काठमाण्डौ । चालु आर्थिक वर्ष २०८३/८४ को भदौमा उपभोक्ता मुद्रास्फीति उल्लेख्य रूपमा बढेको छ। नेपाल राष्ट्र बैंकका अनुसार भदौमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.३४ प्रतिशत पुगेको छ।
अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति १.८७ प्रतिशत मात्रै थियो।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ७.५४ प्रतिशत पुगेको छ भने गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ५.६९ प्रतिशत रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति १.३४ प्रतिशतले ऋणात्मक थियो भने गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.७० प्रतिशत थियो।
खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत घ्यू तथा तेल उपसमूहको मूल्य सर्वाधिक १६.६८ प्रतिशतले बढेको छ। फलफूलको मूल्य १५.९९ प्रतिशत, चिनी तथा चिनीजन्य पदार्थको १२.१४ प्रतिशत, माछा तथा मासुको ७.३४ प्रतिशत, तरकारीको ७.०७ प्रतिशत र मरमसलाको मूल्य ६.७१ प्रतिशतले बढेको छ।
गैरखाद्य तथा सेवा समूहअन्तर्गत यातायात उपसमूहको मूल्य १२.७७ प्रतिशतले बढेको छ। मदिराजन्य पेय पदार्थको मूल्य ८.८३ प्रतिशत, कपडा तथा जुत्ताचप्पलको ७.०६ प्रतिशत, फर्निसिङ तथा घरायसी उपकरणको ६.०१ प्रतिशत र सुर्तीजन्य पदार्थको मूल्य ५.४५ प्रतिशतले बढेको छ।
क्षेत्रगत रूपमा ग्रामीण क्षेत्रमा मुद्रास्फीति ६.७८ प्रतिशत र सहरी क्षेत्रमा ६.१९ प्रतिशत रहेको छ।
प्रदेशगत आधारमा सबैभन्दा बढी मुद्रास्फीति मधेश प्रदेशमा ७.४८ प्रतिशत देखिएको छ भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा ५.१६ प्रतिशत रहेको छ।
भौगोलिक क्षेत्रअनुसार काठमाडौं उपत्यकामा मुद्रास्फीति ५.२८ प्रतिशत, तराईमा ६.८९ प्रतिशत, पहाडमा ६.४१ प्रतिशत र हिमालमा ५.६९ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।