आईतवार, मंसिर १३,२०८३ 08:25:50
  • आईतवार, मंसिर १३,२०८३ 08:25:50
Global IME Bank Limited

अमेरिकापछि विश्वकै बलियो पूँजीबजार बन्यो भारत, जेफरीजले औँल्यायो मजबुतीका ३ कारण

Bizshala
अमेरिकापछि विश्वकै बलियो पूँजीबजार बन्यो भारत, जेफरीजले औँल्यायो मजबुतीका ३ कारण
New Office

काठमाण्डौ । विश्वकै प्रमुख लगानी व्यवस्थापन तथा वित्तीय सेवा कम्पनी जेफरीजले अमेरिकापछि भारत विश्वकै सबैभन्दा सक्रिय र बलियो पूँजीबजारका रूपमा उदाएको निष्कर्ष निकालेको छ।

जेफरीजले आफ्नो चर्चित अनुसन्धान प्रतिवेदन ‘ग्रीड एन्ड फियर’मा भारतीय सेयर बजारको संरचना अमेरिकी बजारको तुलनामा बढी सन्तुलित रहेको उल्लेख गरेको हो।

प्रतिवेदनअनुसार भारतीय सेयर बजारको सबैभन्दा ठूलो शक्ति स्वदेशी लगानीकर्ताको बढ्दो सहभागिता र विदेशी पूँजीमाथिको तुलनात्मक रूपमा कम निर्भरता हो।

भारतमा विदेशी पूँजीको प्रवेश तथा बहिर्गमनमा केही नियामकीय प्रतिबन्ध रहेका कारण विदेशी लगानीकर्ताले अचानक ठूलो रकम बाहिर निकाल्दा पनि बजारमा अन्य मुलुकको तुलनामा कम प्रभाव पर्ने जेफरीजको विश्लेषण छ।

प्रतिवेदनमा भारतीय पूँजीबजारलाई बलियो बनाउने तीनवटा प्रमुख कारण औँल्याइएको छ।

पहिलो, भारतमा लगानीकर्ताको पूँजी विभिन्न कम्पनी र क्षेत्रमा फैलिएको छ। सीमित ठूला कम्पनीमा मात्रै लगानी केन्द्रित नभएकाले बजारमा तुलनात्मक रूपमा सन्तुलन कायम रहने गरेको छ।

दोस्रो, भारतीय बजारमा मिडक्याप कम्पनीहरूको सेयर कारोबार सक्रिय छ। मध्यम आकारका कम्पनीहरूमा समेत पर्याप्त खरिदबिक्री हुने भएकाले बजारको गहिराइ र तरलता बलियो बनेको छ।

तेस्रो, भारतीय बजारमा निष्क्रिय अर्थात् प्यासिभ लगानीको हिस्सा अमेरिकाको तुलनामा कम छ। प्यासिभ लगानीमा कुनै कम्पनीको वित्तीय अवस्था छुट्टाछुट्टै विश्लेषण नगरी सूचकांकलाई पछ्याउने फन्डमार्फत लगानी गरिन्छ।

जेफरीजका अनुसार अमेरिकामा यस्तो लगानीको हिस्सा अत्यधिक बढेको छ। यसले कतिपय कम्पनीको वास्तविक व्यावसायिक अवस्था र मूल्यांकनभन्दा बाहिर गएर समेत ठूलो पूँजी प्रवाह हुने जोखिम निम्त्याएको छ।

भारतमा भने कम्पनीको वित्तीय अवस्था र व्यावसायिक सम्भावनाका आधारमा लगानी गर्ने प्रवृत्ति तुलनात्मक रूपमा बलियो रहेको प्रतिवेदनको निष्कर्ष छ।

भारतीय सेयर कारोबार प्रणालीमा अमेरिकामा प्रचलित ‘पेमेन्ट फर अर्डर फ्लो’ व्यवस्था अनुमति नहुनुलाई पनि दुई देशका बजारबीचको महत्त्वपूर्ण अन्तरका रूपमा उल्लेख गरिएको छ। यस्तो व्यवस्थामा ब्रोकरले ग्राहकको कारोबार आदेश अन्य ट्रेडिङ प्लेटफर्म वा मार्केट मेकरकहाँ पठाएबापत रकम प्राप्त गर्न सक्छ।

CG Motors
Garima Development Bank
Muktinath Bikas Bank Limited

अमेरिकी बजारमा बढ्दै गएको जोखिम

जेफरीजले भारतीय बजारको मजबुती औँल्याइरहँदा अमेरिकी सेयर बजारमा भने जोखिम बढ्दै गएको चेतावनी दिएको छ।

विशेषगरी विश्वभरका लगानीकर्ताको ठूलो पूँजी अमेरिकी सेयर बजारमा केन्द्रित हुनुलाई उसले चिन्ताको विषय मानेको छ।

प्रतिवेदनअनुसार सन् २०२४ डिसेम्बर २४ सम्म एमएससीआई एसी वर्ल्ड इन्डेक्समा अमेरिकी सेयर बजारको हिस्सा ६७.२ प्रतिशत पुगेको थियो।

जेफरीजले उक्त हिस्सा उच्चतम विन्दुनजिक पुगेको हुन सक्ने आकलन गरेको छ।

विश्वका लगानीकर्ताको सम्पत्ति अमेरिकी सेयरमा अत्यधिक केन्द्रित हुँदा त्यहाँ ठूलो गिरावट आए अन्तर्राष्ट्रिय वित्तीय प्रणालीमा समेत गम्भीर प्रभाव पर्न सक्ने जोखिम प्रतिवेदनमा औँल्याइएको छ।

अमेरिकी सरकारी ऋणपत्र र सेयर बजारमा विदेशी लगानीकर्ताको व्यवहार भने फरक देखिएको छ।

जेफरीजका अनुसार सन् २०११ को अन्त्यमा अमेरिकी ट्रेजरी अर्थात् सरकारी ऋणपत्रमा विदेशी सरकारी संस्थाहरूको स्वामित्व ३६.४ प्रतिशत थियो। सन् २०२६ सेप्टेम्बरसम्म यस्तो हिस्सा घटेर ११.५ प्रतिशतमा सीमित भएको छ।

अर्कोतर्फ विदेशी लगानीकर्ताले अमेरिकी सेयर बजारमा भने ठूलो परिमाणमा लगानी थपिरहेका छन्।

सन् २०२६ सेप्टेम्बरसम्मको १२ महिनामा विदेशी लगानीकर्ताले अमेरिकी सेयर बजारमा खुद ९ खर्ब ४५ अर्ब अमेरिकी डलर लगानी गरेका छन्।

यसले विदेशी सरकारी संस्थाहरू अमेरिकी ऋणपत्रबाट क्रमशः बाहिरिँदै गर्दा अन्तर्राष्ट्रिय लगानीकर्ताको आकर्षण अमेरिकी सेयर बजारतर्फ अझै कायम रहेको देखाउँछ।

तर एउटै बजारमा विश्वव्यापी पूँजीको अत्यधिक केन्द्रीकरण हुनु दीर्घकालीन रूपमा जोखिमपूर्ण हुन सक्ने जेफरीजको चेतावनी छ।

अमेरिकी सेयर बजारमा ठूलो गिरावट आए सर्वसाधारण लगानीकर्ताको सम्पत्तिको मूल्य घट्ने र त्यसले उनीहरूको खर्च गर्ने क्षमता कमजोर बनाउन सक्ने प्रतिवेदनमा उल्लेख छ।

उपभोक्ताको खर्च घट्दा अमेरिकी अर्थतन्त्रमा माग कमजोर हुने र वस्तु तथा सेवाको मूल्यमा तलतिर दबाब पर्ने अर्थात् डिफ्लेसनको जोखिमसमेत बढ्न सक्ने आकलन गरिएको छ।

यस्तो परिस्थिति उत्पन्न भए अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भको मौद्रिक नीतिमा समेत प्रभाव पर्न सक्ने जेफरीजको विश्लेषण छ।

नेपालका लागि के सन्देश ?

भारतीय पूँजीबजारको संरचनाबारे सार्वजनिक यो प्रतिवेदन नेपालजस्ता विकासशील पूँजीबजारका लागि पनि महत्त्वपूर्ण सन्देशका रूपमा लिन सकिन्छ।

विशेषगरी स्वदेशी लगानीकर्ताको आधार विस्तार, विभिन्न क्षेत्रका कम्पनीहरूको सन्तुलित सहभागिता तथा मिडक्याप कम्पनीहरूमा पर्याप्त कारोबार हुनुले पूँजीबजारलाई दीर्घकालीन रूपमा मजबुत बनाउन सहयोग पुग्ने संकेत प्रतिवेदनले गरेको छ।

नेपालको सेयर बजारमा बैंक तथा वित्तीय संस्था, बीमा, जलविद्युत्लगायतका क्षेत्रको उल्लेख्य उपस्थिति रहे पनि बजारको गहिराइ, संस्थागत लगानीकर्ताको सहभागिता र कारोबारको स्थायित्वका विषयमा निरन्तर बहस हुँदै आएको छ।

भारतीय बजारको अनुभवले दीर्घकालीन बचतलाई पूँजीबजारमा परिचालन गर्ने वातावरण, लगानीकर्ताको विविधीकरण र कम्पनीहरूको वित्तीय पारदर्शिता महत्त्वपूर्ण हुने देखाउँछ।

यद्यपि भारतको तुलनामा नेपालको पूँजीबजारको आकार, विदेशी लगानीसम्बन्धी व्यवस्था, लगानीकर्ताको संरचना तथा कारोबार प्रणाली फरक रहेकाले दुवै बजारको प्रत्यक्ष तुलना गर्न सकिँदैन।

जेफरीजको प्रतिवेदनले दिएको मुख्य सन्देश भने स्पष्ट छ– पूँजीबजारको वास्तविक शक्ति सूचकांक कति माथि पुग्यो भन्नेमा मात्रै होइन, त्यसलाई धान्ने स्वदेशी लगानीकर्ता, लगानीको विविधीकरण र कारोबारको गहिराइमा निर्भर हुन्छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.