काठमाण्डौ । सिन्धु विकास बैंक घाटामा गएको छ । बैंकले सार्वजनिक गरेको चालु आवको दोस्रो त्रैमासिक प्रतिवेदनअनुसार बैंक १ करोड ५४ लाख रुपैयाँ घाटामा गएको हो ।
अघिल्लो आवको दोस्रो त्रैमाससम्म भने बैंकले ४ करोड ८७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।
बैंकको निक्षेप वृद्धिको अनुपातमा कर्जा लगानी वृद्धि नभएकाले ब्याज खर्च बढ्न गई खुद नोक्सानी भएको हो । तथापी बैंकका अन्य सूचकहरु भने सन्तोषप्रदक नै देखिन्छन् । गत आवको भन्दा बैंकको निष्कृय कर्जाको अनुपात र पूँजीकोष अनुपातमा सुधार आएको देखिन्छ ।
वित्तीय विवरण नियाल्दा बैंकको कर्जाको मागमा संकुचन आएको र निष्कृय कर्जा असुलीमा असर परेको देखिन्छ ।
बैंकको खुद ब्याज आम्दानी भने ३.७१ प्रतिशतले बढेर ५ करोड ८८ लाख रुपैयाँ पुगेको छ । यस्तै बैंकको खुद शुल्क तथा कमिशन आम्दानी समेत बढेको छ । अघिल्लो आवमा ५५ लाख ९४ हजार रुपैयाँ रहेको खुद शुल्क तथा कमिशन आम्दानी बढेर ८६ लाख ७० हजार रुपैयाँ पुगेको छ । बैंकको सञ्चालन खर्च ८ करोड १४ लाख रुपैयाँबाट बढेर ८ करोड ३६ लाख पुगेको छ ।
यो अवधिमा बैंकले इम्पेयरमेन्ट चार्जका लागि १७ लाख ८८ हजार रुपैयाँ छुट्टाएको छ । बैंकको रिटेन्ड अर्निङ २२ करोड ८५ लाख रुपैयाँले ऋणात्मक अवस्थामा रहेको छ भने रिजर्भमा १९ करोड ६१ लाख रुपैयाँ सञ्चित रहेको छ ।
समीक्षा अवधिमा बैंकको निक्षेप संकलन ५ अर्ब ६८ करोडबाट घटेर ५ अर्ब ६६ करोड रुपैयाँमा सीमित बनेको छ । बैंकले कर्जा प्रवाह ३ अर्ब २५ क रोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ ।
बैंकको वितरणयोग्य मुनाफा भने २२ करोड ८५ लाख रुपैयाँले ऋणात्मक छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म ९.०६ प्रतिशत रहेको खराब कर्जा अनुपात भने घटेर ६.३९ प्रतिशतमा झरेको छ ।
समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी(ईपीएस) ५.५० रुपैयाँले ऋणात्मक, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार १४०.३७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ९४.१९ रुपैयाँ, मूल्य आम्दानी अनुपात १२९.७२ गुणा र तरलता अनुपात ६१.७४ प्रतिशत कायम भएको छ ।

