काठमाण्डौ । प्रभु बैंक लिमिटेड र पोखरा महानगरपालिका वडा नं.–९ शान्तिबन वाटिकास्थित कृषि बजार व्यवस्थापन समितिबीच व्यवसायिक साझेदारीको लागि वैशाख १ गते एक कार्यक्रमका बीच सम्झौता भएको छ ।
कास्की जिल्ला लगायत देशका विभिन्न क्षेत्रमा उत्पादित तथा आयातित कृषि उपजहरुलाई कृषि व्यवस्थापन समितिमातहत सञ्चालित स्टलहरुबाट बिक्री वितरण भइरहदा दैनिक हुने आर्थिक कारोबारलाई सहज बैंकिङ पहुँचसहित डिजिटल माध्यममा रुपान्तरण गरी व्यवसायिक कारोबारमा सहजीकरणको उद्देश्यका साथ यो सम्झौता सम्पन्न भएको हो ।
उक्त सम्झौतापत्रमा कृषिबजार व्यवस्थापन समितिका तर्फबाट अध्यक्ष नवराज दुवाडी तथा प्रभु बैंकका तर्फबाट गण्डकी प्रदेशका प्रमुख प्रदेश अधिकृत राजु रानाले हस्ताक्षर गरेका हुन् । उक्त कार्यक्रममा समितिका तर्फबाट अध्यक्ष नवराज दुवाडीले वैंकप्रति आभार प्रकट गर्दै यो सम्झौताले समिति मातहतका सम्पूर्ण फलफूल तथा तरकारी बजारको दैनिक कारोबारमा सहजता प्राप्त हुने विश्वास व्यक्त गरेका छन् ।
त्यस्तै, बैंकका तर्फबाट प्रमुख प्रदेश अधिकृत राजु रानाले यो सम्झौताले डिजिटल सेवामार्फत कृषि बजारको आर्थिक कारोबारमा सहजीकरण हुने विश्वास व्यक्त गरेका छन् ।
उक्त सम्झौताले पोखरा महानगरपालिका वडा नं.–९ शान्ति बन वाटिका स्थित कृषिबजार व्यवस्थापन समितिअन्तर्गत सञ्चालित व्यवसायिहरुलाई दैनिक कारोबार नगदरहित बनाउने उद्देश्यका साथ क्यू.आर. कोड, डिजिटल भुक्तानी तथा कारोबारका लागि आवश्यक इन्टरनेट सेवा बैकले उपलब्ध गराउनेछ । यसका साथैे व्यवसाय विस्तारका लागि प्रभु बैंकले वैंकको व्यवसायिहरुको आवश्यकतालाई मध्यनजर गर्दै बैंकको नियमानुसार कर्जा सुविधा पनि उपलब्ध गराउनेछ ।