काठमाण्डौ । पछिल्लो समय बीमा कम्पनीहरुले लगानी विविधिकरणमा जोड दिन थालेका छन् । नेपाल बीमा प्राधिकरणले बीमकहरुलाई लगानी विविधिकरण गर्न निर्देशन दिएबमोजिम बीमकहरुले पनि विभिन्न क्षेत्रमा लगानीको थालनी गरेका छन् ।
केही बीमा कम्पनीहरुले शिक्षा क्षेत्र, वायुसेवा क्षेत्र, कृषि, केबलबार र स्वास्थ्य क्षेत्रमा लगानी गर्न सुरु गरिसकेका छन् । बीमा प्राधिकरणले बीमकहरुको लगानी विविधकरणमा जोड दिएपनि सँगसँगै कडाई समेत गरेको छ ।
प्राधिकरणले बीमकको वित्तीय विवरण सम्बन्धी निर्देशन, २०८० जारी गर्दै बीमकको विभिन्न लगानीको क्षेत्र बमोजिम वितरणयोग्य मुनाफाबाट रकम घटाउनुपर्ने निर्देशन दिएकोे छ । यसबाट बीमकहरु लगानी विविधिकरण गर्न निरुत्साहित बन्न पुगेका छन् ।
प्राधिकरणले बीमकको लगानी विविधिकरणमा सहुलियत दिई प्रोत्साहन गर्नुपर्नेमा उल्टै कडाई गर्दा बीमकहरु अन्य सेक्टरमा लगानी गर्न अगाडी बढ्न सकेका छैनन् । बीमकको लगानी निर्देशिका, २०७९ बमोजिम बीमा कम्पनीहरुले कृषि उत्पादन तथा वितरण, शीत भण्डार, गृह, पर्यटन उद्योग, जलविद्युत, सौर्य उर्जा, नवीकरणीय उर्जा, परियोजना, केवलकार, सडक, विद्युत प्रसारण लाइन, शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रमा कुल लगानीको १० प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था छ ।
साथै, एउटै परियोजनामा कुल लगानी रकमको ५ प्रतिशतभन्दा बढी लगानी गर्न नपाईने पनि निर्देशिकामा उल्लेख छ । प्राधिकरणले लगानी निर्देशिका संशोधन गर्दै धितोपत्र बोर्डबाट व्यवसाय गर्न स्वीकृति प्राप्त प्राइभेट इक्वीटी फण्ड र भेन्चर क्यापिटल फण्डमा कुल लगानीको बढीमा १.५ प्रतिशतसम्म लगानी सीमा निर्धारण गरेको थियो । एकै फण्डमा बढीमा एक प्रतिशतसम्म लगानी गर्न सकिने व्यवस्था पनि गरेको थियो ।
प्राधिकरणले पुनः बीमकको वित्तीय विवरण सम्बन्धी निर्देशन संशोधन गर्दै उल्लेखित क्षेत्रको लगानी र धितोपत्र बोर्डबाट व्यवसाय स्वीकृति प्राप्त प्राइभेट इक्वीटी फण्ड र भेन्चर क्यापिटल फण्ड क्षेत्रमा लगानी गरेको भए वितरणयोग्य मुनाफाबाट रकम घटाउनुपर्ने व्यवस्था ल्याएको छ ।
सो व्यवस्थाबमोजिम बीमकले जलविद्युत तथा सौर्य उर्जा, पर्यटन तथा वायुसेवा क्षेत्र, कृषि क्षेत्र, शिक्षा स्वास्थ्य क्षेत्रमा लगानी गरेको पब्लिक लिमिटेड कम्पनी लगानी गरेको मितिले पाँच वर्षसम्म धितोपत्र सम्बन्धी कानून बमोजिम सूचीकृत नभएमा बीमकले वित्तीय विवरणमा लेखाङ्कन गरेको उक्त लगानीको रकमलाई वितरणयोग्य मुनाफा गणना गर्दा घटाउनुपर्नेछ ।
साथै, हाइड्रो सेक्टरमा लगानी गरेको भए परियोजनाको आवश्यक व्यवसायिक सञ्चालन मिति लगानी गरेको मितिले ५ वर्षभन्दा पछि भएको अवस्थामा आवश्यक व्यवसायिक सञ्चालन मितिभित्र लगानी गरेको कम्पनी सूचीकृत नभएमा बीमकले यस क्षेत्रमा भएको लगानी रकमलाई वितरणयोग्य मुनाफामा घटाउनुपर्ने व्यवस्था छ ।
साथै कृषि क्षेत्रतर्फ लगानी गरेको खण्डमा पाँच करोड वा सो भन्दा कम पूँजी लगानी भएको खण्डमा बीमकले लगानी गरेको तीन वर्ष अवधिपश्चात् उक्त कम्पनी खुद नाफामा सञ्चालन नभएमा बीमकले उक्त कम्पनीमा गरेको लगानी रकमलाई नोक्सानी भएको आर्थिक वर्षमा वितरणयोग्य मुनाफाबाट घटाउनुपर्नेछ भने शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगानी गरेमा दुई वर्षपश्चात् उक्त संस्था खुद नाफामा सञ्चालन नभएमा बीमकले उक्त कम्पनीमा गरेको रकमलाई नोक्सानी भएको आवमा वितरणयोग्य मुनाफा गणना गर्दा घटाउनुपर्नेछ ।
त्यस्तै, केबलकारतर्फ भने बीमकले सेयरमा लगानी गरेको पब्लिक लिमिटेड कम्पनी लगानी गरेको मितिले ६ वर्षसम्म सूचीकृत नभएमा बीमकले वित्तीय विवरणमा लेखाङ्कन गरेको उक्त लगानीको रकमलाई वितरणयोग्य मुनाफा गणना गर्दा घटाउनुपर्नेछ ।
प्राधिकरणको निर्देशनबमोजिम यदि बीमा कम्पनीले प्राइभेट इक्वीटी फण्ड र भेन्चर क्यापिटल फण्डमा लगानी गरेको भए बीमकले लगानीको लेखाङ्कन गरेको रकम भन्दा उक्त फण्डमा भएको लगानीको खुद सम्पत्ति मूल्य (न्याभ) कम भएमा लेखाङ्कन गरेको रकम र फण्डमा भएको लगानीको न्याभ फरक रकमलाई वितरणयोग्य मुनाफा गणना गर्दा घटाउनुपर्नेछ ।
प्राधिकरणको यस्तो व्यवस्थाले बीमा कम्पनीहरु लगानी विविधिकरण गर्न प्रोत्साहित भन्दा बढी निरुत्साहित हुने देखिन्छ । यसरी विभिन्न क्षेत्रमा गरेको लगानीमा वितरणयोग्य मुनाफामा रकम घटाउनुपर्ने व्यवस्थाले बीमा कम्पनीहरुको लाभांश रकम पनि घट्ने देखिन्छ ।