काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले ३७ औँ वार्षिक साधारण सभा डाकेको छ। बैंकको फागुन १६ गते बसेको सञ्चालक समितिको बैठकले आगामी चैत २० गते का लागि साधारण सभा डाकेको हो ।
उक्त सभामा सेयरधनीहरुका लागि कुनै पनि प्रकारको लाभांशको अजेण्डा राखिएको छैन । सभामा, साधारण सभाको निर्णयमा नियमनकारी नियकाबाट कुनै भाषिक संशोधन गर्न वा कुनै फेरबदल गर्न निर्देशन प्राप्त भएमा सोहि बमोजिम फेरबदल गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गरिनेछ।
सभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनेछ । यसैगरी लेखापरीक्षकको प्रतिवेदनसहितको २०८० असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विववरणहरुमाथि छलफल गरी पारित गरिनुका साथै आर्थिक वर्ष २०८०/८१ को लेखापरीक्षणका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
सभामा बैंकको सहायक कम्पनी एनआईबीएल एस क्यापिटल र एनआइएबीएल स्टक मार्केट्सको गत आवको वित्तीय विवरणहरु समेत पारित गरिनुका साथै संस्थापक सेयरधनीका तर्फबाट ४ जना र सर्वसाधारण सेयरधनीका तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव पारित हुनेछ ।
साधारण सभा प्रयोजनका लागि बैंकले आगामी फागुन २४ गतेदेखि साधारण सभाको मितिसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।