काठमाण्डौ । भन्सार मूल्याङ्कन प्रक्रियालाई पारदर्शी, सरल र विश्वसनीय बनाउने उद्देश्यले झापाको काँकडभिट्टास्थित मेची भन्सार कार्यालयमा अनलाइन भन्सार मूल्याङ्कन सफ्टवेयर प्रणाली परीक्षणका रूपमा सञ्चालनमा ल्याइएको छ।
नयाँ प्रणालीअन्तर्गत सन्दर्भ मूल्यसूचीको प्रयोग हटाइँदै कारोबार मूल्यलाई आधार मानेर वस्तुको वास्तविक मूल्य निर्धारण गरिनेछ। यसले भन्सार प्रक्रियामा देखिँदै आएका अस्पष्टता र विवाद न्यूनीकरण हुने जनाइएको छ ।
मेची भन्सारसहित देशभरका आठवटा भन्सार कार्यालयमा यो प्रणाली परीक्षण चरणमा लागू गरिएको हो। झापाका मेची र भद्रपुर भन्सार कार्यालयमा भने पुस महिनाको दोस्रो सातादेखि प्रणाली कार्यान्वयनमा आएको छ।
वैध व्यापारलाई प्रोत्साहन गर्ने, भन्सार मूल्याङ्कनमा एकरूपता ल्याउने तथा राजस्व चुहावट नियन्त्रण गर्न यो प्रणाली प्रभावकारी हुने विश्वास भन्सार प्रशासनले लिएको छ।
विश्व व्यापार सङ्गठन (डब्लुटीओ) को सिफारिसअनुसार नेपालले अनलाइन मूल्याङ्कन प्रणाली अपनाएको हो।

