काठमाण्डौ । नेपाल फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)को ग्रे लिस्टमा परेको छ ।
फ्रान्सको राजधानी पेरिसमा जारी एफएटीएफको बैठकले नेपाललाई आगामी दुई वर्षका लागि ग्रे लिस्टमा राख्ने निर्णय गरेको हो । यसको अर्थ नेपालले २ वर्षभित्र महत्वपूर्ण कामहरु गर्नुपर्नेछ त्यहाँबाट निस्किन । सरकार र अन्य तालुकदार निकाय गम्भीर बनेर द्रूत गतिमा काम गरे भने २ वर्षअघि नै आवश्यक सुधारका रिपोर्टसहित नेपालले ग्रेलिस्टबाट हटाउने अनुरोध गर्नसक्छ ।
ग्रे लिस्टमा नेपाल परेपछि यसले पूँजीबजारमा समेत प्रभाव पार्ने देखिन्छ । लगानीकर्ताहरु अहिले त्यसकै विषयमा तर्कवितर्क गरिरहेका छन् ।
कतिपयले यसअघि पनि नेपाल ग्रे लिस्टमा परेको भन्दै त्यसबेलाको बजारलाई जोडेर आगामी बजारको सम्भावित दिशाको विषयमा समेत अड्कलबाजीहरु गरिरहेका छन् ।
नेपाल सन् २००९ देखि २०१४ सम्म पनि एफएटीएफको ग्रे लिष्टमा परेको थियो । त्यो अवधिमा नेपालको सेयर बजारमा मिश्रित प्रभाब परेको देखिन्छ ।
खासगरी २००९ देखि २०१३ सम्मको अबधिमा बजारमा गिरावट आएको देखिन्छ । सन् २००९ मा नेप्से सूचक ७५० को बिन्दुमा रहेको थियो, त्यस पछिको ३ बर्ष बजार बियरिस यात्रामा चल्दा नेप्सेमा क्र्यास भई २९१ सम्म आएको देखिन्छ । तर अन्तिम समयमा आउँदा भने बजारले बियरिस यात्रा सकेर सन् २०१३ को सूरुवातबाट बुलिस गति समातेको देखिन्छ ।
-२००९ को जनवरी ४ मा नेप्से ६९६.२१ अंकमा थियो । २००९ को डिसेम्बर २९ मा ५४८.११ को विन्दूमा ओर्लिएको थियो ।
-२०१० का लागि जनवरी ३ बाट खुलेको बजार ५४६.८८ विन्दूमा थियो । २०१० डिसेम्बर २९ मा ४०४.०६ विन्दूमा ओर्लिएको थियो।
-२०११ को जनवरी २ मा ४००.६२ अंकमा रहेको बजार सोही वर्षको डिसेम्बर २९ मा ३१६ मा आइपुगेको थियो ।
-२०१२ जनवरीमा ३१९ मा रहेको नेप्से परिसूचक डिसेम्बर ३१ मा भने ५३४ अंकमा फर्किएको थियो ।
-२०१३ को जनवरी १ मा ५३१ विन्दूबाट सुरु भएको बजार २०१३ को डिसेम्बर ३१ मा ७७१ अंकमा फर्किएको देखिन्छ ।
त्यो समयमा सेयर बजार यसरी क्र्यास हुनुमा ग्रे लिस्टको ब्याड न्यूज भन्दा ठूलो कारण माओबादी सरकारका तत्कालिन अर्थमन्त्री डा. बाबुराम भट्टराइले पूँजीबजारप्रति राखेको नकारात्मक धारणालाई मानिन्छ । त्यसबेला डा. भट्टराईले पूँजीबजारलाई जूवाघरको संज्ञा दिएका थिए । जसका कारण लगानीकर्ताको मनोबल नकारात्मक ढंगले प्रभावित हुन पुग्दा बजारमा प्यानिक अवस्था बनेको थियो ।
अर्थतन्त्रसँग पूँजीबजारको सम्बन्ध हुन्छ । दिगो ढंगले बजार बढ्न वा घट्न अर्थतन्त्रको स्वास्थ्यमा आउने उतारचढावले ठूलो भूमिका खेल्छ ।
पूँजीबजारमा आर्थिक तथा अन्य बिषयले पनि प्रभाव पार्ने भएको कारण यति मात्रै कारणले बजारलाई ठूलै असर गर्छ भनिहाल्न नसकिने केही जानकारहरुको तर्क छ ।
नेपाल इन्भेष्टर्स फोरमका निबर्तमान अध्यक्ष छोटेलाल रौनियारले यस बिषयले पूँजीबजारमा खासै कुनै प्रभाव नपर्ने बताउँछन् । रौनियारकाअनुसार हाम्रो बजारमा अन्तराष्ट्रिय कम्पनीहरु छैनन् । त्यसकारण ग्रे लिष्टकै कारण पूँजीबजारमा ठूलो प्रभाव नपर्ने उनको जिकिर छ ।
नेपाल ग्रे लिष्टमा पर्नु नेपाल राष्ट्र बैंककै कमजोरी रहेको उनले दाबी गरे । उसको नीतिकै कारण पूँजीबजार अप्ठ्यारो अबस्थामा चलेको पनि रौनियारले जानकारी दिए । उनका अनुसार नयाँ गभर्नर आँउदै गर्दा पूँजीबजारले थप लय लिने निश्चित झै देखिन्छ ।
अर्का बजार जानकार केशब कोइराला(काका) त नेपाल ग्रे लिष्टमा पर्दा झनै सेयर बजार बढ्ने तर्क गर्छन । उनको बिचारमा नेपालको सेयर बजार अर्थतन्त्र राम्रो भएरभन्दा पनि मूद्रा बाहिरिन रोकिएर बढ्ने गरेको छ । यसकारण यदि घटिहाल्यो भने पनि त्यो अल्पकालीन मात्र हुनेछ । 'त्यो भनेको किन्ने मौका पनि हो ।' कोइरालाको बिचारमा यदि हाम्रो देशमा पनि ठूलो विदेशी लगानी भएको खण्डमा लगानी फिर्ता जाला र यसको प्रभाव पूँजीबजारमा पर्ला भन्ने डर हुन्थ्यो ।
'मल्टिनेसनल कम्पनीहरु खासै पूँजीबजारमा छैनन् । त्यसैले नेपाल ग्रे लिष्टमा पर्दैमा पूँजीबजारमा प्रभाव पर्दैन ।'-उनले थपे ।
अर्का बजार जानकार तथा अर्थशास्त्री डा. केशब श्रेष्ठको बिचारमा पनि ग्रे लिस्टमा परेको खबरले पूँजीबजारलाई सिधै असर गर्दैन । 'ग्रे लिष्ट भनेको मनी लाउण्डरिङको बिषय हो । यस्तो अबस्थामा आइएमएफ र बिश्व बैंकले आफूले दिने सहुलियत ऋण र अनुदानमा केही कडाइ गर्न सक्छन् ।' डा. श्रेष्ठले भने-'नेपाल अन्तराष्ट्रिय लिगल फ्रेमवर्कभित्र नगई सुखै छैन । ढिलो चाँडो लिगल फ्रेमवर्कमा नेपाल गइहाल्छ । यसले अन्तराष्ट्रिय रुपमा ठूला लगानी घट्ने हो । तर पूँजीबजारमा सिधै प्रभाब पर्दैन ।'