काठमाण्डौ । नेपालको झण्डै आधा जनसंख्या बीमाको दायरामा आएका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार चालु आवको ११ महिनासम्ममा ४७।९५ प्रतिशत जनसंख्या बीमाको दायरामा छन्, जुन यो हालसम्मको उच्च विन्दु हो ।
नेपाल बीमा प्राधिकरणले चालु आवको अन्त्यसम्म बीमाको दायरा ५० प्रतिशत जनसंख्यामा पुर्याउने लक्ष्य लिएको छ । प्राधिकरण करिब–करिब आफ्नो लक्ष्य नजिक पुगेको छ । तर यो आवको अन्त्यसम्म आधा जनसंख्या बीमाको दायरामा आउने सम्भावना न्यून देखिएको छ ।
प्राधिकरणका अनुसार गत आवको सोही अवधिसम्म बीमाको दायरा ४३.९५ प्रतिशत जनसंख्यामा मात्रै पुगेको छ । यसर्थमा एक वर्षमै बीमाको दायरा ९.१० प्रतिशतले बृद्धि भएको छ ।
बीमाको दायरामा आएको यो जनसंख्या प्रतिशत म्यादि, लघु म्यादि र वैदेशिक रोजगार जीवन बीमालेख सहितको हो । सो अवधिसम्म म्यादि, लघु म्यादि र वैदेशिक रोजगार जीवन बीमालेख बाहेक भने १६.९८ प्रतिशत जनसंख्यामा मात्रै बीमाको दायरा पुगेको छ ।
त्यस्तै, वैदेशिक रोजगार बीमालेख बाहेक भने ३९.७५ प्रतिशत जनसंख्यामा बीमाको दायरा पुगेको छ । यसर्थमा बीमाको दायरा बढाउन म्यादि, लघु म्यादि र वैदेशिक रोजगार बीमालेखले महत्वपूणै भूमिका खेलेको छ ।
प्राधिकरणका अनुसार जेठ मसान्तसम्म जीवन बीमा कम्पनीहरुमा सक्रिय बीमालेख संख्या १ करोड ५४ लाख ९८ हजार ७०१ रहेका छन् । जुन यो गत आवको सोही अवधिसम्मको तुलनामा १० प्रतिशत बढी हो । गत आवको सोही अवधिजम्म सक्रिय जीवन बीमालेख संख्या १ करोड ४० लाख ८९ हजार ७७७ रहेको थियो ।
त्यस्तै, कुल जारी जीवन बीमालेख संख्या पनि ३.१ प्रतिशतले बृद्धि भई ६१ लाख ८७ हजार ८२२ रहेका छन् ।
यता कुल निर्जीवन बीमालेख संख्या पनि ७.८७ प्रतिशतले बढेर २९ लाख २६ हजार ५२९ पुगेको छ । जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको जारी तथा सक्रिय बीमालेख संख्या बढ्दै गएकाले बीमाको दायरामा आएको जनसंख्या प्रतिशत बृद्धि भएको हो ।
नेपाल बीमा प्राधिकरणले बीमाको दायरा बढाउन विभिन्न निकायहरुसँग समन्वय गरी बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रमहरु गर्दै आइरहेको छ । प्राधिकरणको प्रदेश कार्यालयहरुले विशेष यस्ता खालका कार्यक्रम आयोजना गरी बीमाको दायरा बढाउन मुख्य भूमिका खेलिरहेका छन् ।
साथै बीमा कम्पनीहरुले पनि स्थानीय निकायहरुसँग समन्वय गरेर बीमा सम्बन्धि अन्तरक्रिया कार्यक्रम तथा बीमा साक्षरता कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेका छन् । जसकारण बीमाको दायरामा आएको जनसंख्या प्रतिशत बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।
बीमा कम्पनीहरुले सो अवधिसम्म झण्डै २ खर्ब बीमाशुल्क संकलन गरेका छन् । जीवन र निर्जीवन बीमकहरुले ११ महिनासम्म १ खर्ब ९५ अर्ब ४ करोड १६ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । जुन यो गत आवको तुलनामा १४.५१ प्रतिशत बढी हो ।
गत आवको सोही अवधिसम्म बीमा कम्पनीहरुले १ खर्ब ७० अर्ब ३२ करोड ७८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका थिए ।
सो अवधिसम्म जीवन बीमा कम्पनीहरुले मात्रै १ खर्ब ५५ अर्ब १५ करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन् भने निर्जीवन बीमा कम्पनीहरुले ३९ अर्ब ८८ करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन् । जीवन बीमा व्यवसाय १६ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा व्यवसाय ९.०६ प्रशितले बृद्धि भएको छ ।