काठमाण्डौ । वाणिज्य बैंकहरुको नाफा ४.६२ प्रतिशतले घटेको छ । चालु आवको दोस्रो त्रैमाससम्म वाणिज्य बैंकहरुले २७ अर्ब ४३ करोड ६९ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् ।
गत आवको सोही अवधिसम्म भने वाणिज्य बैंकहरुले २८ अर्ब ७६ करोड ५२ लाख रुपैयाँ नाफा कमाएका थिए । कमजोर, ऋण लगानी तथा व्यवसाय र खराब कर्जा बृद्धिका कारण अधिकांश वाणिज्य बैंकहरुको मुनाफा प्रभावित बन्न पुगेको छ ।
चालु आवको दोस्रो त्रैमाससम्म आइपुग्दा दुई बैंकबाहेक सबैको खराब कर्जा अनुपात बढ्न पुगेको छ । यसकारण पनि बैंकहरुको नाफा प्रभावित बन्न पुगेको हो । बैंकहरुले ऋणीहरुसमक्ष प्रवाह गरेको कर्जाको ब्याज र साँवा समयमा उठ्न नसक्दा खराब कर्जा अनुपात बृद्धि भएको तथ्याङ्कले देखाएको छ ।
यसरी बैंकहरुको व्यवसायमा नै सुधार नदेखिएपछि अधिकांशको नाफा प्रभावित बन्न पुगेको हो ।
यस अवधिसम्म ९ वटा वाणिज्य बैंकको नाफा गत आवको तुलनामा घटेको छ भने बाँकी ११ वटाको नाफा बढेपनि समग्रमा वाणिज्य बैंकहरुको कुल नाफा भने घट्न पुगेको छ । सो अवधिसम्म सर्वाधिक नाफा कमाउनेमा नबिल बैंक रहेको छ । नबिलले ३ अर्ब ५ करोड रुपैयाँ नाफा आर्जन गरी सर्वाधिक नाफा कमाउने बैंक बनेको छ ।
बैंकको यो नाफा गत आवको तुलनामा १.२९ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म नबिलले ३ अर्ब २० करोड रुपैयाँ नाफा कमाएको थियो ।
त्यस्तै, दोस्रो बढी नाफा कमाउने बैंकमा ग्लोबल आइएमई बैंक रहेको छ । बैंकले ३ अर्ब ५ करोड रुपैयाँ नाफा कमाएको छ ।बैंकको नाफा ४९।५१ प्रतिशतले बढेको छ ।
यसकास नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २ अर्ब ८३ करोड एभरेष्टले २ अर्ब ७ करोड, एनएमबिले २ अर्ब ३५ लाख, प्राइम कमर्सियलले १ अर्ब ८६ करोड, स्ट्याण्डर्ड चार्टर्डले १ अर्ब ६४ करोड, हिमालयनले १ अर्ब ५१ करोड, प्रभुले १ अर्ब ३३ करोड, सानिमाले १ अर्ब १९ करोड, लक्ष्मी सनराइजले १ अर्ब १६ करोड, कृषि विकासले ९५ करोड, नेपाल एसबिआईले ९० करोड, माछापुच्छ्रेले ८० करोड, राष्ट्रिय वाणिज्यले ७६ करोड, सिटिजन्सले ६६ करोड, सिद्धार्थले ५३ करोड, नेपाल बैंकले ४६ करोड, कुमारी बैंकले २७ करोड र एनआइसी एशिया बैंकले १५ करोड रुपैयाँ नाफा कमाएको छ ।
गत आवको तुलनामा नाफा बृद्धिदरमा भने प्रभु बैंक अगाडी देखिएको छ । प्रभु बैंकले ८५४९ प्रतिशतले नाफा बढाएको छ । गत आवको यसै अवधिसम्म ७२ करोड ३ लाख रुपैयाँ मात्रै नाफा कमाएको यस बैंकले चालु आवको यसै अवधिसम्म १ अर्ब ३३ करोड रुपैयाँ नाफा कमाएको छ ।
त्यस्तै, सर्वाधिक नाफा घट्नेमा एनआइसी एशिया बैंक रहेको छ । बैंकको नाफा ९२.०३ प्रतिशतले घटेको छ । गत आवमा १ अर्ब ९० करोड रुपैयाँ नाफा आर्जन गरेको एनआइसीले यस अवधिसम्म जम्मा १५ करोड रुपैयाँ मात्रै नाफा कमाएको छ ।
ईपीएस कुनको कति ?
धितोपत्र दोस्रो बजारमा लगानी गर्नुअघि कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) कति छ बुझ्न जरुरी हुन्छ । करपछिको नाफालाई कुल सेयर संख्याले भाग गर्दा आउने प्रतिफललाई नै प्रतिसेयर आम्दानी भनिन्छ ।
यो सूचकले कम्पनीको मुनाफा आर्जनको क्षमता देखाउने हुँदा कम्पनीको आधारभुत पक्षको विश्लेषणको प्रमुख सूचकको रुपमा लिइन्छ ।
चालु आवको दोस्रो त्रैमाससम्म सबैभन्दा धेरै इपीएस स्ट्याण्डर्ड चार्टर्ड बैंकको रहेको छ । बैंकको इपीएस ३२.६७ रुपैयाँ छ । सबैभन्दा थोरै इपीएस एनआइसी एशियाको २.०४ रुपैयाँ छ । एनआइसी एशियाको इपीएस २३.५५ रुपैयाँले घटेको छ ।
त्यस्तै, एभरेष्टको इपीएस ३२.०६ रुपैयाँ, नबिलको २४।०५ रुपैयाँ, एनएमबिको २१.८२ रुपैयाँ, प्राइम कमर्सियलको १९.२८ प्रतिशत, सानिमाको १७.६१ रुपैयाँ, नेपाल एसबिआईको १७.१५ रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगाको १६.६० रुपैयाँ, ग्लोबल आइएमईको १६.०२ रुपैयाँ, हिमालयनको १४.०३ रुपैयाँ, माछापुच्छ्रेको १३.८९ रुपैयाँ, कृषि विकासको ११.४७ रुपैयाँ र प्रभुको ११.३५ रुपैयाँ रहेको छ ।
१८ बैंकको खराब कर्जा बढ्यो
चालु आवको दोस्रो त्रैमाससम्म आइपुग्दा १८ वटा वाणिज्य बैंकको खराब कर्जा अनुपात गत आवको तुलनामा बढेको छ । खराब तथा निष्क्रिय कर्जा अनुपात बढ्दा बैंकहरुको नाफा प्रभावित बन्न पुगेको हो ।
राष्ट्र बैंकको नियमअनुसार बैंक तथा वित्तीय संस्थाको खराब कर्जा ५ प्रतिशत भन्दा बढी पुग्यो भने उक्त संस्थाको वित्तीय अवस्था स्वस्थ नरहेको बुझ्न सकिन्छ । चालु आवको दोस्रो त्रैमाससम्म प्रभु बैंकको खराब कर्जा ५ प्रतिशत माथि छ भने अधिकांशको ५ प्रतिशत हाराहारीमा पुग्न लागेको छ ।
नेपाल बैंक र एभरेष्ट बैंकबाहेक सबै बैंकको खराब ऋण अनुपात बृद्धि हुँदा बैंकहरुको ब्याज आम्दानी घट्न गई नाफा प्रभावित बन्न पुगेको छ । नेपाल बैंकको यस्ता कर्जा अनुपात ०.५१ अंक र एभरेष्ट बैंकको ०.११ अंकले घटेको छ भने सबैभन्दा धेरै सिद्धार्थ बैंकको १।९४ अंकले बृद्धि भएको छ ।
७ बैंकको वितरणयोग्य मुनाफा ऋणात्मक
यस अवधिसम्म आइपुग्दा ७ वटा वाणिज्य बैंकको वितरणयोग्य मुनाफा ऋणात्मक रहेको छ । उक्त बैंकहरुले दोस्रो त्रैमाससम्म लगानीकर्ता वा सेयरधनीलाई प्रतिफल बाँड्नका लागि नाफा छुट्याएका छैनन् ।
अर्थात् खुद नाफा प्रभावित बन्दा लगानीकर्तालाई लाभांशको रुपमा बाँड्न नाफा छुट्याउन सकेका छैनन् ।
सो अवधिसम्म सबैभन्दा बढी एभरेष्ट बैंकले छुट्याएको वितरणयोग्य नाफाको आधारमा बैंकले ३०.५८ प्रतिशतसम्म लाभांश दिन क्षमता राख्दछ ।
त्यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकले २३.५५ प्रतिशत, सानिमा बैंकले १९.१४ प्रतिशत, नेपाल एसबिआई बैंकले १७.५० प्रतिशत, प्राइम कमिर्सयलले ११४.९८ प्रतिशत, ग्लोबल आइएमई बैंकले १२.४९ प्रतिशत, एनएमबि बैंकले १०.२५ प्रतिशत, कृषि विकास बैंकले ९.७२ प्रतिशत, नेपाल बैंकले ८.२६ प्रतिशत, सिटिजन्स बैंकले २.३५ प्रतिशत, लक्ष्मी सनराइजले १.५१ प्रतिशत र माछापुच्छ्रे बैंकले ०.१६ प्रतिशतसम्म लाभांश दिने क्षमता राख्दछ ।


                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                