काठमाण्डौ । दक्षिण कोरियाली हवाई कम्पनी कोरियन एयरले बोइङको १०३ वटा विमान खरिद गर्ने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना व्यापार साझेदारहरुलाई अमेरिकासँग बढी भन्दा बढी व्यापार गर्न दबाब दिएसँगै बोइङ र कोरियन एयरबीच ३६ बिलियन डलर मूल्य पर्ने १०३ वटा विमान खरिद गर्ने सम्झौता भएको हो ।
यो सम्झौता दक्षिण कारियाली राष्ट्रपति लि जेई म्युङले ट्रम्पलाई वासिङटनमा भेटेको केही घण्टापछि सम्पन्न भएको हो । दुवै देशका राष्ट्रपति अमेरिकाले गत जुलाईमा दक्षिण कोरियामाथि लगाएको १५ प्रतिशत ट्यारिफको विषयमा छलफल गर्न भेट गरेका थिए ।
कोरियन एयरले बोइङको ७८७, ७७७ र ७३७ प्यासेन्जर जेट विमान खरिद गर्ने दुवै कम्पनीद्वारा जारी गरिएको संयुक्त विज्ञप्तीमा उल्लेख गरिएको छ ।
कोरियन एयर एशियाना एयरलाइन्ससँग मर्ज भएको अवस्थामा बजारमा प्रतिष्पर्धि कायम रहन नयाँ जेट खरिदले सहयोग पुर्याउने कोरियन एयरका मालिक वाल्टन चाओले बताएका छन् ।
ट्रम्प र लि बीचको भेटघाटको क्रममा सामसुङ र हुन्डाई मोटर ग्रुपका पदाधिकारीहरु समेत सहभागी थिए ।
गत जुलाईमा जापानले पनि १०० वटा बोईङ विमान खरिद गर्ने सम्झौता गरेको थियो ।