काठमाडौँ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले नयाँ केन्द्रीय कार्यसमिति गठन गरेको छ। अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले २०७९ पुस २५ गते सम्पन्न निर्वाचनबाट चयन भएका सदस्यहरूमध्येबाट पदाधिकारी चयन गर्दै २९ सदस्यीय केन्द्रीय कार्यसमितिलाई पूर्णता दिएको हो।
नयाँ कार्यसमितिको अध्यक्षमा सुरेन्द्रकुमार उप्रेती चयन भएका छन् भने निवर्तमान अध्यक्षमा करणकुमार चौधरी रहेका छन्। त्यसैगरी संस्थागत उपाध्यक्षमा भद्र भण्डारी र गणेशप्रसाद भट्टराई, उपाध्यक्षमा विक्रम सिंघानिया र अच्युत ज्योति चयन भएका छन्।
महासचिवमा मिलनबाबु मल्ल, सचिवमा मेघरज पौड्याल, कोषाध्यक्षमा पंकज अग्रवाल तथा सह–कोषाध्यक्षमा निलमणि पाठक चयन भएका छन्।
संस्थागत तथा साधारण सदस्यतर्फबाट विभिन्न प्रतिनिधिहरू चयन गरिएको छ भने अध्यक्षबाट मनोनित सदस्यसमेत समावेश गरिएको नाडाले जनाएको छ।
यससँगै नाडाले आफ्नो नयाँ नेतृत्वमार्फत अटोमोबाइल क्षेत्रको नीति, व्यवसायिक वातावरण र बजार प्रवर्द्धनमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ।

