काठमाण्डौ । यामाहा नेपालले नेपाली बजारमा नयाँ फ्यासिनो १२५ एफआई हाइब्रिड स्कुटर सार्वजनिक गरेको छ।
एमएडब्लू राइड्स प्रालिअन्तर्गतको यामाहा नेपालले शुक्रबार काठमाण्डौको बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा आयोजित विशेष कार्यक्रममार्फत उक्त स्कुटर सार्वजनिक गरेको हो।
कम्पनीले नयाँ स्कुटरलाई आकर्षक डिजाइन, आधुनिक प्रविधि र इन्धन बचतको विशेषतासहित बजारमा ल्याएको जनाएको छ।
फ्यासिनो १२५ एफआई हाइब्रिडमा १२५ सीसीको फ्युल इन्जेक्सनयुक्त इन्जिनसँगै यामाहाको स्मार्ट मोटर जेनेरेटर प्रविधि जडान गरिएको छ।
यो प्रविधिले इन्जिनलाई कम आवाजमा स्टार्ट गर्न मद्दत गर्नुका साथै स्कुटर रोकिएको अवस्थाबाट अघि बढ्दा अतिरिक्त शक्ति उपलब्ध गराउँछ। यसले इन्धन खपत कम गर्न र माइलेज बढाउन सहयोग पुग्ने कम्पनीको दाबी छ।
स्कुटरको तौल ९८ किलोग्राम मात्रै रहेको छ। हलुका बनावट, आरामदायी सिट र साइड स्ट्यान्डमा इन्जिन बन्द हुने स्विचजस्ता सुविधाले दैनिक प्रयोगलाई सहज र सुरक्षित बनाउने कम्पनीले जनाएको छ।
तीन भेरियन्टमा उपलब्ध, मूल्य २ लाख ९९ हजारदेखि ३ लाख ५९ हजारसम्म
कम्पनीले फ्यासिनो १२५ एफआई हाइब्रिडलाई नेपाली बजारमा तीनवटा भेरियन्टमा उपलब्ध गराएको छ।
फ्यासिनो ड्रम भेरियन्टको मूल्य २ लाख ९९ हजार ९०० रुपैयाँ, फ्यासिनो डिस्कको मूल्य ३ लाख २९ हजार ९०० रुपैयाँ र फ्यासिनो एस भेरियन्टको मूल्य ३ लाख ५९ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ।
कम्पनीका अनुसार नयाँ स्कुटर नेपालभरका यामाहा शोरुम तथा आधिकारिक डिलरहरूमा उपलब्ध भइसकेको छ।
आर्ट ग्यालरीमा फरक शैलीमा सार्वजनिक
कम्पनीले यसपटक नयाँ स्कुटर सार्वजनिक गर्न परम्परागत अटोमोबाइल लञ्च कार्यक्रमभन्दा फरक शैली अपनाएको थियो।
नेपाल आर्ट काउन्सिलमा आयोजित कार्यक्रममा फ्यासिनो हाइब्रिडका ६ वटा स्कुटरलाई फरक–फरक व्यक्तित्व र शैली झल्किने गरी सजाएर प्रदर्शनीमा राखिएको थियो।
कार्यक्रममा सहभागीहरूले स्कुटरका विशेषता अवलोकन गर्नुका साथै यसको डिजाइन र प्रयोगसम्बन्धी अनुभव लिएका थिए।
कार्यक्रममा विभिन्न डिजिटल कन्टेन्ट क्रियटरहरूको समेत सहभागिता रहेको थियो।
व्यक्तित्व र प्रविधिको संयोजनमा जोड
स्कुटर सार्वजनिक कार्यक्रममा एमएडब्लू राइड्सका अध्यक्ष विष्णुकुमार अग्रवालले नयाँ फ्यासिनो हाइब्रिड आफ्नो छुट्टै पहिचान बनाउन चाहने ग्राहकलाई लक्षित गरी ल्याइएको बताए।
‘हरेक चालकको आफ्नै व्यक्तित्व र मौलिक शैली हुन्छ। यामाहा फ्यासिनो हाइब्रिड आफ्नो छुट्टै पहिचान बनाउन चाहने र आफ्नो सवारीमार्फत मौलिकता झल्काउन चाहने सबैका लागि तयार गरिएको हो,’ उनले भने।
कम्पनीले आकर्षक डिजाइन, हाइब्रिड प्रविधि र दैनिक प्रयोगमा सहजतालाई नयाँ स्कुटरको मुख्य विशेषताका रूपमा प्रस्तुत गरेको छ।
ग्राहकले देशभरका यामाहाका आधिकारिक शोरुम तथा डिलरमार्फत स्कुटर अवलोकन गर्न र थप जानकारी लिन सक्ने कम्पनीले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।