काठमाण्डौ । पछिल्लो समय नेपालको सेयर बजारमा लो क्यापका कम्पनीहरुमा खेलाडीहरुले राम्रै पैसा छापिरहेका छन् । यसको पछिल्लो उदाहरणको रुपमा इमर्जिङ नेपाल नामको कम्पनीलाई लिन सकिन्छ ।
यो कम्पनीको सेयरमूल्य सुनियोजित ढंगले बढाउन पछिल्लो समय खेलाडीहरु लागिपरेका देखिएको छ ।
केही लगानीकर्ताहरुको सबैभन्दा धेरै कित्तामा नियन्त्रण रहेका कारण उनीहरुकै जोडबलमा कम्पनीको मूल्य बढाउने काम भइरहेको देखिएको छ ।
यो कम्पनीको पब्लिकतर्फ चुक्तापूँजीको १० प्रतिशत अर्थात ५ लाख ५५ हजार ६०० कित्ता सेयर मात्र नेप्सेमा सूचीकृत छ । संस्थापकतर्फ ५० लाख ४०० सय कित्ता सूचीकृत छ ।
अत्यन्त थोरै कित्ता भएका कारण बजारमा उपलब्ध सप्लाईलाई खाएर निश्चित समूहले केही दिनेखि यो कम्पनीको मूल्य लगातार उचाल्ने काम गरिरहेको छ ।
कम्पनीको वित्तीय अवस्थामा चमात्कारिक सुधार छैन । न त कम्पनीको मूल्य अचाक्ली उचालिने गरी कुनै ठूलै परिवर्तन नै भएको छ । न त सेयर बजारको गति नै कम्पनीको मूल्य उचालिएजसरी तीव्र बनेको छ । त्यति मात्र होइन, कम्पनी आफैं विभिन्न समस्याबाट पिरोलिएको छ । आम्दानीका सीमित स्रोतहरुतर्फको प्रगति सन्तोषजनक छैन भने मुद्दति निक्षेपमा पैसा राखेर रिटर्न राम्रो पाउने अवस्था पनि देखिन्न । केही निर्माणाधीन आयोजनमा लगानी गरेका कारण त्यहाँबाट तत्कालै आम्दानी हुने अवस्था पनि छैन ।
माथि उल्लेख गरिएका कुनै कारण र आधारबिना नै खेलाडीहरुले यो कम्पनीमा खेलिरहेका छन् भने १० दिनअघिसम्म प्रतिकित्ता ११२५ रुपैयाँ रहेको सेयरमूल्य बढाएर यो समाचार तयार पार्दासम्म प्रतिकित्ता १४२७ पुर्याइसकेका छन् । सोझा लगानीकर्तामाझ यो कम्पनीको सेयरमूल्य प्रतिकित्ता ३ हजार पुर्याउने भन्दै हल्ला पिटिएको समेत भेटिएको छ ।
यो कम्पनीमा सबैभन्दा बढी होल्डिङ आईएमई समूह, संघाई ग्रुप, विशाल ग्रुप, शशीकान्त अग्रवाल र उनको समूह, शेखर गोल्छासहितको गोल्छा समूहका सदस्यहरु, केही स्टक तथा इन्भेष्टमेन्ट कम्पनीहरु लगायतको छ ।

यो कम्पनीलाई सार्वजनिक निजी इक्वीटी प्ल्याटफर्मको रुपमा अगाडि बढाउन खोजिएको छ । कम्पनीको वेबसाइटमा भनिएको छ-'हामी सार्वजनिक–निजी साझेदारी हौंः निजी क्षेत्रले लगानी, व्यवस्थापन र विशेषज्ञता ल्याउँछ; सार्वजनिक क्षेत्रले हामी काम गर्ने समाजमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्दछ। सामूहिक रूपमा, हामी नेपालमा राम्रो लगानी वातावरण प्रवद्र्धन गर्न सहजीकरण गर्छौं। हामी राष्ट्रिय प्राथमिकताहरूको क्षेत्रमा लगानीलाई तीव्र बनाउन सरकारसँग रणनीतिक रूपमा गठबन्धन छौं, राम्रो व्यापार सिद्धान्तहरू सहित।'
यो कम्पनीले होटल एलिस, पिपुल्स इनर्जी लिमीटेड, केयर रेटिंग्स, नेपाल इन्फ्रास्टक्चर बैंक, इमर्जिंग भेञ्चर लिमीटेड, सभापोखरी हाइड्रोपावर लगायतका कम्पनीमा लगानी समेत गरेको छ ।
कस्तो छ वित्तीय अवस्था ?
५५ करोड ५६ लाख चुक्तापूँजी रहेको यो कम्पनीको चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्मको खूद नाफा ९३ लाख ८८ हजार रुपैयाँ रहेको छ ।
वार्षिकीकृत प्रतिसेयर आम्दानी ३.३८ रुपैयाँ रहेको छ भने पीई रेसियो ३५५.०७ गुणा रहेको देखिन्छ । सम्पत्तिमा प्रतिफल निकै कम अर्थात ३.०५ प्रतिशत मात्र छ । प्रतिसेयर नेटवर्थ पनि १०९.४८ रुपैयाँ मात्र छ भने प्रतिसेयर कूल सम्पत्ति मूल्य पनि ११०.८४ रुपैयाँमा सीमित छ ।
कम्पनीले प्रकाशित गरेको वित्तीय विवरणमै यसको आम्दानीको मुख्य स्रोतको रुपमा रहेको होटल एलिस द वण्डर इन लिमीटेडमा अपेक्षा गरेअनुसार व्यवसाय नभएको उल्लेख छ ।
लगानी गरिएको इमर्जिंग भेञ्चर लिमीटेडले धितोपत्र बोर्डबाट आसयपत्र र स्वीकृतिपत्र प्राप्त गर्न बाँकी रहेको छ भने कम्पनीको लगानीका नयाँ क्षेत्रका सम्बन्धमा बढाइएका छलफलबाट सीमित सफलता मात्र प्राप्त भएको उल्लेख छ ।
बजारको तरलता स्थितिले गर्दा मुद्दति निक्षेपमा कम प्रतिफल प्राप्त हुनु तथा कम्पनीले गरेका केही लगानीबाट तुरुन्तै प्रतिफल प्राप्त हुन नसक्नु लगायतलाई समेत समस्याको रुपमा प्रतिवेदनमा उल्लेख गरिएको छ ।
यसरी कम्पनी आफैं चुनौति र समस्याको चांगमा परेको देखिन्छ । समस्यै समस्याले पिरोलिएको कम्पनीकै सेयरमा अपरेटरले चलाए भन्दै सर्वसाधारण लगानीकर्ताहरुले चासो दिइरहेको दोश्रो बजारबाट देखिन्छ । अपरेटरले चलाएका यस्ता सेयरमा लगानी गर्नु सधैं जोखिमपूर्ण हुन्छ ।