आईतवार, फाल्गुन ११,२०८१ 03:19:59
IME remit
  • आईतवार, फाल्गुन ११,२०८१ 03:19:59
IME remit
Global IME Bank Limited

Ground Zero : पाएको अंश छोराले सेयर बजारमा गुमाएपछि बाबु ब्रोकर हाउसमा, छोरा भने घर बेचेर लगानी थप्ने दाउमा

Hyundai Nepal
Ground Zero : पाएको अंश छोराले सेयर बजारमा गुमाएपछि बाबु ब्रोकर हाउसमा, छोरा भने घर बेचेर लगानी थप्ने दाउमा
Nabil Bank Limited

काठमाण्डौ । सधैं झै यो साताको पहिलो कारोबार दिन हामीले विभिन्न ब्रोकर हाउसमा पुगेर लगानीकर्ताहरुको विचार सुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दिएका छौं ।  

यो साता हामीले ज्ञानेश्वर र कालिकास्थान आसपासका ब्रोकर हाउसहरुमा पुगेर ग्राउण्ड लेभलका लगानीकर्ताको मनोविज्ञान बुझ्ने कोशिश गर्यौं ।  

बिहान ११ नबज्दै सबैभन्दा पहिले ज्ञानेश्वरस्थित सुमेरु सेक्युरिटिज(स्टक ब्रोकर नम्बर ३९) मा पुग्यौं । बजार खुलेदेखि नै बढ्न थालेको थियो ।  

लगानीकर्ताहरु केही ढिलो गरी ब्रोकर हाउसहरुमा आउने क्रम देखिन्थ्यो । साढे ११ बजेपछि एक लगानीकर्ता कालो झोला भिरेर र छत्रे टोपी लगाएर ब्रोकरहाउसमा छिरे । त्यसपछि सुरु भयो ब्रोकरहाउसमा लगानीकर्ताहरुको अनुभव र कथाव्यथाको चर्चा । 

Shivam Cement
CG Motors
Sagarmatha Cement

यस बेलासम्म बजार करिब १० अंकले बढेर पिङ खेल्दै थियो ।

सो ब्रोकरहाउसमा पछाडिको सिटमा एकजना झुस्स दारी पालेका युवा लगानीकर्ता थकित मुद्रा देखिन्थे । ती लगानीकर्ताले नजिकैको साथीलाई आफ्नो २ वर्षको सेयरबजार यात्राको तीतामीठा अनुभव सुनाउँदै थिए । ती लगानीकर्ताले भने, ‘हेर्नुस साथी हो, मेरो त यो २ बर्षको समयमा सेयरबजारमा लगानी गरेको ५० लाख रुपैयाँ स्वाहा भयो ।  

उनीसँगै बसेका साथीले सोधे, 'कसरी हुन्छ त्यत्रो पैसा स्वाहा ? तपाइँले बाहिर मोजमस्ती गरेर सकेको होला नि ?'

जवाफमा उनले अझै गम्भीर भएर भने,'होइन । तपाइँ पत्याउनुस वा नपत्याउनुस्, त्यति रकम मेरो यही सेयरबजारले खाइदियो ।'

आफ्नो व्यथाको उनले थप बेलिबिस्तार लगाए,'मेरो आफ्नो अंशबाट बाबुले ५० लाख जति दिएका थिए । त्यो पैसा मैले नेप्से २८ सय हुँदा सेयर बजारमा लगाइदिए । केही चाहिँ ब्याज पनि तिरेँ । तर अहिले मसँग केही पनि छैन । मैले केही पैसा नासा सेक्युरिटिज र केही यही ब्रोकरबाट लगानी गरेको थिएँ । यो ब्रोकरले बजार उच्च विन्दु हुँदा ५० लाखको लिमीट दिएको थियो, सबै किनियो । घटेर बेच्दा–बेच्दा अहिले सकियो । त्यसमा  ब्याज र खाना बस्नमा १० लाख जति खर्च गरियो होला । बाँकी सबै बजारले खाइदियो ।'  

पाँचथर घर बताउने ती लगानीकर्ताले भने-'बाबुले दिएको अंश हो । मैले आत्तिएर किनबेच गर्दा ठूलै नोक्सानी भयो । अब बुवा केही दिनमा ब्रोकर हाउसमा नै आउँदैछन् । तपाइँहरुले मेरो बुवालाई सम्झाइदिनु पर्यो । मैले भनेको बुवाले मान्नु भएन ।'

बजारको नशामा डूबेका उनले अगाडि थपे-'अझै हाम्रो फिदिममा घर छ । महिनाको २५ हजार घरभाडा पनि आउँछ । त्यो बेचेर काठमाण्डौमा जग्गा पनि किन्ने र केही पैसा सेयरमा लगानी गर्ने मेरो विचार छ । बुवा पर्सी काठमाण्डौ आउने भन्नुभएको छ । फेरि सेयर बजारमा लगानी थप्न बुवा मान्ने अवस्था छैन । साथीहरुले सहयोग गर्न पर्यो ।'  

उनीसँगै बसेका अर्का लगानीकर्ताले भने-'हेर्नुस्, यो सेयर बजारले धेरैलाई धेरै खालको चोट दिएको छ । हामीले पनि धेरैपटक अनेकौं चोट खाएका छौं । ती चोटहरुमा मल्हम लगाउँदै धैर्यताका साथ लगानी गरेकै कारण आज बजारमा टिक्न सकेका छौं । हामीले तपाईको बुवालाइ सम्झाउँला । तपाई पीर नलिनुस्, बरु यही बजारमा रमाउन सिक्नुस् । यहाँ सबै कमाउनै आएको हो, ढिलोचाँडो कमाइन्छ ।'

ती लगानीकर्ताले आफ्नो अनुभव सुनाउँदै भने, ‘मैले पनि प्रतिकित्ता ४ हजार ५ सय रुपैंयाँमा किनेको स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर बढेर ८ हजारसम्म पुग्यो । त्यो बेला बेच्न सकिँन, पछि १२ सयमा झरेपछि बेच्नुपर्ने अवस्था बन्यो । मेरो पनि सुरुका बर्षहरुमा डेढ करोडको लगानी ५० लाख रुपैयाँमा सीमित बनेको थियो । त्यसैले यो बजारमा कसैले पनि नगुमाई कसैले कमाउँदैन । तपाईले पनि गुमाउनुभयो, अब कमाउने पालो पनि आउँछ ।  

त्यहाँबाट हामी कालिकस्थानस्थित नेपाल स्टक हाउस(स्टक ब्रोकर नम्बर १४)मा पुग्यौं । बजार करिब २५ अंकले बढिसकेको थियो । यो ब्रोकरमा पनि लगानीकर्ताहरुको उपस्थिति राम्रै थियो । यहाँ हामीले केही समय बजारको अवस्थाबारे ब्रोकर सञ्चालकसँग पनि जिज्ञासा राख्यौं ।  

ब्रोकर सञ्चालकले गभर्नर र अर्थमन्त्रीको राम्रै ट्यूनिङ मिलेको ठानेका लगानीकर्ताको मनोबल क्रमशः बढ्न थालेको बताए । उनले भने,‘गत साता अर्थमन्त्रीलाई बधाई दिन अर्थ मन्त्रालयमा गभर्नर त ४ घण्टा नै प्रतिक्षामा बसे रे । उनलाई अर्थ मन्त्रालयका कर्मचारी जसरी बस्नुपर्ने बध्यता थिएन । यहीँबाट थाहा हुन्छ नि गभर्नर र अर्थमन्त्रीबीचको सम्बन्ध । दुवैले अब मिलेर काम गर्छन् । अलिकति नीतिगत लचकता अपनाए भने सेयर बजारलाई राम्रै हुन्छ ।'  

केही समयको बसाइँपछि हामी अनाममा रहेको प्रिमियर सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ३२)मा पुग्यौं । यो ब्रोकरमा पनि लगानीकर्ताहरुको राम्रै उपस्थिति थियो । लगानीकर्ताहरु अब बजारले गति लिनेमा ढुक्क देखिन्थे ।  

(नोट: ‘ग्राउण्ड जीरो’ बिजशालामा विगत केही वर्षदेखि प्रत्येक आइतबार वा साताको पहिलो कारोबार दिन प्रकाशन हुँदै आएको नियमित स्तम्भ हो । यसअन्तर्गत हामी ब्रोकरहाउसमा पुगेर लगानीकर्ताको मनोबल बुझ्ने कोशिश गर्छौ । त्यसक्रममा यो स्तम्भमा लगानीकर्ताले बोलेका, चर्चा गरेका, ठट्यौली गरेका लगायतका सबै विषय उनीहरुकै भाषामा प्रस्तुत गर्ने कोशिश गरिन्छ । यो स्तम्भमा व्यक्त लगानीकर्ताका विचार, ब्रोकरहाउसमा सुनिएका गफ तथा ठट्टा सत्य र तथ्यमा आधारित नहुन पनि सक्छन् । यसैका आधारमा सेयर किनबेचको निर्णय गर्नुहुँदैन ।)

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.