काठमाण्डौ । नेपालको भुक्तानी प्रणालीमा क्यूआर कोडमार्फत हुने कारोबारको विस्तार तीव्र देखिएको छ। नगदरहित कारोबारको अभ्यास बढ्दै जाँदा क्यूआर भुक्तानीले नयाँ उचाइ छोएको छ भने परम्परागत विद्युतीय भुक्तानीका केही माध्यममा गिरावट देखिएको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनाको भुक्तानी प्रणालीसम्बन्धी तथ्यांकअनुसार एक महिनामै क्यूआर कोडमार्फत २ खर्ब ७ अर्ब ५४ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
भदौमा यस्तो कारोबार १ खर्ब ६७ अर्ब ९३ करोड ३० लाख रुपैयाँ थियो। यसरी एक महिनामै क्यूआर कारोबार रकम करिब ३९ अर्ब ६१ करोड रुपैयाँले अर्थात् २३.५९ प्रतिशतले बढेको छ।
अझ रोचक तथ्य के छ भने गत आर्थिक वर्षको असोजमा क्यूआरमार्फत १ खर्ब २१ अर्ब ७७ करोड ७० लाख रुपैयाँको कारोबार भएको थियो। एक वर्षको अवधिमा क्यूआर कारोबार रकम करिब ७०.४२ प्रतिशतले वृद्धि भएको छ।
कारोबार संख्यामा समेत क्यूआरले मोबाइल बैंकिङलाई उछिनेको छ। असोजमा क्यूआरमार्फत ७ करोड ८१ लाख ४४ हजार ६२९ पटक कारोबार हुँदा मोबाइल बैंकिङमार्फत ६ करोड ५९ लाख ६७ हजार २३९ पटक कारोबार भएको छ।
यद्यपि कारोबार रकमका आधारमा भने मोबाइल बैंकिङ अझै अगाडि छ। असोजमा मोबाइल बैंकिङमार्फत ६ खर्ब २ अर्ब ९ करोड ६० लाख रुपैयाँको कारोबार भएको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।
डिजिटल वालेटको प्रयोग पनि बढ्यो
क्यूआरसँगै डिजिटल वालेटमार्फत हुने कारोबारमा समेत उल्लेख्य वृद्धि भएको छ।
राष्ट्र बैंकका अनुसार असोजमा डिजिटल वालेटमार्फत ५४ करोड ८८ लाख नभई ५ करोड ४८ लाख ८२ हजार ९६६ पटक कारोबार भएको छ। भदौमा यस्तो कारोबार ५ करोड १४ लाख ९४ हजार ९४९ पटक भएको थियो।
कारोबार रकम पनि भदौको ४९ अर्ब ९ करोड ५० लाख रुपैयाँबाट बढेर असोजमा ५५ अर्ब ८२ करोड ८० लाख रुपैयाँ पुगेको छ। यो करिब १३.७१ प्रतिशतको मासिक वृद्धि हो।
यसैगरी डिजिटल वालेट खाताको संख्या असोज मसान्तसम्म २ करोड ८४ लाख १८ हजार ७५३ पुगेको छ। भदौ मसान्तमा यो संख्या २ करोड ८१ लाख ५० हजार ५०८ थियो।
मोबाइल बैंकिङका प्रयोगकर्ता बढे तर कारोबार घट्यो
मोबाइल बैंकिङमा भने फरक प्रवृत्ति देखिएको छ।
भदौ मसान्तमा ३ करोड ४ लाख ७३ हजार २५१ रहेको मोबाइल बैंकिङको दर्ता संख्या असोज मसान्तमा बढेर ३ करोड ७ लाख ६९ हजार ४४४ पुगेको छ।
तर मोबाइल बैंकिङमार्फत हुने कारोबार संख्या भने भदौको ८ करोड ११ लाख ९४ हजार ४४० बाट घटेर असोजमा ६ करोड ५९ लाख ६७ हजार २३९ मा सीमित भएको छ।
कारोबार रकम पनि भदौको ६ खर्ब १४ अर्ब ६७ करोड रुपैयाँबाट घटेर असोजमा ६ खर्ब २ अर्ब ९ करोड ६० लाख रुपैयाँमा झरेको छ।
इन्टरनेट बैंकिङमा ठूलो गिरावट
इन्टरनेट बैंकिङमार्फत हुने कारोबारमा अझ ठूलो गिरावट देखिएको छ।
भदौमा २२ अर्ब ७४ करोड ८० लाख रुपैयाँको कारोबार भएकोमा असोजमा घटेर १० अर्ब २९ करोड ६० लाख रुपैयाँमा सीमित भएको छ।
यो मासिक आधारमा करिब ५४.७४ प्रतिशतको गिरावट हो।
कारोबार संख्या पनि भदौको ६ लाख २४ हजार ४५४ बाट घटेर ४ लाख ८३ हजार ४६२ मा झरेको छ।
इन्टरनेट बैंकिङको दर्ता संख्या भने २६ लाख ६ हजार ८५० पुगेको छ।
डिजिटल विस्तारसँगै शाखारहित बैंकिङ खुम्चिँदै
राष्ट्र बैंकको तथ्यांकले डिजिटल सेवा विस्तार भइरहँदा शाखारहित बैंकिङ केन्द्रको संख्या निरन्तर घटिरहेको देखाएको छ।
गत वर्ष असोजमा ८०६ रहेको शाखारहित बैंकिङ केन्द्रको संख्या यस वर्ष असोज मसान्तमा ६२२ मा झरेको छ।
त्यस्तै एटीएम मेसिनको संख्या गत वर्ष असोजको ५ हजार २८२ बाट घटेर ५ हजार ९७ पुगेको छ।
यद्यपि एटीएमबाट नगद झिक्ने कारोबार रकम भने भदौको तुलनामा असोजमा बढेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।