काठमाण्डौ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल ९सिबिफिन०ले बैंक तथा वित्तीय संस्थाहरुलाई आफ्ना बैंकिङ सेवाहरु सहजरुपमा संचालन गर्ने गराउने कार्यमा सहयोग गरिदिन सबैमा आग्रह गरेको छ । सिबिफिनले आज एक विज्ञप्ती जारी गर्दै गलत मनसायसहित बैंक तथा वित्तीय संस्थामा क्षति पुर्याउने तत्वहरुसँग सजग हुँदै अर्थतन्त्रको आधारस्तम्भ र दिगो आर्थिक विकासको संवाहकको रुपमा रहेका सबल र जिम्मेवार बैंक तथा वित्तीय संस्थाहरुलाई आफ्ना बैंकिङ सेवाहरु सहज रुपमा संचालन गर्ने गराउने कार्यमा सहयोग गरिदिन सम्बन्धित सबैमा आग्रह गरेको हो ।
यसै क्रममा अकल्पनीय आक्रमण र क्षतिबाट विक्षिप्त बनेको निजी क्षेत्रलाई शान्ति र सुरक्षाको प्रत्याभूतिसहित मुलुकभित्रै लगानी गर्ने, पेशा, व्यवसाय एवं रोजगार गर्न पाउने उपयुक्त नीति एवं वातावरणको सृजना गरी समग्र निजी क्षेत्रमा आशा, ऊर्जा एवं उत्साह भर्नका लागि नवगठित नेपाल सरकारले कुनै कसर बाँकी नराख्नेमा सिबिफिन विश्वस्त रहेको जनाएको छ ।
‘सुशासनको प्रत्याभूतिका लागि हाम्रा कलिला युवाहरुको पछिल्लो पुस्ता “जेन–जी” अभियन्ताहरूको आह्वानमा भएको आन्दोलनको क्रममा उत्पन्न कठिन एवं भयावह अवस्थाले अन्तरिम सरकारको गठनसँगै शान्तिपूर्ण अवतरण पाएको छ र मुलुक इतिहासकै कहालीलाग्दो क्षणबाट विस्तारै सामान्य अवस्थातर्फ उन्मुख भइरहेको छ,’ विज्ञप्तीमा भनिएको छ ,‘यस आन्दोलनको क्रममा देखिएका दुखद् एवं त्रासदीपूर्ण घटनामा अमूल्य जीवन अर्पण गरेका होनहार युवाहरुप्रति उच्च सम्मानसहित कर्तव्य पालनाका क्रममा जीवन गुमाएका सुरक्षाकर्मी तथा दिवंगत सम्पूर्णमा भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछौँ । साथै, आफ्ना सन्ततीको वियोगमा शोकाकुल परिवारजनामा गहिरो समवेदना व्यक्त गर्दै सम्पूर्ण घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ ’
यस्तै आन्दोलनको क्रममा भएको मानवीय र निहीत स्वार्थप्रेरित आक्रमणबाट देशैभरी सार्वजनिक, सरकारी एवं निजी सम्पत्तिमा भएको अपुरणीय क्षतिप्रति सिबिफिनले गहिरो दुःख व्यक्त गरेको छ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                