काठमाण्डौ । हजारौं चिनियाँ पेन्सनर्सको पैसाले अर्बौंको क्रिप्टोकरेन्सी किन्ने एक महिलालाई बेलायतमा ११ वर्ष आठ महिनाको जेल सजाय सुनाइएको छ । यी महिलाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो ।
चीनबाट भागेपछि यी महिला उत्तरी लन्डनको ह्याम्पस्टेडको महलमा बस्न थालेकी थिइन् । एक वर्षपछि महानगरीय पुलिसले त्यहाँ छापा मार्यो र संसारको सबैभन्दा ठूलो क्रिप्टो बरामद गरेको थियो।
उनको कम्पनीमा चीनका एक लाखभन्दा बढी मानिसले आफ्नो पैसा लगानी गरेका थिए । उनले आफूले उच्च प्रविधियुक्त स्वास्थ्य उत्पादन विकास गरिरहेको र क्रिप्टोकरेन्सी माईनिङ गरिरहेको दाबी गरेकी थिइन्। उनले वास्तवमा रकम हिनामिना गरेको प्रहरीले जनाएको छ ।
अब यी महिलाको कम्पनीमा पैसा लगानी गर्ने मानिसहरूलाई आशा छ कि बेलायती अधिकारीहरूले उनीहरूलाई उनीहरूको पैसा फिर्ता गर्न सक्षम हुनेछन्। बेलायती कानून अनुसार कसैले दाबी नगरेको सम्पत्ति सरकारको खातामा जान्छ । जसका कारण कतिपयले यस लूटबाट सरकारी खजानालाई फाइदा हुने अनुमान गरेका छन् ।
सन् २०१७ मा जब चीनको प्रहरीले ४७ वर्षीया चियान चिमिनलाई अनुसन्धान गर्न थालेपछि उनी नक्कली राहदानी मार्फत बेलायत पुगेको थाहा भयो । लन्डन पुगेपछि चियान ह्याम्पस्टेड हेथ क्षेत्रको महलमा बस्न थालिन्। जसको भाडा मासिक १७ हजार पाउण्ड थियो । यो भाडा बिटक्वाइनबाट भएको आम्दानीबाट भुक्तानी गरिएको थियो।
चियानले आफूलाई लन्डनमा हीरा र प्राचीन वस्तुहरूको धनी उत्तराधिकारीको रूपमा वर्णन गरेकी थिइन्। उनले पूर्व डेलिभरी कर्मचारीलाई काममा लगाइन् । उनीहरुले क्रिप्टोकरेन्सीलाई नगद वा सम्पत्तिमा रूपान्तरण गर्न चियानलाई मद्दत गर्थे।
उनका सहायक वेन जियानलाई गत वर्ष मनी लान्ड्रिङको आरोपमा छ वर्षको जेल सजाय सुनाइएको थियो। उनले आफ्नो सुनुवाइका क्रममा चियानले आफ्नो अधिकांश समय ओछ्यानमा सुतेर, गेमिङ र अनलाइन सपिङमा बिताउने गरेको बताएका थिए ।
तर चियानको डायरीका अनुसार उनी ६ वर्षे योजना तयार गरिरहेकी थिइन् । अन्तर्राष्ट्रिय बैंक स्थापना र स्विडेनी दरबार किन्नुका साथै अन्य धेरै योजनाको जानकारी पनि उनको नोटमा भेटिएको थियो ।
उनको सन् २०२२ सम्म लिबरल्याण्डको रानी बन्ने ठूलो लक्ष्य थियो। यो क्रोएसिया र सर्बियाको सिमानामा अवस्थित एउटा अपरिचित सानो देश हो ।

