काठमाण्डौ । यो साता सेयर बजारमा ५ दिन कारोबार भयो । ५ दिनको कारोबारमा यो साता बजार ४ दिन घट्यो भने १ दिन मात्रै बढ्यो । ४ दिन कारोबार भएको अघिल्लो साता बजार २ हजार ८१५.०४ को विन्दुमा बन्द भएको थियो । यो साता भने बजार २ हजार ८१८.४३ को विन्दुमा बन्द भयो ।
यस हिसाबले यो साता सेयरबजार ३.३९ अंकले बढ्यो । अघिल्लो साता पनि बजार ७१.३ अंकले बढेका थियो । यो साता दोस्रो बजारमा ५ दिनको कारोबारमा ६२ अर्ब ५५ करोड रुपैयाँबराबरको सेयर कारोबार भयो । अघिल्लो साता ४ दिनको कारोबारमा बजारमा ४३ अर्ब ९३ करोड रुपैयाँबरारको कारोबार भएको थियो । यस हिसाबले यो साता पनि दोस्रो बजारमा नेप्से परिसूचक र दैनिक औषत कारोबार दुबैमा बढोत्तरी आयो । यो साता बजार पूँजीकरण ४६ खर्ब ७९ अर्ब रह्यो । अघिल्लो साता बजार पूँजीकरण ४६ खर्ब ७४ अर्ब रहेको थियो । यस हिसाबले यो साता बजार बढ्दा ५ अर्बले बजार पूँजीकरण बढ्यो ।
प्राविधिक पक्षः
इलिअट वेभमा विभिन्न डिग्रीहरु हुने गर्छन् । त्यस्ता डिग्रीहरुले साना–ठूला गरेर एकदिनदेखि एकसय बर्षसम्मको समय अवधिलाई प्रतिनिधित्व गर्छन् । इलिअट वेभमा मूल्य माथि जान पाँच फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन् ।
माथि लाग्ने पाँच वेभमा पनि तीनवटा बढोत्तरीका र २ वटा सुधारका देख्न सकिन्छ । यसमा १, ३, ५ बढोत्तरीको हुन्छ भने २ र ४ करेक्सनको हुन्छ । वेभ ५ को करेक्सन वेभ ‘ए’ हो । वेभ ‘ए’, ‘बी’, ‘सी’ले मूल्य तथा सूचक तल जाने संकेत दिन्छ ।
हामीले अघिल्लो साता इलिअट वेभ मार्फत व्याख्या गरे जस्तै बजारले यो साता फिवोनासीको २.६१ प्रतिशतको बढोत्तरीका साथ २९२९ विन्दुसम्म पुगेर १ देखि ५ वटा वेभ पुरा गरेको छ । त्यहाँबाट खसेर बजारले वेभ ‘ए’ बनाउँदै २८१८ विन्दुसम्म आएको देखिन्छ । आगामी साता वेभ ‘बी’मा बढोत्तरी आउन सक्ने सम्भावना अधिक रहन्छ । यदि आगामी साता २८ सय विन्द्ुमाथिबाट नै बजारमा सुधार आयो भने वेभ ‘बी’ हुने र वेभ ‘सी’ मा बजार एकपटक २७६० देख २७८० विन्दुसम्म आएपछि हाल चलेको वेभको एउटा चक्र पुरा हुन्छ ।
त्यसपछि बजार नयाँ उचाईतर्फ लम्कने सम्भवना रहन्छ । यो साताको बजारलाई कारोबार तथा भोल्युमबाट नियाल्दा दैनिक औषत कारोबार १२ अर्ब माथि आएको छ । यसले बजार ‘बुलिस’ नै देखिन्छ । यहाँ महत्वपूर्ण विषय के रहेको छ भने, बजार दीर्घकालको लागि बुलिस नै हो, तर अल्पकालको लागि अघिल्लो साताहरुमा केही अंक बढेपछि बजारले करेक्सन लिँदै गरेको छ ।
बोलिङ्गर ब्याण्ड , म्याक्डी र आरएसआई
बोलिङ्गर ब्याण्डको आधारमा यो साताको बजारलाई साप्ताहिक रुपमा नियाल्दा अपर ब्याण्डमा शुटिङ स्टार बनेको छ ।। यसले अल्पकालमा बजारमा नाफा बुक भएको बुझिन्छ । म्याक्डीबाट नियाल्दा बजार लामो समयपछि यो साता बुलिस क्रसओभरमा चलेको देखिन्छ । हिस्टोग्राम सकारात्मक बनेको छ । साप्ताहिक रुपमा आरएसआईबाट नियाल्दा यो साता बजार ६२ को तहमा चलेको देखिन्छ । समग्रमा तीन वटै इन्डिकेटरबाट नियाल्दा अल्पकालमा करेक्सन हुँदै गरेको तर दीर्घकालको लागि भने बजार ‘बुलिस’ नै भएको देखिन्छ ।

पिभट् प्वइन्टः
पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।
बढेमा प्रतिरोध
प्रतिरोध ३ –३०३९
प्रतिरोध २ – २९३३
प्रतिरोध १–२८७५
पिभट् प्वइन्टः२७६८
घटेमा सपोर्ट
सपोर्ट १– २७०८
सपोर्ट २– २६०२
सपोर्ट ३ –२५४३

निष्कर्षः अघिल्लो २ साता राम्रै अंकले बढेको बजारमा यो साता झिनो अंकले मात्रै सुधार आयो । यो साताको पाँच कारोबारमा नेप्सेमा कारोबार र सूचक दुवैमा सुधार आयो । पछिल्लोपटकको बजारलाई प्राइस एक्सन, इलिअट वेभ तथा विभिन्न इन्डिकेटरबाट नियाल्दा दीर्घकालका लागि बजार बुल नै रहेकोमा कुनै शंका छैन । जसलाई निरन्तर १० अर्ब माथिको कारोबारले थप पुष्टि गर्छ ।
यद्यपी पछिल्लो बजारलाई इलिअट वेभबाट नियाल्दा हामीले अघिल्ला साताहरुमा व्याख्या गरे जस्तै बजारले यो साता पाँचांै वेभ सकेर वेभ ‘ए’ बनाएको हाम्रो ठम्याइ रहेको छ । आगामी कारोबाहरुमा ‘एबीसी’ चक्र चल्दा बजार केही समय साइडवेज चल्न पनि सक्छ । त्यसपछि भने बजार पुनः नयाँ चक्रमा नयाँ उचाईतर्फ अघि बढ्छ भन्ने हाम्रो अघिल्ला साताको विश्लेषणमा हामी अडिक नै छौ । यसर्थ हालको बजारमा केही करेक्सन भनेको बुल भित्रकै करेक्सन हो ।
क्षेत्रगत रुपमा यो साता विकास बैंक , जीवन बीमा , निर्जिवन बीमा , उत्पादन क्षेत्र , अन्य तथा म्युचुअल फण्डमा हरियाली छायो भने वाणिव्य बैंक , वित्त , लघुवित्त , होटल्स जलविद्युत, लगानी , तथा कारोबार समूहमा रातो पोतियो ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।