काठमाण्डौ । प्रहरीको खोजी सूचीमा रहेका राजावादी आन्लोलनका कमाण्डर दुर्गा प्रसाईंले आफू कतैपनि नभागेको र काठमाण्डौमै रहेको बताएका छन् । प्रसाईंले एक भिडियो सन्देश जारी गर्दै आफूलाई मार्ने योजना बनेको थाहा पाएपछि ज्यान जोगाउन गत शुक्रबार प्रहरी घेरा तोडेर भागेको बताएका छन् ।
भिडियोमा प्रसाईंले आफू काठमाण्डौको एक मन्दिरमा बसिरहेको बताएका छन् । ‘म सुरक्षित ठाउँमा बसेको छु । म भाग्नलाई जन्मिएको होइन, म सुरक्षित बसेको मात्रै हुँ, म भागेको छैन ।’
भिडियोमा प्रसाईंले आफू सुरक्षित हुन सुरक्षाकर्मीको घेरा तोडेको बताउदै प्रहरीप्रति दुष्मनी नभएको बताएका छन् । ‘तपाईंहरूलाई पर्न गएको चोटप्रति क्षमा चाहन्छु, म जसित प्रहरी र दिनदुखीलाई माया गर्ने मान्छे कोही छैन होला,’ उनले भनेका छन्, ‘मेरो कानको छेवैबाट गोली गयो । मैले कुरो बुझिसकेपछि मेरै गाडीमा अश्रुग्यास उत्रिएपछि यस्तो भएको हो । मलाई मार्ने योजना बुनेको थाहा पाएपछि प्रहरीको घेरा तोडेको हुँ ।’