काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाको साधारण सभा आज सञ्चालक समितिका अध्यक्ष देवीदत्त ज्ञवालीको अध्यक्षतामा रुपन्देहीमा सम्पन्न भएको हो । सभामा सञ्चालक समितिका अध्यक्षबाट प्रस्तुत भएको आर्थिक वर्ष २०८०÷८१ को वार्षिक प्रतिवेदनलाई सभाले पारित गरेको छ ।
संस्थाको प्रमुख कार्यकारी अधिकृत कृष्ण राज चौधरीले संस्थाको भावी योजना तथा हालको अवस्थाको बारेमा सभालाई जानकारी गराए ।
साधारण सभाबाट सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम वित्तीय संस्थाको चुक्तापूँजीको ५.२६३२ प्रतिशत बोनसे सेयर तथा कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगदको प्रस्ताव पारित गरेको छ ।
त्यसैगरी, स्वतन्त्र संचालक तर्फबाट प्रतिनिधित्व हुने गरी रिक्त संसञ्चालक पदमा जनक राज ढुङ्गानालाई मनोनयन गरेको सञ्चालक समितिको निर्णयलाई सभाले अनुमोदन गरेको छ । संस्थाको बाहृय लेखापरिक्षकको रुपमा आव २०८१÷८२ को लागि प्रमोद पन्थी एण्ड एसोसिएटस्लाई नियुक्त गर्ने प्रस्ताव समेत पारित भएको छ ।
तिलोत्तमा ५, रुपन्देहीमा केन्द्रीय कार्यालय रहेको यस संस्थाको हाल ७ वटा जिल्लाहरुमा ३६ वटा शाखा कार्यालयहरु मार्फत लघुवित्त सेवा प्रदान गर्दै आईरहेको छ । २०८१, चैत्र मसान्तसम्म संस्थामा ३४ हजार ६७९ जना ग्राहक सदस्य आबद्ध रहेका छन् भने १ हजार ७७६८ जना ऋणी रहेका छन् । संस्थाको यस अवधिसम्म लगानीमा रहेको कर्जा करिब २ अर्ब ७७ करोड ४ लाख रहेको छ भने ८३ करोड ७४ लाख ६६ हजार बचत संकलन गर्न सफल भएको छ ।