काठमाण्डौ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघनका विभिन्न आरोपमा विभिन्न दलका पाँच जना उम्मेदवारसँग सात विषयमा स्पष्टीकरण मागेको छ । आयोगले निर्वाचन प्रक्रियालाई मर्यादित, निष्पक्ष र सभ्य बनाउन आचारसंहिताको कडाइपूर्वक पालना गराउने उद्देश्य स्वरुप स्पष्टीकरण मागेको जनाएको छ ।
आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उम्मेदवार बालेन शाह, श्रम संस्कृति पार्टीका उम्मेदवार हर्क साम्पाङ र रास्वपाकै निकोलस भुसाल लगायतका लाई स्पष्टीकरण सोधेको छ ।
आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र साहले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई सामाजिक सञ्जालमार्फत ‘हत्यारा’ भनेर टिप्पणी गरेको विषयमा आचारसंहिता उल्लंघ भएको ठहर गर्दै स्पष्टीकरण माग गरिएको हो। सोही पार्टीका अर्का उम्मेदवार निकोलस भुसालले जेन–जी आन्दोलनसँग जोडिएको जुत्तालाई चुनावी चिन्हसरह प्रयोग गरी प्रचार गरेको विषयमा पनि आयोगले चासो देखाएको छ।
यसैगरी श्रम संस्कृति पार्टीका उम्मेदवार हर्क साम्पाङले चुनावी प्रचारमा बालबालिका प्रयोग गरी उनीहरूलाई पार्टीको टिसर्ट लगाउन लगाएको विषय आचारसंहिता विपरीत रहेको भन्दै स्पष्टीकरण सोधिएको छ। अर्का उम्मेदवार जानुका पाठकले प्रतिस्पर्धी उम्मेदवारमाथि ‘हत्यारा’ र ‘बलात्कारी’ जस्ता शब्द प्रयोग गरी घृणाजनक अभिव्यक्ति दिएको आरोपमा आयोगको निगरानीमा परेकी छन्।
नेकपा (एमाले) का उम्मेदवार महेश बस्नेतले बालेन्द्र साहलाई लक्षित गर्दै ‘छाउरा’ भन्ने अपमानजनक शब्द प्रयोग गरेको विषयमा पनि आयोगले स्पष्टीकरण प्रक्रिया अघि बढाउने जनाएको छ।
त्यसैगरी आचारसंहिता लागू भइसकेपछि अनुमति नलिई अधिवेशन आयोजना गरेको आरोपमा स्वास्थ्य स्वयंसेवक संघमाथि छानबिन भइरहेको छ भने एक शिक्षक सरुवासम्बन्धी विषयमा पनि सम्बन्धित महाशाखाबाट थप बुझ्ने काम जारी रहेको आयोगले जानकारी दिएको छ।

