काठमाण्डौ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै नेपालको वस्तु व्यापार घाटा २६ प्रतिशतले बढेको छ।
समीक्षा अवधिमा कुल वस्तु आयात ३१.६ प्रतिशतले बढेर ४ खर्ब १ अर्ब ५२ करोड रुपैयाँ पुगेको छ भने वस्तु निर्यात ६१.९ प्रतिशतले वृद्धि भई ७६ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ।
आयातको आकार ठूलो भएकाले निर्यातमा उच्च वृद्धि भए पनि व्यापार घाटा भने ३ खर्ब २४ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा व्यापार घाटा ८.६ प्रतिशतले बढेको थियो।
भारत र चीनतर्फ निर्यातमा उल्लेख्य सुधार
गन्तव्यका आधारमा भारततर्फको निर्यात ७०.६ प्रतिशतले बढेको छ भने चीनतर्फको निर्यात १३७.६ प्रतिशतले वृद्धि भएको छ। अन्य मुलुकतर्फको निर्यात पनि २२.७ प्रतिशतले बढेको छ।
वस्तुगत आधारमा भटमासको तेल, पोलिस्टर धागो, पाम तेल, जिंक सिट र पार्टिकल बोर्डलगायतका वस्तुको निर्यात बढेको छ।
त्यसको विपरीत आयुर्वेदिक औषधि, प्रशोधित छाला, दाल, नेपाली कागज तथा कागजजन्य वस्तु र जडीबुटीको निर्यात घटेको छ।
आयातमा ३१.६ प्रतिशतको उछाल
पहिलो दुई महिनामा भारतबाट हुने आयात २७.४ प्रतिशत, चीनबाट १७.२ प्रतिशत र अन्य मुलुकबाट ५६.६ प्रतिशतले बढेको छ।
पेट्रोलियम पदार्थ, रासायनिक मल, कच्चा भटमासको तेल, खाने तेल, यातायात उपकरण, सवारीसाधन तथा स्पेयर पार्ट्सको आयात बढेको छ।
तर सुन, धान तथा चामल, हवाईजहाजका स्पेयर पार्ट्स, पोलिथिन ग्रान्युल्स तथा मेडिकल उपकरण र पार्ट्सको आयात भने घटेको छ।
निर्यात–आयात अनुपात १९.१ प्रतिशत
समीक्षा अवधिमा निर्यात–आयात अनुपात सुधार भएर १९.१ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १५.५ प्रतिशत थियो।
यसले निर्यातको वृद्धिदर आयातभन्दा तेज रहेको देखाए पनि कुल आयातको आकार अत्यधिक ठूलो भएकाले व्यापार घाटामा दबाब कायमै रहेको छ।
यसै अवधिमा भारतबाट परिवर्त्य विदेशी मुद्रा भुक्तानी गरी ३७ अर्ब ९३ करोड रुपैयाँ बराबरका वस्तु आयात गरिएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २७ अर्ब ७५ करोड रुपैयाँ रहेको थियो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।