काठमाण्डौ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड(सलिको)ले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले २९ औं वार्षिक साधारण सभा डाकेको हो ।
बैठकले पुस २९ गते काठमाण्डौको कालिकास्थानमा रहेको अमृतभोगमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभामा गत आर्थिक वर्षका लागि प्रस्तावित १५ प्रतिशत नगद लाभांश(करसहित) वितरणको प्रस्ताव पारित गरिनेछ ।
सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षणको प्रतिवेदनसहित वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्ने र चालु आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले पुस २० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस १९ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।

