काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–काठमाण्डौ सडक खण्डको घोप्टेभीर क्षेत्रमा दैनिक पाँच घण्टा सवारी आवागमन बन्द हुने भएको छ।
पहिरोको उच्च जोखिम रहेको उक्त क्षेत्रमा सडक सुरक्षासम्बन्धी काम गर्न शनिबारदेखि निश्चित समयका लागि सवारीसाधन सञ्चालनमा रोक लगाउन लागिएको हो।
जिल्ला प्रशासन कार्यालय चितवनले शुक्रबार सूचना जारी गर्दै मंसिर ५ गते शनिबारदेखि अर्को सूचना नभएसम्म दैनिक बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म सडक बन्द रहने जानकारी दिएको छ।
घोप्टेभीर क्षेत्रमा सडक माथिबाट निरन्तर ढुङ्गा र माटो खस्ने क्रम जारी रहेकाले सवारीसाधन तथा यात्रुको सुरक्षामा जोखिम बढेको प्रशासनले जनाएको छ।
उक्त जोखिम न्यूनीकरण गर्न सडकभन्दा माथिल्लो भागमा रहेका अस्थिर ढुङ्गा र माटो काटेर हटाउने काम गर्न लागिएको हो।
सडकको जोखिमयुक्त भागलाई सुरक्षित बनाउन काम भइरहेका बेला दुर्घटनाको सम्भावना रहने भएकाले दैनिक पाँच घण्टा सवारी आवागमन रोक्ने निर्णय गरिएको प्रशासनको भनाइ छ।
यस निर्णयले मुग्लिन हुँदै काठमाण्डौ आवतजावत गर्ने यात्रुवाहक तथा मालवाहक सवारीसाधन प्रभावित हुनेछन्।
प्रशासनले अर्को सूचना जारी नभएसम्म निर्धारित समयमा उक्त सडक खण्डमा सवारी आवागमन बन्द रहने स्पष्ट पारेको छ।
त्यसैले यो सडक प्रयोग गर्ने यात्रु तथा सवारी चालकलाई बन्द हुने समयलाई ध्यानमा राखेर यात्रा योजना बनाउनुपर्ने भएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।