काठमाण्डौ । मध्यपूर्वमा बढ्दो तनावका बीच प्रमुख समुद्री बीमा कम्पनीहरूले इरान र खाडी क्षेत्रका पानीमा सञ्चालन हुने जहाजहरूको ‘वार रिस्क’ (युद्ध जोखिम) बीमा कभर रद्द गर्ने घोषणा गरेका छन्।
नर्वेका समुद्री बीमाकर्ता गार्ड, स्कल्ड, क्पगमि, बेलायतस्थित जर्थस्ट्याण्डर्ड, लण्डन पीएसआई क्लब तथा अमेरिकास्थित अमेरिकन क्लबले मार्च १ मितिका सूचनामार्फत मार्च ५ देखि उक्त कभर रद्द हुने जानकारी दिएका छन्।
सूचनाअनुसार इरानी जलक्षेत्र, पर्सियन खाडी र आसपासका पानीमा युद्ध जोखिम कभर लागू नहुने जनाइएको छ। स्कल्डले भने संशोधित सर्तमा पुनः कभर बहाल गर्न ‘बाइ–ब्याक’ विकल्पमा काम भइरहेको जनाएको छ।
यसैबीच जापानको एमएस एण्ड एडी इन्स्योरेन्सले इरान, इजरायल तथा छिमेकी देशहरूको जलक्षेत्रमा युद्ध जोखिमसम्बन्धी विभिन्न बीमा नीतिहरूको अन्डरराइटिङ स्थगित गरेको जनाइएको छ ।
पछिल्लो समय अमेरिकी र इजरायली फौजले इरानमाथि आक्रमण गरेपछि क्षेत्रीय तनाव तीव्र बनेको छ। त्यसको प्रत्युत्तरस्वरूप तेहरानले विश्व ऊर्जा आपूर्तिका लागि अत्यन्तै महत्वपूर्ण मानिने स्ट्रेट अफ हरमुज हुँदै हुने जहाज आवागमन बन्द गरिएको घोषणा गरेको छ।
यस घटनाक्रमपछि विभिन्न ट्यांकर सञ्चालक, तेल कम्पनी तथा व्यापारिक घरानाहरूले कच्चा तेल, इन्धन र द्रवीकृत प्राकृतिक ग्यास (एलएनजी) ढुवानी अस्थायी रूपमा स्थगित गरेका छन्। उपग्रह तथा जहाज ट्र्याकिङ तथ्यांकअनुसार संयुक्त अरब इमिरेट्सको प्रमुख बन्दरगाह सहर फजाईरा नजिकै ठूलो संख्यामा जहाजहरू जम्मा भइरहेका छन्।
आइतबारसम्मको तथ्यांकअनुसार कम्तीमा १५० वटा ट्यांकर—जसमध्ये कच्चा तेल र एलएनजी बोक्ने जहाजहरू पनि समावेश छन् । खाडी तट नजिक कम्तीमा तीन ट्यांकर क्षतिग्रस्त हुनुका साथै एक जना जलयात्रीको ज्यान गएको घटनापछि समुद्री सुरक्षासम्बन्धी जोखिम थप गम्भीर बनेको विश्लेषण गरिएको छ।

