काठमाण्डौ । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा आह्वान गरेको छ । बैठकले संस्थाको १४ औं वार्षिक साधारण सभा आगामी पुस २८ गते काठमाण्डौको त्रिपुरेश्वरमा रहेको बोगनभिल्ला इभेन्ट्समा बिहान ११ बजेदेखि आयोजना गर्ने निर्णय गरेको छ ।
सभामा गत आवका लागि प्रस्तावित ६.६५ प्रतिशत बोनस सेयर र ०.३५ प्रतिशत नगद लाभांश गरी कुल ७ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।
यस्तै संस्थाको नियमावलीमा आवश्यक संशोधन गर्न नियमनकारी निकायबाट कुनै निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने र अन्य लघुवित्तलाई गाभ्ने÷गाभिने तथा प्राप्ति गर्ने सम्बन्धमा सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण, इक्विटीमा भएको परिवर्तन सम्बन्धी विवरण सहित सम्बन्धित अनुसुचीहरु उपर छलफल गरी पारित गर्ने, आव २०८२/८३ को कारोबारको लेखापरीक्षण गर्नको लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने र सर्वसाधारण सेयरधनीका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्तावहरु पारित गरिनेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि संस्थाले पुस १८ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।

