काठमाण्डौ । धुलिखेलको उकालोमा फसेकी सिन्धुपाल्चोककी ४५ वर्षीया राधिका तामाङको आँखाबाट आँसु बगिरहेका थिए। अविरल वर्षाले अरनिको राजमार्ग बन्द हुँदा उनको परिवारसहितको बस दिनभर सडकमै अलपत्र प¥यो। “बच्चाहरू भोकाएका थिए, पानीसमेत थिएन,” उनी सम्झिन्छिन्। अपरान्ह ४ बजेतिर अचानक उनलाई खबर गरियो । होटल विहानीले निःशुल्क खाना र ओतको व्यवस्था गरेको सुनेपछि उनी भावविह्वल भइन ।
यो कथा एउटी राधिकाको मात्रै होइन, भारी वर्षा र त्यसपछि आएको बाढीपहिरोका कारण सडकमै घण्टौ अलपत्र परेका असंख्य यात्रुहरूको हो। सडक र पहिरोले थुनिएको यात्रामा, यो वर्षाको कालो बादलमुनि जन्मिएको छ एक उज्यालो कथा— एकताको कथा, जहाँ जेनजी आन्दोलनपछिको सरकारको सक्रियताले निजी क्षेत्रलाई जागृत बनायो।
सरकार जागेपछि जगायो आत्मीयता
मौसम पूर्वानुमान महाशाखाले चेतावनी दिँदै सरकारलाई सतर्क गरायो। यसपटक सरकार विगतमा जस्तो बेखबर बनेन्,तत्काल आफ्ना सबै संयन्त्र परिचालन गर्यो। यही सक्रियताले व्यवसायी र होटल सञ्चालकदेखि पर्यटन संघ–संस्थासम्मलाई प्रेरित गर्यो।
“सरकार जाग्यो भने हामी कसरी काँधमा काँध मिलाउँछौं भन्ने प्रमाणित भयो,” चितवन होटल व्यवसायी संघका अध्यक्ष लोकनाथ भट्टले टेलिफोनमा भनेका छन् ।
यो कुनै सामान्य सहयोग मात्र होइन, यो विपद्को बीचमा मानवीयताको नयाँ उचाइ थियो।
धुलिखेल: आतिथ्यको उज्यालो
धुलिखेलको होटल विहानीका सञ्चालक राजाराम गौतमले फेसबुकमा एउटा साधारण वाक्य लेखे-“अलपत्र हुनुहुन्छ ? यहाँ आउनुहोस्,निःशुल्क खाना र ओत छ।”
यो सन्देश निमेषभरमै भाइरल बन्यो। “मलाई लाग्यो, वर्षाले कसैको भोक खोस्न नसकोस् । अलपत्र परेकाले ओत पाउनुपर्छ र भोको पेट रहनुहुन्न भन्ने लाग्यो र मैले सकेजति सहयोग गरेको हुँ ।"- गौतमले भने ।
आजसम्म २०–२५ जना यात्रुहरूले उनको ढोकामा आएर चिया–खाजादेखि रातभरको ओत पाए। “एक दम्पतीले हात जोडेर भने, ‘तपाईंको हातले हाम्रो जीवन बचायो।’ त्यो सुन्दा लाग्यो— नाफाभन्दा ठूलो कमाइ भनेको यस्तै हो,” गौतमको स्वर नम्र हुन्छ।
यस्तै बनेपाको तिमल्सिना स्वीट्स एण्ड भेग स्टेशनका मुक्ति तिमल्सिनाले असोज २० गतेसम्म निःशुल्क खाना–नास्ता खुवाउने घोषणा गरे ।
“हामीले यात्रुहरूको लागि मात्र भान्सा खोल्यौं,” उनी भन्छन् ।
त्यहाँ खाना खाएका एक यात्रुले भने, “झरीले बाटो रोक्यो, तर तपाईंको हातले हामीलाई बाटो देखायो।”
नजिकैको हिमालयन सनराइज होटलका अनिस तिमल्सिनाले पनि निःशुल्क बसोबास उपलब्ध गराए। उनी भन्छन्-“धनी भएर होइन, मान्छे भएर यो कर्तव्य गरेको हुँ । विपद्ले हामीलाई एउटै डोरीमा बाँध्छ।”
चितवनः व्यवसायीभन्दा पहिले मानव
चितवनका करिब ३०० होटलहरूले यात्रुहरूको लागि अभूतपूर्व निर्णय गरे, ७५ प्रतिशत छुट।
प्रमुख जिल्ला अधिकारी गणेश अर्याल भन्छन्ः “कम्तीमा ४०० भन्दा बढी यात्रु अलपत्र छन्। यो छुटले उनीहरूलाई सुरक्षा दिन्छ।”
सौराहामा भने संघीय होटल संघ चितवनले थप सहयोग गरेको छ। उपाध्यक्ष सुवासचन्द्र गौतमले व्यक्तिगत रूपमा मात्र ४० जनालाई तीन दिनसम्म निःशुल्क बसोबास दिने घोषणा गरेका छन्।
“एक वृद्ध यात्रुले मलाई भने- ‘यो छुटले मलाई मेरो घर सम्झायो।’ हामी व्यवसायी हौं, तर संकटमा पहिले हामी मानिस हौं,” उनको स्वर गर्विलो सुनिन्थ्यो।
पर्यटन क्षेत्रको साथ
नेपाल वायुसेवा सञ्चालक संघले ३० हेलिकप्टर निःशुल्क उद्धारका लागि तयारी अवस्थामा राखेको अध्यक्ष मनोज कार्की बताउँछन् ।
नेपाल पर्वतारोहण संघ, प्रशिक्षित गाइडहरूको टोली जोखिम क्षेत्रमा उद्धारमा खटिएको छ, सरकारी टोलीसँगै । अध्यक्ष फुर गेल्जे शेर्पा भन्छन्-“वर्षा अझै जारी छ, हामी हाई अलर्टमा बसेका छौं।”
नेपाल राफ्टिङ एशोसिएसनले त नदीजन्य विपद्मा उद्धारका लागि राफ्टिङ टोली नै सक्रिय बनाएको छ । एशोसिएसनका अध्यक्ष कमलबहादुर ठकुरी भन्छन् -“तटीय क्षेत्रमा सतर्क रहनुहोस्, उद्धारका लागि हामी २४ घण्टा नै तयार छौं।” एशोसिएसनको टोली सरकारी उद्धारकर्ताहरुसँगै शनिवार साँझदेखि नै प्रभावित तथा जोखिम क्षेत्रमा खटिएको छ ।
एकताको पाठ
यी सबै कथाहरूले एउटा गहिरो सत्य देखाउँछन्: विपद्ले मानिसलाई कमजोर मात्र बनाउँदैन, बरु एकजुट बनाउँछ।
नागरिकहरूले सामाजिक सञ्जालमा लेखेका छन्,“सरकार पहिलोपटक सक्रिय देखियो, र नागरिक स्तरबाट समेत स्वःस्फूर्त हातमा हात मिलाउने काम हुँदैछ, यो खुशीको कुरा हो । आपतमा सरकारले अभिभावकको महसुस गराएपछि नागरिकहरुले पनि सकेको सहयोग स्वःस्फूर्त रुपमा गर्नुपर्छ ।"
राधिका तामाङ जस्ता सयौँ यात्रुहरू सुरक्षित भइसकेका छन् । तर वर्षा अझै जारी छ, जोखिम टरेको छैन ।
“सरकार र नागरिकहरुबीचको यो एकता दीर्घकालसम्म रहोस्,” धुलिखेलका गौतम प्रार्थना गर्छन्।
सन्देश स्पष्ट छः कालो बादलपछि इन्द्रेणी आउँछ, यदि हामीले हातेमालो गर्यौं भने।