काठमाण्डौ । नेपाल राष्ट्र बैंकले नारायणी डेभलपमेन्ट बैंकलाई नियामक निर्देशन उल्लंघन गर्ने कार्य तत्काल बन्द गर्न गर्न लिखित निर्देशन दिएको छ । बैंकले राष्ट्र बैंकले दिएका निर्देशनहरु पटकपटक उल्लंघन गरेकाले यस्तो कार्य बन्द गर्न आदेश दिएको हो ।
यसका साथै केन्द्रीय बैंकले नारायणी डेभलपमेन्ट बैंकलाई २०८२ असार मसान्तसम्म तोकिएको न्यूनतम चुक्तापूँजी तथा पूँजीकोष अनुपात अनिवार्य कायम गर्न निर्देशन दिएको छ ।
राष्ट्र बैंकले नारायणी डेभलपमेन्ट बैंकलाई २०७७ साउन २१ गते समस्याग्रस्त संस्थाको सूचीबाट हटाएको थियो। सूचीबाट हटाउँदा दिएको पत्रमा २ वर्षभत्र तोकिए बमोजिमको चुक्तापूँजी पुर्याउन, पुँजीको शतप्रतिशतमा नबढने गरी सर्वसाधारणबाट निक्षेप संकलन गर्न सक्ने सीमा कायम गर्न र प्राथमिक पूँजीको बढीमा १० प्रतिशतसम्मको सीमा भित्र एकल ग्राहक कर्जा सीमा कायम गर्न शर्त तोकिएकोमा सो अनुसार न्यूनतम चुक्ता पूँजी कायम नगरेको, तोकिएको सीमा भन्दा बढी सर्वसाधारणबाट निक्षेप संकलन गरेको, एकल ग्राहक कर्जा सीमा भन्दा बढी कर्जा प्रवाह गरेको तथा एकीकृत निर्देशनमा तोकिएको सीमा भन्दा अधिक हुने गरी वित्तीय श्रोत संकलन गरेको लगायत विगत लामो समयदेखि यस बैंकले तोकेको पूँजीकोष अनुपात कायम गर्न नसकेको देखिएकाले संस्थाको सञ्चालक समितिलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा (१) को खण्ड (ग) बमोजिम यस बैंकले तोकेको न्यूततम चुक्ता चुक्ता पूँजी पूँजी तथा पूँजीकोष अनुपात २०८२ असार मसान्तसम्म कायम गर्न निर्देशन दिएको थियो ।
तर बैंकले राष्ट्र बैंकले दिएको निर्देशन बारम्बार उल्लंघन गर्दै आएकाले पुनः समस्याग्रस्त सूचीमा समावेश गर्ने तयारी गरेको राष्ट्र बैंकले जनाएको छ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                