काठमाण्डौ । थाइल्यान्ड र क्याम्बोडियाबीच लामो समयदेखि चल्दै आएको सीमा विवाद फेरि उग्र बनेपछि थाइल्यान्डले सोमबार क्याम्बोडियाका केही सैन्य लक्ष्यहरूमा हवाई आक्रमण सुरु गरेको जनाएको छ।
थाई सेनाका अनुसार, सिमानामा भएको झडपमा कम्तीमा एक थाई सैनिक मृत्यु भएको र चार जना घाइते भएपछि प्रतिक्रिया स्वरूप हवाई कारबाही सञ्चालन गरिएको हो। थाइल्यान्डले क्याम्बोडियाली सेनाबाट गोली प्रहार भएको दाबी गरेको छ।
तर, क्याम्बोडियाले थाइल्यान्डको दाबी अस्वीकार गर्दै आफ्नो पक्षबाट पहिलो गोली नचलेको र थाई पक्षबाट आक्रमण भए पनि संयम अपनाएर प्रत्युत्तर नदिएको दाबी गरेको छ। क्याम्बोडियाले थाई हवाई आक्रमणलाई अविवेकी सैन्य उक्साहट भन्दै कडा शब्दमा आलोचना गरेको छ।
दुवै मुलुकबीचको ८१७ किमि लामो सीमा क्षेत्र दशकौँदेखि विवादित रहँदै आएको छ। यसै वर्ष जुलाईमा भएको उग्र भिडन्तमा ४० भन्दा बढीको मृत्यु भएको थियो, जसपछि दुवैले युद्धविराममा सहमति जनाएका थिए र अक्टोबरमा शान्ति घोषणापत्रमा हस्ताक्षर गरेका थिए।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।