काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले नेपालको विकास बैंकिङ इतिहासमा नयाँ किर्तिमान रचेको छ । बैंकले गत आवको चौथो त्रैमाससम्म १ अर्ब ५३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यससँगै मुक्तिनाथ विकास बैंक डेढ अर्ब बढी खुद नाफा आर्जन गर्ने नेपालकै पहिलो विकास बैंक बन्न सफल भएको छ ।
यसअघि कुनैपनि विकास बैंकले यस्तो किर्तिमान राख्न सकेका थिएनन् । अघिल्लो आवमा भने १ अर्ब १७ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यसरी बैंकको नाफामा ३०.६९ प्रतिशतको वृद्धि भएको छ ।
चुस्त व्यवस्थापकिय प्रणाली र आक्रामक व्यवसाय विस्तारका कारण बैंकले समीक्षा अवधिमा वित्तीय अवस्थामा राम्रो प्रगति गरेको छ ।
बैंकको लाभांश क्षमतामा समेत उच्च वृद्धि भएको छ । बैंकले गत आवको चौथो त्रैमाससम्म लाभांंश क्षमता २०.७५ प्रतिशत पुर्याएको छ । अघिल्लो आवको सोही अवधिसम्म भने बैंकको लाभांश क्षमता २.७६ प्रतिशत मात्रै थियो ।
वितरणयोग्य मुनाफा समेत ६५१.१५ प्रतिशतले बढेर १ अर्ब ४६ करोड पुगेको छ ।
बैंकले ५५ करोड ७६ लाख रुपैयाँ खुद शुल्क तथा कमिशन आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा २०.४७ प्रतिशतले बढी हो ।
यस्तै बैंकको सञ्चालन मुनाफा १ अर्ब ७० करोडबाट बढेर २ अर्ब ३० करोड र खुद सञ्चालन आम्दानी ३ अर्ब ९७ करोडबाट बढेर ४ अर्ब ६१ करोड रुपैयाँ पुगेको छ ।
चौथो त्रैमाससम्म बैंकले रिटेन्ट अर्निङको आकार ६५१.१५ प्रतिशतले बढाउदै १ अर्ब ४६ करोड रुपैयाँ पुर्याएको छ । रिजर्भमा समेत बैंकको ३ अर्ब ४६ करोड रुपैयाँ सञ्चित रहेको छ । बैंकले निक्षेप संकलन र कर्जा प्रवाह बढाएको छ । निक्षेप संकलन ६.९८ प्रतिशतले बढ्दै १ खर्ब १७ अर्ब र कर्जा प्रवाह पनि ६.१० प्रतिशतले बढेर ९७ अर्ब ५१ करोड पुगेको छ ।
बैंकको खराब कर्जा अनुपात भने केही बढेको छ । अघिल्लो आवमा २.३७ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर २.७५ प्रतिशत पुगेको छ । यद्यपी यो राष्ट्र बैंकले तोकेको सीमाभित्रै रहेको छ । बैंक कस्ट अफ फण्ड घटाउन सफल भएको छ । अघिल्लो आवमा ६.५४ प्रतिशत रहेको कस्ट फ फण्ड ४.९० प्रतिशतमा सीमित बनेको छ ।
यस्तै सिडी रेसियो ८५.७२ प्रतिशत, रिटर्न अन इक्विटी १३.७२ रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी १६.६९ रुपैयाँबाट बढेर २१.८२ रुपैयाँ पुगेको छ । यसैगरी बैंकको प्रतिसेयर नेटवर्थ १६९.९५ रुपैयाँ, मूल्य आम्दानी अनुपात १८.६० गुणा र तरलता अनुपात २५.५७ प्रतिशत कायम भएको छ ।