बिहीबार, श्रावण १४,२०८३ 05:27:39
Bizshala
  • बिहीबार, श्रावण १४,२०८३ 05:27:39
Bizshala
Global IME Bank Limited

अस्ट्रेलियामा १६ वर्षमुनिका निम्ति सामाजिक सञ्जालमा आजदेखि प्रतिबन्ध

अस्ट्रेलियामा १६ वर्षमुनिका निम्ति सामाजिक सञ्जालमा आजदेखि प्रतिबन्ध
New Office

काठमाण्डौ । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थनी अल्बानेजीले बुधबारदेखि देशभर लागू हुन लागेको सामाजिक सञ्जाल प्रतिबन्धलाई “देशको भविष्यका लागि महत्वपूर्ण निर्णय” भन्दै आफू यसका कारण गर्वित भएको बताएका छन्।

१६ वर्षभन्दा कम उमेरका बालबालिका तथा किशोर-किशोरीलाई सामाजिक सञ्जाल प्रयोग गर्न नदिने निर्णय आजदेखि कार्यान्वयनमा प्रवेश गर्दैछ। यससँगै फेसबुक, इन्स्टाग्राम, थ्रेड्स, एक्स, स्न्यापच्याट, टिकटक, ट्विच, किक, रेडिट र युट्युब्लगायत सबै प्रमुख प्लेटफर्मले नयाँ कानुन अनुरूप काम गर्नुपर्नेछ।

सरकारले यो नियम बालबालिकालाई अनलाइनमा फैलने हानिकारक सामग्री, दुव्र्यवहार र जोखिमबाट जोगाउने उद्देश्यले ल्याइएको जनाएको छ। तर आलोचकहरूले भने यस्तो प्रतिबन्धबाट किशोरहरू अझ अनियन्त्रित र असुरक्षित इन्टरनेट प्लेटफर्मतर्फ धकेलिने चेतावनी दिएका छन्।

कसरी लागू हुनेछ ?

नयाँ कानुनले प्लेटफर्महरूलाई कडाइका साथ उत्तरदायी बनाउने व्यवस्था गरेको छ। प्रतिबन्धको उल्लङ्घन गरेमा बालबालिका वा अभिभावकलाई होइन, सामाजिक सञ्जाल कम्पनीहरूलाई सवा तीन करोड अमेरिकी डलरसम्म जरिवाना लगाइनेछ।

सिड्नीस्थित पत्रकार साइमन एट्किन्सनका अनुसार, यो नीति व्यवहारमै कसरी कार्यान्वयन हुन्छ भन्ने प्रश्नमा धेरै चासो छ। विशेषज्ञहरूले बालबालिकाले उमेर प्रमाणीकरण प्रणाली छलेर वा झनै असुरक्षित वैकल्पिक प्लेटफर्मतर्फ मोडिने जोखिम देखेका छन्।

प्रधानमन्त्री अल्बानेजीले पनि पहिलो दिनमै पूर्ण सफलताको अपेक्षा नराखिएको स्वीकार गर्दै भने, “यो कदम नै सफलता हो। हामी यसबारे खुलेर कुरा गरिरहेका छौँ, त्यही पनि सफलता हो। यो तुरुन्तै पूर्ण सफल नहुन सक्छ, तर हामी प्रयास जारी राख्नेछौँ।”

उनका अनुसार, यो नीतिले बालबालिकालाई आफ्नो ‘बाल्यकाल’ सुरक्षित रूपले जिउन मद्दत गर्नेछ भने अभिभावकको मन शान्त बनाउनेछ।

‘विश्वले अस्ट्रेलियालाई पछ्याउनेछ’

अस्ट्रेलियाकी ई–सेफ्टी कमिश्नर जुली इन्मान ग्रान्टले नयाँ नियम कार्यान्वयन गर्न प्रविधि कम्पनीहरूसँग पर्याप्त क्षमता रहेको दाबी गर्दै भोलिदेखि नै निगरानी सुरु गर्ने बताइन्।

उनले भनिन्,“बालबालिकाले नियम तोडेकोबारे समाचार आइरहन्छ। तर अस्ट्रेलिया आफ्नो निर्णयबाट पछि हट्दैन। विश्वले पनि एक दिन यो बाटो पछ्याउनेछ-जस्तै तम्बाकू प्याकेजिङ र हतियारसम्बन्धी सुधारमा हाम्रो नेतृत्व पछि अन्य देशले अनुकरण गरे।”

ग्रान्टका अनुसार, १० प्रमुख सामाजिक सञ्जाल प्ल्याटफर्महरूलाई भोलिदेखि नै सूचना पठाइनेछ र क्रिसमसअघि नै पालना स्थिति जनतालाई सार्वजनिक गरिनेछ।

कम्पनीहरूको प्रतिक्रिया

कतिपय प्रविधि कम्पनीहरूले भने सरकार अत्यधिक हस्तक्षेप गर्दैछ भन्दै आलोचना गरेका छन्। उनीहरूका अनुसार, बालबालिकाको अनलाइन सुरक्षाका लागि अन्य वैकल्पिक र प्रभावकारी उपायहरू पनि छन्।

किशोर-किशोरीहरूले पनि आफ्नो प्रतिक्रिया दिँदै, सरकारले कम्पनीहरूलाई प्लेटफर्म सफा र सुरक्षित बनाउनेतर्फ ध्यान दिनुपर्ने र बालबालिकालाई अनलाइन जोखिमबारे शिक्षा दिने कुरामा जोड दिनुपर्ने सुझाव दिएका छन्।

१० मध्ये नौ प्ल्याटफर्मले नयाँ नियम पालना गर्ने प्रतिबद्धता पहिले नै जनाइसकेका छन्। एक्स (पूर्व ट्विटर) ले भने नियम लागू हुनुभन्दा केही घण्टा अगाडि मात्रै आफ्नो सहमति सार्वजनिक गर्‍यो। कम्पनीका मालिक इलोन मस्कले यस प्रतिबन्धको खुलेर आलोचना गरेका थिए।

एक्सले विज्ञप्तिमा भनेको छ- “यो हाम्रो चाहना होइन, अस्ट्रेलियाको कानुनी बाध्यता हो।”

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.