काठमाण्डौ । विकास बैंकहरुको वित्तीय सूचकमा सकारात्मक सुधार देखिएको छ । सञ्चालनमा रहेका १६ विकास बैंक मध्ये सप्तकोशी डेभलपमेन्ट बैंक बाहेक सबैले चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरिसकेका छन् ।
१५ विकास बैंकले चालु आवको दोस्रो त्रैमाससम्म ३ अर्ब ४० करोड ७४ लाख रुपैयाँ नाफा कमाएका छन् । यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ३१.८४ प्रतिशत बढी हो । गत आवको दोस्रो त्रैमाससम्म विकास बैंकहरुले २ अर्ब ५८ करोड ४४ लाख रुपैयाँ नाफा कमाएका थिए ।
बैंकहरुको खुद ब्याज आम्दानीमा सुधार देखिदा र खराब कर्जाको अवस्था सुधारिँदा नाफा बढ्न पुगेको हो । साथै नेपाल राष्ट्र बैंकले कर्जा पुनर्संरचनाको व्यवस्थाले पनि विकास बैंकहरुको नाफा वृद्धिमा टेवा पुगेको छ ।
सो अवधिसम्म सालपा विकास बैंक, सिन्धु विकास बैंक र नारायणी डेभलपमेन्ट बैंक घाटामा देखिएका छन् भने १२ बैंक नाफामा रहेका छन् । नाफामा रहेका बैंकहरुको मुनाफा गत आवको तुलनामा उल्लेख्य बढ्न पुगेको छ ।
सो अवधिसम्म सबैभन्दा बढी नाफा कमाउनेमा मुक्तिनाथ विकास बैंक रहेको छ । बैंकले ६७ करोड २० लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा ३३.५७ प्रतिशत बढी हो ।
त्यस्तै, गरिमा विकास बैंकले पनि ६३ करोड ५१ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा १५.६३ प्रतिशत बढी हो । तेस्रो बढी नाफा कमाउने बैंकमा शाइन रेसुङ्गा रहेको छ । यो बैंकले ४० करोड ४२ लाख रुपैयाँ नाफा कमाएको छ ।
६ बैंकको एनपीएल घट्यो
चालु आवको दोस्रो त्रैमाससम्म आइपुग्दा ६ विकास बैंकले खराब कर्जा अनुपात ९एनपीएल० घटाउन सफल भएका छन् । जेनजी आन्दोलनका कारण बैंकहरुको कर्जा असुली प्रभावित बन्दा एनपीएल ह्वात्तै बढेको थियो । तर दोस्रो त्रैमाससम्म आइपुग्दा ६ बैैंकले पनि यस्तो अवस्थामा सुधार ल्याउन सफल भएका छन् ।
एनपीएल घटाउने बैंकहरुमा गरिमा विकास बैंक, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक, ज्योति विकास बैंक, मितेरी डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक, सालपा विकास बैंक र सिन्धु विकास बैंक रहेका छन् ।
सो अवधिसम्म सबैभन्दा धेरै एनपीएल नारायणी डेभलपमेन्ट बैंकको ५७.४८ प्रतिशत रहेको छ भने सबैभन्दा थोरै एनपीएल मितेरी डेभलपमेन्ट बैंकको १.२३ प्रतिशत रहेको छ ।

लाभांश क्षमता कुनको कति ?
बैंकहरुले आर्जन गरेको मुनाफाको केही प्रतिशत रकम वितरणयोग्य मुनाफाको लागि छुट्याएका हुन्छन् । सोही वितरणयोग्य मुनाफा रकमलाई बैंकको चुक्तापूँजीले भाग गरेर लाभांश क्षमता निकालिन्छ ।
यसआधारमा १० विकास बैंक लाभांश दिन सक्ने अवस्थामा देखिन्छन् भने ५ विकास बैंकको यस्तो अवस्था ऋणात्मक रहेको । यसर्थ ऋणात्मक अवस्था रहेका बैंकहरु लाभांश दिन नसक्ने अवस्थामा रहेको बुझिन्छ ।
सबैभन्दा धेरै लाभांश क्षमता कामना सेवा विकास बैंकको रहेको छ । यो बैंकको लाभांश क्षमता १५.३२ प्रतिशत रहेको छ ।
त्यस्तै, गरिमाको १०.२४ प्रतिशत, मुक्तिनाथको ३.९९ प्रतिशत, शाइन रेसुङ्गाको ६.३७ प्रतिशत, महालक्ष्मीको १.६२ प्रतिशत, सांग्रिलाको ५.०७ प्रतिशत, लुम्बिनीको १२.१४ प्रतिशत, एक्सेलको १२.८३ प्रतिशत, मितेरी डेभलपमेन्टको ७.७६ प्रतिशत र ग्रीन डेभलपमेन्ट बैंकको १.५० प्रतिशत रहेको छ ।
सो अवधिसम्म ५ बैंकको यस्तो अवस्था भने ऋणात्मक रहेको छ । ज्योति विकास बैंकको ३.१५ प्रतिशत, कर्पोरेट डेभलपमेन्टको ८.९२ प्रतिशत, नारायणी डेभलपमेन्टको ९.५८ प्रशित, सालपाको ४.६९ प्रतिशत र सिन्धुको ०.४१ प्रतिशत ऋणात्मक रहेको छ ।

