काठमाण्डौ । सम्भवतः अर्को साताभित्रमा दोश्रो बजारमा बैंकिङ समूहको ब्लुचिप स्क्रीप्ट एनआइसी एशिया बैंकले लाभांश घोषणा गर्नसक्नेछ ।
बैंकका एक उच्च अधिकारीले बिजशालालाई शुक्रबार यस्तो जानकारी गराएका हुन् ।
ती अधिकारीका अनुसार अघिल्लो साताभन्दा अगाडि नै एनआइसी एशिया बैंकले आर्थिक वर्ष २०७९–८० को वासलात राष्ट्रबैंक पठाइसकेको छ । त्यसमा राष्ट्रबैंकका उच्च अधिकारीहरुले आवश्यक अध्ययन गरिरहेका छन् ।
आफूहरुले एनआइसी एशिया बैंकको वासलातको अध्ययन लगभग सकाएको केन्द्रीय बैंकका एक अधिकारीले जानकारी दिए । ‘सम्भवतः अर्को सातासम्ममा हामी बैंकको वासलात स्वीकृत गरी पठाउनेछौं ।’ ती अधिकारीले बिजशालासँग भने ।
केन्द्रीय बैंकबाट वासलात स्वीकृत भएर आइसकेपछि सोहीआधारमा एनआइसी एशिया बैंकको सञ्चालक समितिको बैठक बसी लाभांश घोषणा गर्नसक्नेछ । घोषित लाभांश आगामी साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले पाउनेछन् ।
एनआइसी एशिया बैंकले २ आर्थिक वर्षदेखि लाभांश वितरण गर्न पाएको छैन । पूँजीकोष टाइट भएका कारण गत वर्ष राष्ट्रबैंकले एनआइसी एशियालाई लाभांश वितरणमा रोक लगाएको थियो ।
दुई वर्षदेखिको लाभांश पाउने आशामा सो बैंकको सेयर लामो समयदेखि होल्ड गरेर बस्ने लगानीकर्ताहरु लाखौं छन् ।
एनआइसी एशियाका अधिकारीहरुले लगानीकर्ताहरुले अब धेरै प्रतिक्षा गर्न नपर्ने बताउँछन् । ‘हामीले यसपटक लाभांश वितरण गर्न पाउँछौं ।’ ती अधिकारी भने–‘तर कति लाभांश आउँछ भन्ने कुरा राष्ट्रबैंकले कुन हिसाबमा वासलात स्वीकृत गर्छ भन्ने कुराले निक्र्यौल गर्छ ।’
बैंकको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरणलाई आधार मान्ने हो भने ३० प्रतिशतभन्दा माथिको लाभांश क्षमता देखिन्छ ।
बैंकको पूँजीकोष टाइट भएका कारण एनआइसी एशिया बैंकले पूँजी नबढाए थप व्यवसाय विस्तार गर्नसक्ने अवस्था रहन्न । त्यसकारण यो बैंकलाई जति लाभांश वितरणको स्वीकृति प्राप्त हुन्छ, त्यसमा बोनस सेयरलाई प्राथमिकता दिनुपर्ने बाध्यता छ ।
‘हामी बोनस सेयर जारी गरेर पूँजी बढाउने सोंचमा छौं ।’ बैंकका ती उच्च अधिकारीले भने–‘हुन त हामीले २०–३० प्रतिशत राइट सेयर पनि जारी गर्न दिनुपर्छ भनेर लविङ गरेको लामो समय भयो । यसमा पनि पछिल्लो समय केही सकारात्मक विकास भएको पाउँछौं।’
एनआइसी एशिया बैंकको नेतृत्व कुनै वाणिज्य बैंकसँग मर्जर गरेर भन्दा पनि आफैं पूँजी बढाएर ठूलो वित्तीय संस्था बन्ने रणनीतिमा छ । यसले समेत अब घोषणा हुने लाभांशमा बोनस सेयर बढी प्राथमिकतामा पर्ने प्रष्ट हुन्छ ।
दोश्रो बजारमा एनआइसी एशिया बैंकको सेयरमूल्य प्रतिकित्ता ७७५ रुपैयाँ रहेको छ । वाणिज्य बैंकमध्येकै सबैभन्दा बढी मूल्य एनआइसी एशियाको रहेको छ । दुई वर्षको बोनस एकमुष्ट पाइने आशामा समेत लगानीकर्ताले यो कम्पनीको सेयर होल्ड गरेर बस्दा मूल्य पनि उच्च बन्न पुगेको हो ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                