काठमाण्डौ । हिन्दुहरूको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु भएको छ । कात्तिक कृष्ण त्रयोदशीदेखि पाँच दिनसम्म मनाइने यो पर्वको पहिलो दिन आज काग तिहार मनाइँदै छ ।
कागलाई यमराजको सन्देशवाहकका रूपमा लिने गरिन्छ । सधैँ शुभ समाचार मात्र ल्यायोस् भन्दै कागलाई यस दिन मिठा खानेकुरा दिने प्रचलन छ । यसै दिनदेखि यमराज पनि आफ्नी बहिनी यमुनाको घरमा पाहुना लागेर बस्ने विश्वास रहेकाले यसलाई यमपञ्चक पनि भनिन्छ । आजकै दिन आयुर्वेद चिकित्साका पिता धनवन्तरीको स्मरण गर्दै जयन्ती पनि मनाइन्छ ।
कागतिहारका दिन कागलाई खानेकुरा दिएर मात्रै खाने चलन छ । कागको पुजा गर्नाले माता लक्ष्मीको आशिर्वाद पाएर धनधान्यले पूर्ण हुने धार्मिक मान्यता छ ।
यमपञ्चकको दोस्रो दिन कुकुरको पुजा हुन्छ । तेस्रो दिन बिहान गाई पुजा र साँझ लक्ष्मी पुजा हुने गर्दछ । यमपञ्चकको चौथो दिन बिहान गोवद्र्धन पुजा हुन्छ । यो दिनलाई हलो तिहार पनि भन्ने गरिन्छ । सोही दिन नेपालका नेवार समुदायले म्हः पुजा अर्थात आफ्नै पुजा गर्दछन् ।
तिहारको पाँचौ तथा अन्तिम दिन भाइटिका लगाइन्छ ।