काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले इलामका बाढीपहिरो प्रभावितका लागि न्यानो कपडा हस्तान्तरण गरेको छ । मंसिर १५ गते आयोजित बेग्ला बेग्लै कार्यक्रममा इलामको सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राई र इलाम नगरपालिकाका मेयर केदार थापालाई न्यानो कपडा हस्तान्तरण गरिएको हो ।
दुबै कार्यक्रममा सांग्रिला डेभलपमेन्ट बैंकको मार्केटिङ विभाग प्रमुख अर्पणा बज्राचार्यले न्यानो कपडा हस्तान्तरण गरे । सूर्योदय नगरपालिकाका बाढी पहिरो प्रभावितका लागि बैंकका तर्फबाट ३५० वटा नयाँ ज्याकेट र दाताहरूबाट संकलित सात बोरा न्यानो कपडा तथा इलाम नगरपालिकाका बाढीपहिरो प्रभावितका लागि बैंकका तर्फबाट १७५ वटा नयाँ ज्याकेट र दाताहरूबाट संकलित पाँच बोरा न्यानो कपडा हस्तान्तरण गरिएको हो ।
सांग्रिला डेभलपमेन्ट बैंकको स्थापना दिवसको अवसरमा इलामका बाढीपहिरो प्रभावितका लागि न्यानो कपडा प्रदान गर्ने घोषणा गरिए अनुसार न्यानो कपडा हस्तान्तरण गरिएको हो ।
आम नागरिकको प्रगाढ विश्वास र भरोसाले गर्दा साग्रिला डेभलपमेन्ट बैंकले हाल १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रवाह गर्दै आएको छ ।

