काठमाण्डौ । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि देशभर सुरु भएको छ। राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत कक्षा १० को परीक्षा नियन्त्रण कार्यालयका अनुसार आज बिहान ८ बजेदेखि सबै परीक्षा केन्द्रमा एकैसाथ परीक्षा सञ्चालनमा आएको हो।
परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा भइरहेको छ भने एसईई चैत २९ गतेसम्म सञ्चालन हुनेछ।
परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार यस वर्ष कुल ५ लाख १२ हजार ४२१ विद्यार्थीले परीक्षा फाराम भरेका थिए। तीमध्ये नियमिततर्फ ४ लाख ४१ हजार ५६६ जना र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जना परीक्षार्थी सहभागी छन्।
यस वर्ष परीक्षामा छात्राको संख्या छात्रभन्दा बढी रहेको छ। परीक्षामा २ लाख ५७ हजार ६१३ छात्रा, २ लाख ५४ हजार ८०१ छात्र र अन्य ७ जना सहभागी हुनेछन्। साथै जापानस्थित एक परीक्षा केन्द्रबाट २३ जनाले पनि परीक्षा दिँदै छन्।
राष्ट्रिय परीक्षा बोर्डले एसईईको उत्तरपुस्तिका सम्बन्धित परीक्षा केन्द्रमै परीक्षण गर्ने र एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने जनाएको छ।
परीक्षाका लागि देशभर १ हजार ९६६ परीक्षा केन्द्र तोकिएका छन्। सुरक्षाको व्यवस्थाअन्तर्गत प्रत्येक केन्द्रमा १५ जना प्रहरी खटाइएको छ भने एक केन्द्राध्यक्ष, एक सहायक केन्द्राध्यक्ष, २० परीक्षार्थी बराबर एक निरीक्षक, १०० परीक्षार्थी बराबर एक कार्यालय सहयोगी र थप दुई कर्मचारी परिचालन गरिएको छ।

