काठमाण्डौ । युक्रेन र अमेरिकाले जेनेभामा भएको वार्तापछि जारी गरेको संयुक्त विज्ञप्तिमा रुस–युक्रेन युद्ध अन्त्यका लागि ‘अपडेट गरिएको शान्ति योजना’बारे वार्ता भएको छ । दुवै पक्षले यसलाई ‘अपडेट र रिभाइज्ड फ्रेमवर्क डकुमेन्ट’ भनेका छन्।
आइतबार अमेरिका, जर्मनी, फ्रान्स, बेलायत र युक्रेनका प्रतिनिधिहरुबीच वार्ता भएको थियो । यसअघि अमेरिकाले रुसको पक्षमा शान्ति योजना प्रस्ताव गरेको थियो ।
फाइनान्सियल टाइम्स पत्रिकाले एक प्रतिनिधिलाई उद्धृत गर्दै नयाँ योजनामा समावेश गरिएका १९ बुँदा प्रारम्भिक योजनाबाट लिइएको जनाएको छ । नयाँ अपडेट गरिएको शान्ति योजनाको बारेमा धेरै जानकारी नआए पनि समाचार एजेन्सी रोयटर्सका अनुसार पश्चिमी देशहरूले युक्रेनमा स्थायी रूपमा सेना तैनाथ गर्न नसक्ने भनिएको छ तर त्यसमा पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छैन ।
योजना अनुसार डोनबास क्षेत्र रसियालाई सित्तैमा नदिने र युक्रेनले कब्जा गरेको क्षेत्र फिर्ता लिन कूटनीतिक मार्ग अपनाउन सक्नेछ ।
युद्ध अपराधका लागि पूर्ण माफी पनि हटाइएको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यी वार्ताका सम्बन्धमा ‘धेरै प्रगति’ भएको बताएका छन् ।

