काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको २० औं वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । उक्त सभा काठमाण्डौको थापाथलीमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
सभामा गत आवका लागि प्रस्तावित १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश गरी कुल १०.५२६३ प्रतिशत लाभांश पारित गरिनेछ ।
यस्तै कम्पनीबाट गरिएको चन्दा तथा सामाजिक उत्तरदायित्व अन्तर्गतका खर्चहरु अनुमोदन गर्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने र सो कार्य सम्पन्न गर्न सञ्चालक समितिलाई आवश्यक सम्पूर्ण अधिकार प्रत्यायोजन गर्ने बारे संसोधित प्रवन्धपत्र तथा नियमावली अभिलेख वा स्वीकृत गर्ने निकायबाट कुनै फेरबदल गर्न निर्देशन प्राप्त भएमा सो अनुसार फेरबदल गर्न सञ्चालक समितिलाई पुर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ ।
सभामा आव २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी सोलाई पारित गर्ने, आव २०८०/८१ को लेखापरीक्षण प्रतिवेदन सहितको वित्तीय विवरणहरु उपर छलफल गरी सो लाई पारित गर्ने, आव २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति गर्ने तथा पारिश्रमिक तोक्ने प्रस्ताव समेत पारित गरिनेछ ।
यसैगरी कम्पनीको रजिष्टर्ड कार्यालय रहने ठेगाना परिवर्तन गर्ने प्रस्ताव समेत पारित गरिनेछ । कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि गत माघ ३० गते एक दिनका लागि बुक क्लोज गरिसकेको छ । यसर्थ माघ २९ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको सभामा सहभागी हुन र लाभांश पाउनका लागि योग्य हुनेछन् ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                