काठमाण्डौ । चौतर्फी आशंकाकाबीच सत्ता गठबन्धनका प्रमुख साझेदार दल नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुले तत्काल सरकार नढल्ने दाबी पेश गरेका छन् ।
राजनीतिक बजारमा केही नयाँ खिचडी पाकिरहेको दाबीलाई खण्डन गर्दै नेताहरुले माओवादी र केही राष्ट्रिय/अन्तराष्ट्रिय शक्तिकेन्द्रहरुको योजनामा गलत हल्ला चलाइएको उल्लेख गर्दै तत्काल गठबन्धन सरकार नढल्ने दाबी गरेका हुन् ।
राजावादी शक्तिहरु सक्रिय भएको मौकामा प्रमुख प्रतिपक्षी माओवादीले गलत हल्ला फैलाएको र राष्ट्रिय सहमति सरकारको बेमौसमी बाजा बजाउने कोशिश गरे पनि त्यसको कुनै अर्थ नभएको नेताहरुले बताएका हुन् ।
आइतबार बिहान नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीनिकटका नेता भनेर चिनिएका विष्णु रिजालले सामाजिक सञ्जाल फेसबुकमा एउटा स्टाटस पोस्ट गरेका थिए । त्यहाँ उनले सत्ता गठबन्धनको प्रमुख पात्र तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी तथा परराष्ट्रमन्त्री आरजू राणा देउवाको कार्यशैलीको आलोचना गरेका थिए । आफैं सरकारमा सहभागी भएको दलका नेताले सत्ता सहयात्री दलबाट सरकारमा सहभागी मन्त्रीको आलोचना गरेको विषयलाई लिएर ‘धेरैले गठबन्धनमा समस्या आएको’ भन्दै विश्लेषण गरेका थिए । ओलीनिकटका नेताले आरजू देउवाको विरोध गर्दै स्टाटस लेखेपछि सरकार ढल्ने हल्लालाई व्यापक बनाइएको छ । रिजालकै स्टाटसलाई आधार मानेर सेयर बजारका खेलाडीहरुले सरकार ढल्नै लागेको भन्दै हल्ला फैलाएर अवस्था प्यानिक बनाएका छन् । के राजनीतिक बजारमा चलाइएको हल्लाजस्तो गठबन्धन सरकार ढल्नै लागेर एमाले नेता विष्णु रिजालले त्यस्तो स्टाटस लेखेका हुन् त ?
बिजशालाले नेता रिजाललाई उनले लेखेको स्टाटस र गठबन्धन सरकारको भविष्यको विषयमा कुराकानी गरेको छ । नेता रिजालले आफूले अहिले मात्र नभई नारायणकाजी श्रेष्ठ परराष्ट्रमन्त्री हुँदा समेत उनको कार्यशैलीको विरोध गर्दै स्टाटस लेखेको स्मरण गराउँदै भने–‘परराष्ट्र मामिलामा चासो राख्ने भएका कारण मैले लेखेको स्टाटस नितान्त व्यक्तिगत हो । त्यही स्टाटसलाई आधार मानेर गठबन्धनमा समस्या आएको, सरकार ढल्नै लागेको भनेर हल्ला चलाइनु हाँस्यास्पद छ ।’
नेता रिजालले राष्ट्रिय सहमतिको सरकारको हल्ला चलाएर माओवादीले बेमौसमी बाजा बजाइरहेको दाबी गर्दै अहिले नै गठबन्धन सरकार ढल्ला भनेर कसैले पनि मुख नमिठ्याउन आग्रह गरे । ‘पूर्व सहमतिअनुसार नै गठबन्धन सरकार पूरा अवधिभर जान्छ । जो जो जसरी लागे पनि अहिलेको सरकार ढल्दैन ।’ उनले दाबी गर्दै भने–‘एमाले र कांग्रेस सहमतिप्रति इमानदार छन् । बाहिर हल्ला चलेजस्तो गठबन्धनमा कुनै समस्या छैन । तपाईले देख्नुभयो होला बिमा प्राधिकरण, राष्ट्रिय बीमा बोर्ड लगायतका नियुक्ति सहमतिमै भएको छ । सबै कुरा सहकार्यकै आधारमा भइरहेको छ । बाहिरी हल्लाको पछाडि कसैले लाग्नुहुँदैन ।’
नेता रिजालले केही हजार राजावादी सडकमा आउनेबित्तिकै सरकार नै ढलिहाल्छ भनेर भाष्य निर्माण गर्नु हाँस्यास्पद रहेको समेत टिप्पणी गरे । सानातिना प्रदर्शनले लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था तलमाथि हुनै नसक्ने उनको जिकिर छ ।
कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले पनि बाहिर चलेको हल्लाजस्तो गठबन्धन सरकारमा कुनै समस्या नरहेको प्रष्ट पारे । ‘यी सबै बजारिया हल्ला हुन् । मेरो बुझाईमा गठबन्धनमा कुनै समस्या छैन र तत्काल त्यस्तो सम्भावना पनि छैन ।’ कांग्रेस महामन्त्री गगन थापाको कोर टिमका प्रभावशाली नेताको रुपमा समेत परिचित शिवाकोटीले भने–‘एमाले र कांग्रेस सहमतिप्रति प्रतिबद्ध छन् । कसैले लेखेको स्टाटस वा कसैले चलाएको हल्लाकै आधारमा सरकार ढलिहाल्छ भन्नु गलत हो ।’
नेता शिवाकोटीले पूर्व सहमतिअनुसार कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा केही समयपछि सरकार बन्ने र बाँकी कुरा पनि सहमतिअनुसार नै अगाडि बढ्ने पनि प्रष्ट पारे ।