्री विष्णु पौडेल निकट व्यक्ति हुन् भने ढकाल ओलीनिकट हुन् । तर, ओलीनिकटका प्रतिस्पर्धी अरु समेत भएकोले ढकालको सम्बन्ध कति तगडा छ र त्यसले कतिसम्म काम गर्छ भन्ने विषयले मात्र उनी गभर्नरको रुपमा उदाउने नउदाउने भन्ने विषयमा निक्र्यौल निस्किन्छ ।
कांग्रेसनिकटका डा. भट्ट समेत गभर्नरका दाबेदार हुन् । तर, कांग्रेसले गभर्नरको भागबण्डा पाएको खण्डामा डा. भट्टलाई उछिनेर अगाडि बढ्नसक्ने पात्र समेत दौडमा रहेकोले उनको सम्भावना कम छ ।
यी ३ सीईओमध्ये एक बन्नसक्छन् गभर्नर
यसपटक गभर्नर बन्ने दौडमा भित्रभित्रै वाणिज्य बैंकका तीन सीइओहरु समेत रहेका छन् । यदि उनीहरुको प्रयास सकारात्मक दिशामा गयो भने यी तीनमध्ये कुनै एकले बाजी मार्ने सम्भावना पनि प्रवल छ ।
यो दौडमा सबैभन्दा बलियो दाबेदारको रुपमा नवील बैंकका प्रमुख कार्यकारी अधिकृत तथा भेटेरान बैंकर ज्ञानेन्द्रप्रसाद ढुंगाना हुन् । बैंकिङ र समग्र अर्थतन्त्रलाई बुझ्ने उनको दृष्टिकोण अरुकोभन्दा फरक छ । उनी राष्ट्रबैंककै क्याडर रहेकोले समेत त्यहाँ रहेर गर्ने कामको प्रकृति तथा सरकारलाई सहयोग गर्ने विषयमा खेल्नुपर्ने महत्वपूर्ण भूमिकाको विषयमा उनी निकै जानकार छन् । निकै लामो समयसम्म वाणिज्य बैंकको सीइओको रुपमा कार्यरत उनी उद्योगमै सफल ठानिने नविल बैंक–नेपाल बंगलादेश बैंकबीचको ‘उदाहरणीय बिग मर्जर’का सूत्रधार समेत हुन् । नेपाल बैंकर्स संघ(एनबीए)को अध्यक्ष समेत चलाइसकेका उनमा निकै राम्रो समन्वयकारी क्षमता रहेको छ । उति आक्रामक नहुने र हरेक समस्याको कुशलतापूर्वक नरम धारबाट समाधान गर्ने ढुंगानाको नेपाली कांग्रेसमा निकै राम्रो पहुँच रहेको छ । आफ्नै दाजु कांग्रेसका नेता रहनु र अन्य नेताहरुसँग समेत सुमधुर सम्बन्ध रहेका कारण गभर्नर कांग्रेसको भागमा परेको खण्डमा ज्ञानेन्द्र ढुंगाना गभर्नर बन्ने निश्चित झै देखिन्छ ।
ढुंगानाको पक्षमा सांसद बिनोद चौधरीले समेत राम्रो सहयोग गर्ने वचन दिइसकेका छन् । चौधरीको कांग्रेस सभापति शेरबहादुर देउवासँग राम्रो सम्बन्ध रहेका कारण समेत ढुंगाना आगामी गभर्नर बन्नसक्ने सम्भावना उच्च छ ।
हुन त पछिल्लो समय नविल बैंकमा मनोज ज्ञवालीलाई वरिष्ठ डेपुटी सीइओ दिएर भावी सीईओ रुपमा प्रस्तुत गरिसकिएको छ । यसलाई कतिपयले ढुंगाना गभर्नरको रुपमा राष्ट्रबैंक जाने र त्यसको पूर्वतयारीको रुपमा ज्ञवालीलाई नयाँ र उनीपछिको मुख्य जिम्मेवारी दिइएको ठानेका छन् ।
वाणिज्य बैंकका सीइओमध्ये यसपटक गभर्नर बन्नसक्ने सम्भावित पात्रको सूचीमा प्रभू बैंकका सीइओ अशोक शेरचन र कृषि विकास बैंकका सीइओ गोविन्द गुरुङको नाम पनि अगाडि देखिएको छ ।
पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँग निकट रहेका शेरचनको अन्य एमाले नेताहरुसँग पनि निकै राम्रो सम्बन्ध छ । केपी ओलीसँग पनि उनको सिधा सम्पर्क रहेको छ । त्यसमाथि ओलीले पत्याएका व्यवसायी देवीप्रकाश भट्टचनको आफन्त समेत रहेका कारण त्यो सम्बन्धले समेत शेरचनलाई गभर्नर बन्नसक्ने सम्भावित पात्रको रुपमा हेरिएको छ । स्रोतहरुले शेरचनले आफ्नो गभर्नर बन्ने इच्छा भण्डारीदेखि ओलीसम्म व्यक्त गरिसकेका र ती दुवै ठाउँहरुबाट ग्रिन सिग्नल प्राप्त भएकोले उनको सम्भावना समेत रहेको दाबी गर्छन् । राजनीतिक सम्बन्धमा मात्र नभएर बैंकिङ ज्ञान तथा समन्वयकारी भूमिकामा समेत शेरचन अब्बल बैंकर हुन् । कतिपय बिग्रिएका बैंक तथा वित्तीय संस्थालाई गाभेर प्रभू बैंकको विशाल संरचना खडा गरेका क्षमतावान बैंकर शेरचन एमालेको भागमा गभर्नरको पद परेको खण्डामा बलियो दाबेदारको रुपमा देखिन्छन् । ग्रास रुटबाट माथि उठेका शेरचनमा हरेक परिस्थितिलाई आधुनिक र पृथक ढंगले बुझ्ने नवीन दृष्टिकोण समेत रहेको छ ।
एमालेनिकट बैंकर तथा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ पनि गभर्नरका सम्भावित अर्का उम्मेद्वार हुन् । उनी लामो समयदेखि एमालेको शीर्ष नेतृत्वसँग निकट छन् । त्यही निकटताका कारण उनी सरकारी स्वामित्व समेत रहेको कृषि विकास बैंकको सीइओ बनेका हुन् ।
स्वदेशी तथा विदेशी बैंकमा समेत काम गरी कुशल र युवा बैंकरको परिचय बनाएका उनको पनि गभर्नरको रुपमा आउने प्रवल सम्भावना छ । राजनीतिक लाइन पनि मिल्ने, क्षमता पनि निकै राम्रो रहेको, अर्थतन्त्रलाई केलाउने निकै राम्रो ज्ञान रहेका कारण गुरुङ गभर्नरको रुपमा नियुक्त भए पनि अचम्म नमान्दा हुन्छ ।
अरु को-को ?
भावी गभर्नरको रुपमा सबैभन्दा बढी चर्चा गरिएका पात्र हुन् पूर्व अर्थसचिव रामेश्वर खनाल । उनलाई हालै ओली नेतृत्वको सरकारले आर्थिक सुधार आयोगको संयोजक समेत बनाएको छ । उनको संयोजकत्वमा गठित आयोगले मुलुकको अर्थतन्त्रको समग्र क्षेत्रमा सुधारका लागि रायसहितको प्रतिवेदन समेत दुई दिनअघि पेश गरिसकेको छ ।
निकै महत्वपूर्ण जिम्मेवारी खनाललाई दिइनुको अर्थ प्रधानमन्त्री ओलीका विकास सल्लाहकार तथा पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाको डिजाइनमा भावी गभर्नरको रुपमा प्रस्तुत गर्न खोजिएको स्रोतहरु दाबी गर्छन् । गभर्नरको कतिपय भूमिका समेत अर्थतन्त्रको समग्र सुधारमा सल्लाहकारको रुपमा रहने गरेको र अनौपचारिक रुपमा त्यो भूमिका खनाललाई दिएर भावी गभर्नरको रुपमा प्रस्तुत गर्न खोजिएको विश्लेषण समेत हुने गरेको छ । भावी गभर्नरको रुपमा हेरिएका खनाल त्यस्ता पात्र हुन्, जो एमालेका तत्कालीन अर्थमन्त्री भरतमोहन अधिकारीसँग विवादका कारण चर्चामा थिए । एमालेकै हालसम्मकै लोकप्रिय अर्थमन्त्रीको रुपमा इतिहास रचेका स्व. अधिकारीसँग कुरा नमिलेर बाहिरिएका खनाललाई नै एमालेले गभर्नरको रुपमा ल्याएर अग्रजको भूमिकाको अवमूल्यन गर्न नहुने पक्षमा तर्क गर्नेहरु पनि छन् ।
यसपटक गभर्नर बन्ने लाइनमा सिटिजन्स बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत तथा पूर्व सञ्चालक समितिका अध्यक्ष भेटेरान बैंकर राजनसिंह भण्डारी समेत रहेका छन् । हक्की स्वभावका भण्डारी पनि राष्ट्रबैंककै क्याडर हुन् । उच्च घरानाका उनको उच्च राजनीतिक नेतृत्वसँग सिधा सम्पर्क छ । उनले पनि यसपटक गभर्नर बन्न मन गरेका र सम्भावना पनि निकै राम्रो रहेको ठान्नेहरुको पनि कमी छैन बैंकिङ उद्योगमा ।
गभर्नरको रुपमा चर्चामा आएका अर्का पात्र हुन् लगानी बोर्ड नेपालका पूर्व सीइओ सुशील भट्ट । पछिल्लो समय जुनसुकै राजनीतिक दलको नेतृत्वमा सरकार रहेको बेला समेत महत्वपूर्ण सरकारी पदहरुमा नियुक्तिमा हाबी हुने गरेका दीपक भट्ट र सुशील भट्ट दाजुभाई हुन् । भट्ट दाजुभाईको नेपालका शक्तिशाली कर्पोरेट हाउसहरुसँग राम्रो सम्बन्ध छ । धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठलाई ल्याउने दौडमा समेत दीपक भट्टले नै बाजी मारेका विश्लेषण गर्ने गरिन्छ । कर्पोरेट हाउसहरुलाई हातमा लिएर राजनीतिक शक्तिहरुलाई साम, दाम, दण्डभेद प्रयोग गरी आफूले भनेको पात्रलाई महत्वपूर्ण पदमा नियुक्ति दिलाउन सफल ठानिएका भट्टले आफ्नाकै लागि प्रयास गरेको खण्डमा गभर्नरको रुपमा सुशील भट्ट आउनसक्ने स्रोत दाबी गर्छ ।
बिचौलियाको दाजुभाई भएकोले मात्र होइन, भट्ट आफैं पनि क्षमतावान व्यक्ति हुन् । विभिन्न सरकारी निकायको नेतृत्व(सहभागी) गरिसकेका भट्टमा अर्थतन्त्र तथा बैंकिङलाई बुझ्ने राम्रो क्षमता रहेको छ । अर्थमन्त्रीजस्तो व्यक्तिसँग समन्वय गरेर भोलिका दिनमा काम गर्नुपर्ने पद गभर्नर रहेका कारण त्यसका लागि भट्ट समेत उपयुक्त पात्र हुन् र उनी गभर्नरको रुपमा आउनसक्ने सम्भावना समेत उच्च छ ।
गभर्नर बन्न चाहिने योग्यता र क्षमता
नेपाल राष्ट्र बैंक ऐनको दफा २० मा राष्ट्र बैंक संचालकको योग्यता सम्बन्धि व्यवस्था गरिएको छ । सो दफाको उपदफा (ग) मा ‘आर्थिक, मौद्रिक, बैकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित वा कानून विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय वा वाणिज्य कानूनको क्षेत्रमा कार्य अनभुव हासिल गरेको’ व्यक्ति मात्रै नेपाल राष्ट्र बैंकको संचालक हुन योग्य हुने उल्लेख गरिएको छ ।
नेपाल राष्ट्र बैंकको गभर्नर भनेको संचालक समिति अध्यक्ष हो । यस्तै, डेपुटी गभर्नर पनि संचालक नै हो ।
सोही उपदफामा ‘कार्य अनुभव’को स्पष्टीकरण पनि दिइएको छ । स्पष्टीकरणमा भनिएको छ– ‘यस खण्डको प्रयोजनको लागि ‘कार्य अनुभव’ भन्नाले नेपाल सरकार वा बैंकको विशिष्ट श्रेणीको पद वा विश्वविद्यालयको प्राध्यापक वा “क” श्रेणीको वाणिज्य बैंक वा वित्तीय संस्थाको कार्यकारी प्रमुख वा अन्तर्राष्ट्रिय सङ्घ, संस्थाको कार्यकारी तहको पद वा सो सरहको पद वा मर्यादाक्रमको हिसाबले सो पदभन्दा उच्च पदमा कार्य गरेको कार्य अनुभव सम्झनु पर्छ ।’