काठमाण्डौ । अटो व्यवसायीहरूको छाता संगठन अटोमोबाइल्स एसोसिएसन अफ नेपाल(नाडा)को अध्यक्षमा सुरेन्द्रकुमार उप्रेती निर्विरोध निर्वाचित भएका छन्।
नाडाको आगामी पुस २५ गते हुने निर्वाचनका लागि उम्मेदवारी दर्ताको अन्तिम समयसम्म अध्यक्ष पदमा उप्रेतीको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन्। निर्वाचन कार्यक्रमअनुसार उम्मेदवारी दर्ताको अन्तिम समय बिहीबार दिउँसो १२ बजेसम्म तोकिएको थियो।
यस्तै प्रदेश सदस्यमा ७ जना र साधारण सदस्यमा १७ जनाको उम्मेदवारी परेको छ ।
प्राप्त भएका उम्मेदवारीहरूलाई निर्वाचन अधिकृतको प्रत्यक्ष व्यवस्थापन तथा पर्यवेक्षणबाट जाँच, छानबिन र टुङ्गो भई नाडाको कार्यकारिणी समिति सर्वसम्मतरूपमा निर्वाचित भएको नाडाले जनाएको छ ।
यस कारण, प्रतिस्पर्धात्मक निर्वाचन आवश्यक नरहेकाले पुस २५ गते तय गरिएको मतदान कार्यक्रम अब आवश्यक नभएको तथा निर्वाचनको परिणाम सोही मितिमा नाडा कार्यालयबाटै घोषणा गरिने समेत नाडाले जानकारी दिएको छ ।

