काठमाण्डौ । भारतको सबैभन्दा ठूलो सरकारी बैंक स्टेट बैंक अफ इण्डिया(एसबीआई बैंक)लाई भारतको केन्द्रीय बैंकले २ करोड भारु जरीवाना लगाएको छ । रिजर्भ बैंक अफ इण्डिया(आरबीआई)ले नियामकीय नियम उल्लंघन गरेको भन्दै एसबीआई बैंकलाई २ करोड भारु जरीवाना लगाएको हो ।
एसबीआई बैंकले ‘डिपोजिटरी अवेयरनेस फण्ड स्किम २०१४’ का केहि नियमहरु उल्लंघन गरेको विषयमा बैंकलाई आर्थिक कारबाही गरिएको भारतीय मिडियाले जनाएका छन् । रिपोर्टका अनुसार एसबीआई बैंकले प्लेजीको रुपमा केहि कम्पनीको ३० प्रतिशत भन्दा बढी पेड–अप सेयर पूँजी राखेको थियो तर बैंकिङ नियमन ऐनले निर्धारण गरेको अवधिमा यसको रकम ‘डिपोजिटरी एजुकेशन एण्ड अपेयरनेस फण्ड’मा जम्मा गरिएको थिएन । यहि कारण आरबीआईले बैंकलाई नोटिस जारी गरेको थियो र अहिले २ करोड जरीवाना लगाएको छ ।
आरबीआईले बैंकलाई यो जरीवाना नियामकीय कमजोरीका कारण लगाइएकाले बैंक र ग्राहकबीच कारोबार वा कुनै पनि प्रकारको सम्झौतासँग यसको सम्बन्ध नभएको जनाएको छ । यसको अर्थ यो कारबाहीले बैंकका ग्राहकलाई कुने प्रकारको असर नपर्ने जनाइएको छ ।
आरबीआईले अन्य दुई बैंकलाई पनि आर्थिक जरीवाना लगाएको छ । आरबीआईले नियमको उल्लंघन गरेको भन्दै सिटी युनियन बैंकलाई ६६ लाख भारु र कानेरा बैंकलाई ३२.३० लाख भारु जरीवाना लगाएको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                