शुक्रबार, मंसिर ११,२०८३ 05:58:27
  • शुक्रबार, मंसिर ११,२०८३ 05:58:27
Global IME Bank Limited

नेपालमा हुण्डी कारोबारको बदलिँदो जालो : क्रिप्टोकरेन्सी र डिजिटल माध्यमको प्रयोग बढ्दै, युवा र रेमिट्यान्स एजेन्ट बढी संलग्न

Bizshala
नेपालमा हुण्डी कारोबारको बदलिँदो जालो : क्रिप्टोकरेन्सी र डिजिटल माध्यमको प्रयोग बढ्दै, युवा र रेमिट्यान्स एजेन्ट बढी संलग्न
New Office

काठमाण्डौ । नेपालमा अवैध हुण्डी कारोबारको स्वरूप बदलिँदै गएको पाइएको छ। परम्परागत रूपमा नगद ओसारपसार र आपसी हिसाब मिलानमार्फत हुँदै आएको हुण्डी कारोबारमा पछिल्लो समय क्रिप्टोकरेन्सी, डिजिटल प्रविधि र औपचारिक बैंकिङ प्रणालीकै दुरुपयोग हुन थालेको देखिएको छ।

नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी इकाई (एफआईयू–नेपाल) ले सार्वजनिक गरेको ‘स्ट्राटेजिक एनालिसिस रिपोर्ट, २०२६ : हुण्डी’ ले यस्तो तथ्य उजागर गरेको हो।

प्रतिवेदनअनुसार नेपालमा हुण्डी कारोबारका लागि बैंक खाता दुरुपयोग गर्ने, नगद कारोबारको सीमा छल्न रकम टुक्र्याएर जम्मा गर्ने, कानुनी व्यक्तिको प्रयोग गर्ने, क्रिप्टोकरेन्सीमार्फत कारोबार गर्ने र डिजिटल प्रविधि प्रयोग गर्नेजस्ता विधि अपनाइएको पाइएको छ।

अझ चासोको विषय त के छ भने यस्तो कारोबारमा युवा उमेर समूहका व्यक्ति, खुद्रा व्यापारी तथा विप्रेषण कारोबारमा संलग्न सबएजेन्टहरूको संलग्नता बढी देखिएको छ।

२५ देखि ४४ वर्ष उमेर समूहका व्यक्ति बढी संलग्न

वित्तीय जानकारी इकाईले सन् २०२५ जनवरी २ देखि २०२६ जुलाईसम्म प्राप्त हुण्डीसम्बन्धी शंकास्पद कारोबार तथा गतिविधिका प्रतिवेदन (एसटीआर/एसएआर) को विस्तृत विश्लेषण गरेको थियो।

उक्त विश्लेषणबाट विशेषगरी २५ देखि ४४ वर्ष उमेर समूहका व्यक्तिहरू हुण्डी कारोबारमा बढी संलग्न हुने गरेको पाइएको छ।

त्यस्तै, खुद्रा व्यापार गर्ने व्यक्ति तथा विप्रेषण कारोबारमा संलग्न सबएजेन्टहरू पनि यस्तो कारोबारमा बढी संलग्न देखिएका छन्।

यसले हुण्डी कारोबार परम्परागत अनौपचारिक रकम स्थानान्तरणमा मात्रै सीमित नरही व्यापारिक गतिविधि र विप्रेषण सेवासँग जोडिएका सञ्जालमार्फत समेत सञ्चालन हुने गरेको संकेत गरेको छ।

बैंक खाता र डिजिटल प्रविधिको दुरुपयोग

प्रतिवेदनले हुण्डी कारोबारमा प्रयोग भइरहेका विभिन्न विधि पहिचान गरेको छ।

यसमध्ये एउटा प्रमुख विधि ‘म्युल अकाउन्ट’ अर्थात् अरूको रकम प्राप्त गर्न वा स्थानान्तरण गर्न प्रयोग गरिने बैंक खाता हो।

यस्ता खाताको प्रयोग गरी वास्तविक कारोबारकर्ता वा रकमको स्रोत लुकाउन सकिने जोखिम रहन्छ।

त्यस्तै, नगद कारोबारको सीमा छल्ने उद्देश्यले ठूलो रकमलाई ससाना हिस्सामा विभाजन गरी विभिन्न पटक बैंकमा जम्मा गर्ने प्रवृत्ति पनि पहिचान गरिएको छ।

प्रतिवेदनले कानुनी व्यक्तिको प्रयोग, नगद ओसारपसार, रेमिट्यान्स सबएजेन्टको प्रयोग तथा डिजिटल प्रविधिमार्फत हुण्डी कारोबार हुने गरेको औँल्याएको छ।

क्रिप्टोकरेन्सीसमेत हुण्डी कारोबारमा प्रयोग हुने माध्यमका रूपमा देखिएको छ।

यसले अवैध रकम स्थानान्तरणका लागि परम्परागत माध्यमसँगै नयाँ प्रविधि र औपचारिक वित्तीय प्रणालीको दुरुपयोग हुने जोखिम थपिएको देखाउँछ।

CG Motors
Garima Development Bank
IME remit

अपराधबाट आर्जित रकम शुद्धीकरणको जोखिम

राष्ट्र बैंकको प्रतिवेदनले हुण्डी कारोबारलाई गैरकानुनी रकम स्थानान्तरणको माध्यमका रूपमा मात्रै नभई सम्पत्ति शुद्धीकरण र आतंकवादी गतिविधिमा वित्तीय लगानीसँग जोडिएको जोखिमका रूपमा समेत विश्लेषण गरेको छ।

विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूले गरेका अध्ययनका आधारमा हुण्डी कारोबारमार्फत मानव तस्करी, लागुऔषध तस्करी, भ्रष्टाचार तथा करछलीजस्ता आपराधिक गतिविधिबाट आर्जित रकम शुद्धीकरण हुने जोखिम रहेको प्रतिवेदनमा उल्लेख छ।

त्यस्तै, यस्तो अनौपचारिक वित्तीय सञ्जाल आतंकवादी गतिविधिमा वित्तीय लगानीका लागि समेत दुरुपयोग हुन सक्ने जोखिम औँल्याइएको छ।

यद्यपि, प्रतिवेदनले नेपालमा उल्लिखित सबै अपराधसँग सम्बन्धित निश्चित व्यक्ति वा संस्थाको संलग्नता पुष्टि गरेको होइन। अध्ययन मुख्यतः हुण्डी कारोबारका प्रवृत्ति, विधि र जोखिम पहिचानमा केन्द्रित छ।

हुण्डीको परम्परागत शैली फेरिँदै

विगतमा हुण्डी कारोबार प्रायः दुई पक्षबीचको आपसी हिसाब मिलान तथा रकम वा वस्तुको मूल्य स्थानान्तरणमार्फत हुने गरेकोमा पछिल्लो समय यसको स्वरूप परिवर्तन भइरहेको प्रतिवेदनले देखाएको छ।

अन्तर्राष्ट्रिय अध्ययनहरूमा परम्परागत द्विपक्षीय हिसाब मिलान (बाइलेटरल अफसेटिङ) तथा वस्तु वा मूल्यका माध्यमबाट फर्स्योट गर्ने प्रणालीबाट औपचारिक बैंकमा आधारित माध्यम र डिजिटल च्यानलतर्फ पनि यस्तो कारोबार विस्तार भइरहेको उल्लेख छ।

यसले हुण्डी नियन्त्रणका लागि नगद कारोबारको निगरानी मात्रै पर्याप्त नहुने र बैंकिङ तथा डिजिटल कारोबारको जोखिमसमेत पहिचान गर्नुपर्ने आवश्यकता देखाएको छ।

बैंक तथा रेमिट्यान्स कम्पनीमाथि निगरानी बढाउनुपर्ने

प्रतिवेदनले हुण्डी कारोबार नियन्त्रणका लागि वित्तीय संस्थाहरूले पेश गर्ने शंकास्पद कारोबार तथा गतिविधिसम्बन्धी प्रतिवेदनको गुणस्तर सुधार गर्न सुझाव दिएको छ।

यसका साथै जोखिममा आधारित निगरानी प्रणालीलाई सुदृढ बनाउनुपर्ने, सम्बन्धित नियामक तथा कानुन कार्यान्वयन गर्ने निकायबीच समन्वय बढाउनुपर्ने र प्राविधिक क्षमता विस्तार गर्नुपर्नेमा जोड दिइएको छ।

राष्ट्र बैंकको वित्तीय जानकारी इकाईले सूचना दिने संस्थाहरू, नियामक तथा सुपरिवेक्षक, कानुन कार्यान्वयन गर्ने निकाय र नीति निर्माणसँग सम्बन्धित संस्थाहरूका लागि छुट्टाछुट्टै लक्षित सुझाव प्रस्तुत गरेको छ।

हुण्डी कारोबारसम्बन्धी शंकास्पद गतिविधि पहिचान गर्न प्रयोग गरिने जोखिम सूचकहरूलाई अद्यावधिक गर्नु पनि अध्ययनको प्रमुख उद्देश्य रहेको छ।

रेमिट्यान्स अर्थतन्त्रका लागि गम्भीर चुनौती

नेपालजस्तो विप्रेषणमा निर्भर अर्थतन्त्रका लागि हुण्डी कारोबारको बदलिँदो स्वरूप विशेष महत्त्वको विषय हो।

औपचारिक बैंकिङ तथा विप्रेषण प्रणालीभन्दा बाहिर हुने रकम स्थानान्तरणले वित्तीय कारोबारको पारदर्शिता, रकमको वास्तविक स्रोत पहिचान र नियामकीय निगरानीलाई चुनौती दिन सक्छ।

अझ औपचारिक बैंक खाता, रेमिट्यान्स सेवासँग सम्बन्धित व्यक्ति तथा डिजिटल प्रविधिकै दुरुपयोग हुने प्रवृत्तिले वित्तीय संस्थाहरूको आन्तरिक नियन्त्रण प्रणालीको प्रभावकारितामाथि समेत प्रश्न उठाउने देखिन्छ।

राष्ट्र बैंकको पछिल्लो अध्ययनले हुण्डी कारोबार नियन्त्रणको चुनौती नगदको अवैध ओसारपसार रोक्ने विषयमा मात्रै सीमित नरहेको, आधुनिक वित्तीय प्रविधि र वैधानिक कारोबारको आवरणमा हुन सक्ने अवैध गतिविधि पहिचान गर्नेतर्फ समेत केन्द्रित हुनुपर्ने संकेत गरेको छ।

यद्यपि, अध्ययनमा नेपालमा भइरहेको कुल हुण्डी कारोबारको रकम वा अर्थतन्त्रमा त्यसले पुर्‍याएको वास्तविक क्षतिको परिमाण खुलाइएको छैन।

वित्तीय जानकारी इकाईले मंसिर ११ गते सार्वजनिक गरेको यो रणनीतिक विश्लेषण प्रतिवेदन कुनै निश्चित व्यक्ति, संस्था वा मुद्दामा केन्द्रित नभई हुण्डी कारोबारका प्रवृत्ति, प्रकार, प्रयोग हुने विधि तथा नियन्त्रणका उपाय पहिचानमा केन्द्रित रहेको जनाएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.