काठमाण्डौ । नेपाल टेलिकमको फाइबर टु द होम (एफटीटीएच) प्रविधिमा आधारित ‘एनटी फाइबर’ सेवाको माग निरन्तर बढ्दै गएको छ। ग्राहकको बढ्दो आकर्षणसँगै सेवा जडानमा चाप बढेपछि कम्पनीले प्राविधिक तथा व्यवस्थापकीय तयारीलाई तीव्र बनाएको जनाएको छ।
नेपाल टेलिकमले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै उच्च गतिको इन्टरनेट र टेलिफोन सेवा एउटै माध्यमबाट प्राप्त गर्न सकिने भएकाले एनटी फाइबरप्रति ग्राहकको आकर्षण बढेको जानकारी दिएको हो।
कम्पनीका अनुसार मागअनुसार नयाँ सेवा जडान गर्ने कार्य जारी छ। तर, केही कार्यालयमा मागको चाप बढेकाले सेवा विस्तारलाई थप प्रभावकारी बनाउन व्यवस्थापकीय सुदृढीकरणलाई प्राथमिकतामा राखिएको छ।
केही कार्यालयमा सेवा जडानको चाप
नेपाल टेलिकमले एनटी फाइबरको बढ्दो मागलाई सम्बोधन गर्न आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी अघि बढाएको जनाएको छ।
विशेषगरी ग्राहकको माग बढी रहेका कार्यालयहरूमा सेवा जडान र व्यवस्थापनलाई प्रभावकारी बनाउन काम भइरहेको कम्पनीको भनाइ छ।
बढ्दो मागका कारण आपूर्ति शृंखलामा अवरोध आउन नदिन कम्पनीले निरन्तर प्रयास गरिरहेको पनि विज्ञप्तिमा उल्लेख छ।
सरकारी स्वामित्वको कम्पनी भएकाले आवश्यक सामग्री तथा उपकरणको आपूर्ति व्यवस्थापन गर्दा निर्धारित प्रक्रिया पालना गर्नुपर्ने बाध्यता रहेको टेलिकमले स्पष्ट पारेको छ।
यसका बाबजुद सेवा प्रवाहलाई निरन्तरता दिन र ग्राहकको माग सम्बोधन गर्न आवश्यक व्यवस्था मिलाइरहेको कम्पनीले जनाएको छ।
सेवा विस्तारसँगै गुणस्तर सुधार्ने प्रतिबद्धता
नेपाल टेलिकमले एनटी फाइबर सेवाप्रति ग्राहकले देखाएको विश्वास र सकारात्मक प्रतिक्रियाले सेवा विस्तार तथा गुणस्तर सुधारका लागि थप प्रेरित गरेको जनाएको छ।
कम्पनीले प्राप्त मागअनुसार सेवा जडान गर्दै जाने र इन्टरनेट तथा टेलिफोन सेवाको गुणस्तर सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
एनटी फाइबर सेवाको विस्तारसँगै ग्राहकलाई उच्च गतिको इन्टरनेट र टेलिफोन सेवा एउटै फाइबर नेटवर्कमार्फत उपलब्ध गराइँदै आएको छ।
टेलिकमले सेवाग्राहीको विश्वासलाई आफ्नो प्रमुख ऊर्जा भएको उल्लेख गर्दै सेवा विस्तारमा सहयोग, साथ र धैर्यताका लागि ग्राहकलाई धन्यवादसमेत दिएको छ।
कम्पनीका प्रवक्ता डा. कमल लामिछानेद्वारा जारी विज्ञप्तिमा ग्राहकको बढ्दो मागलाई सम्बोधन गर्दै गुणस्तरीय दूरसञ्चार सेवा विस्तारमा निरन्तर क्रियाशील रहने उल्लेख छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।