शुक्रबार, मंसिर ११,२०८३ 05:27:20
  • शुक्रबार, मंसिर ११,२०८३ 05:27:20
Global IME Bank Limited

किसानका ११ बुँदे माग पूरा नभए देशव्यापी आन्दोलनको चेतावनी, दूधको मूल्य ८० र उखुको १ हजार २५ रुपैयाँ पुर्‍याउन दबाब

Bizshala
किसानका ११ बुँदे माग पूरा नभए देशव्यापी आन्दोलनको चेतावनी, दूधको मूल्य ८० र उखुको १ हजार २५ रुपैयाँ पुर्‍याउन दबाब
New Office

 

काठमाण्डौ । कृषि उत्पादनको लागत निरन्तर बढे पनि किसानले आफ्नो उत्पादनको उचित मूल्य पाउन नसकेको भन्दै राष्ट्रिय किसान सञ्जालले सरकारसमक्ष ११ बुँदे माग अघि सारेको छ। माग सम्बोधन नभए देशव्यापी आन्दोलनमा उत्रिने चेतावनीसमेत सञ्जालले दिएको छ।

सञ्जालका संयोजक डा. प्रेम दंगालले शुक्रबार विज्ञप्ति जारी गर्दै कृषि उत्पादनको लागत घटाउने, उपजको उचित मूल्य सुनिश्चित गर्ने, बाढीपीडित किसानलाई राहत दिने तथा कृषि क्षेत्रमा देखिएका दीर्घकालीन समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।

सञ्जालले किसानका समस्या पटकपटक सरकारसमक्ष राखिए पनि सुनुवाइ नभएको आरोप लगाएको छ। सरकारको निर्णय, कार्यशैली र उदासीनताका कारण कृषि क्षेत्रका समस्या झन् जटिल बन्दै गएको सञ्जालको भनाइ छ।

उत्पादन लागत बढ्यो, किसानले पाएनन् उचित मूल्य

सञ्जालले कृषि उत्पादनमा प्रयोग हुने बीउ, रासायनिक मल, विषादी, कृषि औजार, उपकरण, इन्धन र विद्युत्को मूल्य बढ्दा किसानको उत्पादन लागत अत्यधिक बढेको जनाएको छ।

उत्पादन लागत बढे पनि किसानले आफ्नो उपजको उचित मूल्य नपाउँदा बिचौलियाले लाभ लिइरहेको र किसान तथा उपभोक्ता दुवै मारमा परेको विज्ञप्तिमा उल्लेख छ।

यसको समाधानका लागि कृषि सामग्रीको मूल्य नियन्त्रण, उत्पादन लागत घटाउने कार्यक्रम तथा किसानलाई लक्षित राहत व्यवस्था गर्न माग गरिएको छ।

धानको समर्थन मूल्य तोकियो, खरिदको ग्यारेन्टी भएन

सरकारले धानको न्यूनतम समर्थन मूल्य तोके पनि सोही मूल्यमा किसानको उत्पादन खरिद हुने सुनिश्चितता नभएको सञ्जालले जनाएको छ।

सरकारले चालु सिजनका लागि मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६६० रुपैयाँ र मध्यम धानको ३ हजार ८६० रुपैयाँ निर्धारण गरेको छ।

तर, सरकारी मूल्यमा धान खरिद गर्ने प्रभावकारी संयन्त्र नहुँदा किसानले तोकिएको मूल्यसमेत प्राप्त गर्न नसकेको सञ्जालको गुनासो छ।

सञ्जालले धानसँगै गहुँ, मकै, कोदो, तरकारी तथा फलफूललगायतका कृषि उपजको उत्पादन लागतका आधारमा समर्थन मूल्य निर्धारण गरी सोही मूल्यमा खरिद सुनिश्चित गर्न माग गरेको छ।

दूधको मूल्य प्रतिलिटर ८० रुपैयाँ पुर्‍याउन माग

दुग्ध उत्पादक किसानका समस्या समाधान गर्न सञ्जालले दूधको मूल्य प्रतिलिटर १५ रुपैयाँ वृद्धि गरी ८० रुपैयाँ पुर्‍याउन सरकारसँग माग गरेको छ।

पशुपालनमा प्रयोग हुने दाना, चोकर, पराल तथा अन्य सामग्रीको मूल्य बढेकाले हालको मूल्यमा दूध उत्पादन गर्दा किसानलाई आर्थिक कठिनाइ भएको सञ्जालको भनाइ छ।

सरकारी तथा निजी डेरी उद्योगले किसानबाट खरिद गरेको दूधको रकम समयमै भुक्तानी गर्नुपर्ने माग पनि गरिएको छ।

लामो समयदेखि रोकिएको बक्यौता तत्काल उपलब्ध गराउन र भुक्तानी ढिलो हुँदा किसानले बेहोर्नुपरेको आर्थिक क्षतिको उचित क्षतिपूर्ति दिनसमेत सञ्जालले आग्रह गरेको छ।

CG Motors
Garima Development Bank
IME remit

उखुको मूल्य प्रतिक्विन्टल १ हजार २५ रुपैयाँ बनाउन दबाब

सञ्जालले उखु उत्पादक किसानका लागि न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल १ हजार २५ रुपैयाँ निर्धारण गर्न माग गरेको छ।

चिनी उद्योगबाट किसानले पाउन बाँकी सम्पूर्ण रकम तत्काल भुक्तानी गर्नुपर्ने तथा उखुको बजार व्यवस्थापनमा देखिएका समस्याको दीर्घकालीन समाधान खोज्नुपर्ने माग पनि अघि सारिएको छ।

उखु किसानले आफ्नो उत्पादन बिक्री गरेपछि समेत समयमै भुक्तानी नपाउने समस्या अन्त्य गर्न सरकार जिम्मेवार बन्नुपर्ने सञ्जालको भनाइ छ।

बाढीपीडित किसानलाई निःशुल्क मल, बीउ र निर्व्याजी ऋण माग

सञ्जालले भोटेकोशी र बुढीगण्डकी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित किसानका लागि विशेष राहत प्याकेज घोषणा गर्न माग गरेको छ।

बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, चितवन र गोरखालगायतका जिल्लामा हजारौँ रोपनी खेतीयोग्य जमिन, बाली, अन्नपात, पशुपन्छी तथा घरटहरा नष्ट भएको सञ्जालले जनाएको छ।

प्रभावित किसानलाई निःशुल्क मल, बीउ, सिँचाइ तथा विद्युत् सुविधा उपलब्ध गराउनुपर्ने सञ्जालको माग छ।

त्यस्तै, बाढीबाट क्षतिग्रस्त खेतीयोग्य जमिन पुनर्निर्माण गर्न, मालपोत मिनाहा गर्न, निर्व्याजी कर्जा उपलब्ध गराउन तथा उत्पादन अनुदानसहितको राहत कार्यक्रम सञ्चालन गर्न आग्रह गरिएको छ।

मलको अभाव अन्त्य गर्न स्वदेशमै कारखाना खोल्न माग

सञ्जालले किसानले समयमै रासायनिक मल नपाउने समस्या समाधान गर्न सरकारसँग आग्रह गरेको छ।

मलको नियमित आपूर्ति सुनिश्चित गर्ने, वितरण प्रणाली पारदर्शी बनाउने र किसानले आवश्यक समयमा सहज रूपमा मल खरिद गर्न सक्ने व्यवस्था मिलाउनुपर्ने माग गरिएको छ।

यसका साथै रासायनिक मलमा रहेको आयात निर्भरता घटाउन नेपालमै मल कारखाना स्थापना गर्ने दीर्घकालीन योजना अघि बढाउन पनि सञ्जालले माग गरेको छ।

सुपारी निर्यातमा डीएनए परीक्षणको व्यवस्था हटाउन आग्रह

सञ्जालले झापा, मोरङ, सुनसरी, उदयपुर र इलामलगायतका पूर्वी जिल्लामा व्यावसायिक रूपमा विस्तार भइरहेको सुपारी खेतीको बजार सुनिश्चित गर्न सरकारसँग माग गरेको छ।

नेपालमा उत्पादित सुपारी निर्यात गर्दा अनिवार्य डीएनए परीक्षण गर्नुपर्ने व्यवस्थाले निर्यातमा समस्या सिर्जना गरेको सञ्जालको दाबी छ।

उक्त व्यवस्था हटाएर स्वदेशी सुपारीको निर्यात सहज बनाउन तथा उत्पादक किसानले उचित मूल्य पाउने वातावरण निर्माण गर्न आग्रह गरिएको छ।

भूमिहीनको पुनर्स्थापना र वन्यजन्तुबाट हुने क्षतिमा राहत

सञ्जालले भूमिहीन, दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या कानुनी र न्यायोचित प्रक्रियाबाट समाधान गर्न माग गरेको छ।

वैकल्पिक आवासको व्यवस्था नगरी बस्ती हटाउने र घरटहरा भत्काउने कार्य तत्काल रोक्नुपर्ने तथा विस्थापित परिवारको उचित पुनर्स्थापना सुनिश्चित गर्नुपर्ने सञ्जालको भनाइ छ।

त्यसैगरी, वन्यजन्तुबाट किसानको बालीनाली तथा पशुधनमा हुने क्षति नियन्त्रण गर्न, प्रभावित किसानलाई क्षतिपूर्ति दिन र वैकल्पिक बाली खेतीमा प्रोत्साहन गर्नसमेत माग गरिएको छ।

राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्रका मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने नागरिकको परम्परागत जीवनशैली, कृषि, पशुपालन र आर्थिक गतिविधिसम्बन्धी अधिकार संरक्षणका लागि आवश्यक नीति तथा कानुन निर्माण गर्न सञ्जालले आग्रह गरेको छ।

सुनकोशी–मरिण डाइभर्सन आयोजना तत्काल अघि बढाउन माग

सञ्जालले सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माण कार्य तत्काल अघि बढाउनसमेत सरकारको ध्यानाकर्षण गराएको छ।

आयोजनाको ठेक्का प्रक्रिया रद्द भएपछि मधेश प्रदेशका बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषाका किसानले सिँचाइ सुविधा प्राप्त गर्ने अपेक्षामा ढिलाइ भएको सञ्जालको भनाइ छ।

आयोजनाको निर्माणका लागि स्पष्ट समयसीमासहितको कार्ययोजना सार्वजनिक गर्न तथा निर्धारित समयभित्रै किसानलाई सिँचाइ सुविधा उपलब्ध गराउन माग गरिएको छ।

माग बेवास्ता गरे देशव्यापी आन्दोलन

राष्ट्रिय किसान सञ्जालले कृषि क्षेत्रका समस्या समाधानका लागि प्रस्तुत गरिएका मागलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने जनाएको छ।

किसानका जायज मागलाई पुनः आश्वासनमै सीमित राखिए सञ्जालमा आबद्ध किसान संघसंस्थालाई एकताबद्ध गरी देशव्यापी आन्दोलनका कार्यक्रम सञ्चालन गर्ने चेतावनी दिइएको छ।

सञ्जालले उत्पादन लागत घटाउने, कृषि उपजको उचित मूल्य सुनिश्चित गर्ने, बक्यौता भुक्तानी गर्ने र बाढीपीडित किसानको पुनर्स्थापनालाई तत्काल प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरेको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.