काठमाण्डौ । प्रभू ग्रुपका अध्यक्ष तथा एमालेका निवर्तमान सांसद देवीप्रसाद भट्टचन तारेखमा रिहा भएका छन् ।
उनलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको मुद्दामा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले हिरासतमा राख्नु नपर्ने ठहर गरेपछि तारेखमा रिहा भएका हुन् ।
सोमबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले म्याद थपका लागि भट्टचनलाई कार्यालयमा पेस गरेपछि सरकारी वकिलले तारेखमा राखेर छोड्ने निर्देशन दिएसँगै उनी रिहा भएका हुन् ।
जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता रामहरी शर्माले हाल उपलब्ध प्रमाण र अनुसन्धानको अवस्थालाई हेर्दा हिरासतमा राख्ने आधार नदेखिएको भन्दै तारेखमा राखेर अनुसन्धान अगाडि बढाउन प्रहरीले निर्देशन दिएका थिए ।
सीआईबीले गत कात्तिक ११ गते ललितपुरको गोदावारी नगरपालिका क्षेत्रबाट भट्टचनलाई नियन्त्रणमा लिएको थियो ।
प्रारम्भिक अनुसन्धानमा उनलाई कुनै गम्भीर आर्थिक अनियमितता वा आपराधिक गतिविधिसँग जोडिएको आशंका गरिएको भए पनि सरकारी वकिल कार्यालयले उपलब्ध प्रमाण पर्याप्त नभएको निष्कर्ष निकालेको बुझिएको छ ।
तारेखमा रिहा भए पनि अनुसन्धान भने जारी रहने र आवश्यक परे पुनः बोलाउन सकिने प्रहरी स्रोतले जनाएको छ ।

